अनलाइन व्यापारमा ठगीः १९ वटा कम्पनी कारबाहीमा, ५ हजारदेखि १ लाखसम्म जरिवाना – Nepal Press

अनलाइन व्यापारमा ठगीः १९ वटा कम्पनी कारबाहीमा, ५ हजारदेखि १ लाखसम्म जरिवाना

काठमाडौं । पछिल्लो समय अनलाइन कारोबार गर्ने कम्पनीहरूको संख्या बढेसँगै उपभोक्ता ठगिने क्रम पनि वृद्धि भएको छ । ई- कमर्सको माध्यमबाट ठगी गर्ने १९ वटा कम्पनी हालै कारबाहीमा परेका छन् ।

नेपालमा कोरोनाको समयमा अरू व्यापार व्यवसाय ठप्प हुँदा पनि अनलाइन व्यापार फस्टाएको थियो । कोरोना रोक्न सरकारले घोषणा गरेको लकडाउनका समयमा अनलाइन व्यापार गर्ने कम्पनीहरू थपिएका थिए । तर, यसरी व्यापार गर्नेमध्ये कतिपयले उपभोक्ता ठगेको गुनासो आएपछि सरकारले कारबाही थालेको हो ।

कोरोनाको समयमा घरमै बसी-बसी आफूलाई चाहिएको सामान किन्‍न पाइने र अनलाइनमार्फत नै पैसा तिर्न सकिने भएकाले उपभोक्ताहरू यसतर्फ आकर्षित भएका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले ७ महिनामा १९ वटा अनलाइन व्यापार गर्ने कम्पनीलाई कारबाही गरेको बताए ।

पछिल्लो समय कपडा, खाद्यान्‍न, फलफूल, तरकारी, औषधि, माछा र मासुसमेत अनलाइनबाट किन्‍न थालिएको छ । उपभोक्ताहरूको यसमा आकर्षणसँगै कम्पनी खोलेर अनलाइनमार्फत व्यापार गर्नेहरूको संख्यासमेत ह्वात्तै बढेको छ ।

उनले भने, ‘विनादर्ता कारोबार गर्ने र छुट भन्दै उपभोक्ता ठग्नेहरू कारबाहीमा परेका छन् ।’

सुवेदीका अनुसार कुनै पनि सरकारी निकायमा दर्ता नगरी अनलाइन व्यापार गर्न पाइँदैन । तर, यसरी व्यापार गर्नेको यकिन तथ्यांक सरकारसँग नभएकाले समस्या भएको उनले बताए ।

पछिल्लो समय कपडा, खाद्यान्‍न, फलफूल, तरकारी, औषधि, माछा र मासुसमेत अनलाइनबाट किन्‍न थालिएको छ । उपभोक्ताहरूको यसमा आकर्षणसँगै कम्पनी खोलेर अनलाइनमार्फत व्यापार गर्नेहरूको संख्यासमेत ह्वात्तै बढेको छ । विभागको ७ महिनाको तथ्याङ्‍कले अनलाइन व्यापारको नाममा ठगी धेरै भएको देखिन्छ ।

विभागले उपभोक्ताको उजुरीका आधारमा साउनदेखि माघ महिनासम्ममा १९ वटा कम्पनीलाई कारबाही गरेको हो । विभागले २४ वटा कम्पनीमा अनुगमन गरेर १९ वटालाई आर्थिक जरिवाना तिराएको छ । ती कम्पनीहरूबाट विभागले ७ लाख ३० हजार रुपैयाँ जरिवाना असुलेको हो । अनुगमन तथा कारबाही हुन थालेपछि ठगीमा केही कमी भएको विभागको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर