‘कोटेश्वरको केटो’ लाई १ लाख राशिको पुरस्कार – Nepal Press

‘कोटेश्वरको केटो’ लाई १ लाख राशिको पुरस्कार

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित १ लाख रूपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’लाई प्रदान गरिने भएको छ ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको हो ।

पराजुलीको हालसम्म विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा मार्क्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर ५ वटा कथासंग्रह प्रकाशित भइसकेका छन् । एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटोसमेत गरी उनले ८ वटा कृति नेपाली साहित्य जगतलाई दिइसकेका छन् ।

पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो । यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ । काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा यो कृतिको एक भागमा उनले उनेका छन् । कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरीब बन्न बाध्य पार्‍यो भन्ने सन्दर्भ यसमा समेटिएको छ ।

कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’ बाट । अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन् । अक्षरहरुसँग पाठमा उनले पत्रकारिताका अनेक तीतामीठा प्रसंग ल्याएका छन् । तीन दशकभन्दा लामो पत्रकारिता गरेका उनले आफ्ना भोगाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन् । अक्षरहरुसँग नेपाली पत्रकारिताको सग्लो दृश्य उतार्न सफल छ ।

२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका पराजुली साहित्यसँगै पत्रकारितामा पनि सक्रिय छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *