तरकारीमा बेथिति: उत्पादन किसानको, मूल्य विचौलियाको – Nepal Press

तरकारीमा बेथिति: उत्पादन किसानको, मूल्य विचौलियाको

विराटनगर । मोरङको कटहरीका किसान सत्यनारायण सिंहले एक बिघा जग्गामा लगाएको बन्दाकोभी अहिले बिक्रीका लागि तयारी अवस्थामा छ । बारीमा रहेको बन्दाकोभी बिक्री गर्न उनलाई भ्याई नभ्याई पनि छ ।

व्यापारीहरु कोभी खरिदका लागि बारीमा पुग्ने गरेका छन् तर उनको मन फुरुङ्ग छैन । ‘तरकारी सस्तैमा पठाउनुपरेको छ । आफ्नो उत्पादनको मूल्य आफैंले तोक्न पाइँदैन । उनीहरु जति भन्छन्, त्यतिमै पठाउनुपर्छ । राखिराखौं कुहिन्छ,’ सत्यनारायणले गुनासो गरे ।

अर्का किसान कोपिन्द्र सिंहको गुनासो पनि उस्तै छ । उनी पनि आफ्नो मिहिनेतमा अर्काको रजाइँदेखि दिक्क छन् । भन्छन्, ‘बारीमा तारकारी कुहाएर राख्न पनि मिलेन, जति आउँछ त्यतिमै पठाउने गरेका छौं ।’

प्रदेश १ को राजधानी विराटनगरदेखि करिव सात किलो मिटिर दुरीमा मात्र रहेको कटहरी गाउँपालिका किसानले वर्षौंदेखि भोग्दै आएको समस्या हो यो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कटहरीमा ११० हेक्टर क्षेत्रफलमा व्यावसायीक रुपमा तरकारी खेती हुँदै आएको छ । यहाँका १९० जना किसानहरुले सिजन अनुसार घिरौंला, कांक्रा, भिन्डी, बोडी, भन्टा, लौका, कोभी, करेलालगायतका तरकारी उत्पान गर्छन् ।

बारीबाट बजारमा पुग्दा पाँच गुणासम्म मूल्य बृद्धि

तरकारी पकेट क्षेत्रका रुपमा रहेको कटहरीका किसानसँग किनेर सात किलोमिटर पर विराटनगर पु¥याउँदा त्यही तरकारीको मूल्य पाँच गुणासम्म बढाइने गरिन्छ । लागत मूल्य पनि उठाउन नसक्ने पीडामा रहेका किसानसँग गरीद गरी उपभोक्तालाई महंगो मूल्यमा बेच्दा किसान र उपभोक्ता सधैं मारमा परिरहेका छन्, मोटाएका छन् त केवल बिचौलिया ।

किसान सत्यनारायणले बन्दा र फुलकोभी अहिले ५ रुपैयाँ प्रतिकिलोमा बेच्दै आएका छन् । उनको बारीबाट विराटनगरसम्म पुग्दा त्यसको मूल्य २५ देखि ३० रुपैयाँसम्म पर्ने गर्छ ।

सिधै किसानबाट तरकारी किन्दा उपभोक्ता र कृषक दुवैलाई सस्तो पर्ने सिंहले बताए । कृषकले थोक बजारमा पु¥याएको तरकारी बिचौलियाले किनेर लैजाने र उपभोक्तालाई महँगोमा बेच्ने गरेको उनले सुनाए ।

गुद्रीको थोक बजारमा कृषकदेखि खरिद गरेर बिचौलियाले खुद्रा व्यापारीलाई तरकारी बिक्री गर्दछन् । ‘१ कठ्ठामा क्षेत्रफलमा तरकारी खेती लगाउँदा ६ हजार रुपैयाँ खर्च हुने गरेको छ,’ कृषक सिंहले भने, ‘प्रति कठ्ठामा उत्पादन ६ देखि ८ क्हिन्टल उत्पादन हुन्छ । प्रतिकेजी ५ रुपैयाँले बेच्दा लागत मूल्य पनि उठ्दैन ।’

कटहरी र जहदा गाउँपालिकामा तरकारीको पकेट क्षेत्र हो । यहाँका अधिकाशं कृषक व्यवसायिक तरकारी खेतीमा आवद्ध छन् । ती स्थानबाट उत्पादन भएको तरकारी विराटनगरको बजारमा आउने गरेको छ ।

स्थानीय सरकारले यहाँका किसानहरूले उत्पादन गरेको तरकारी बिक्री गर्ने कृषि थोक बजार संचालन गर्न नसक्दा बिचौलियाले बोलेको भाउमा तरकारी बिक्री गर्न किसान बाध्य छन् ।

‘कटहरीमा व्यवस्थित थोक बजारमा सन्चालन गर्न हामीले माग गदै आएका छन् । अहिलेसम्म स्थानीय, प्रदेश सरकारले सुनेकै छैन,’ कहटरीका अर्का किसान रामनाथ सिंहले भने, ‘कटहरी १ स्थित रहेको तरकारीको थोक बजार संचालन भएको भए यहाँका किसानले उत्पादन गरेको तरकारी सिधै बेच्न पाउथे र मूल्य पनि राम्रो हुन्थ्यो ।’

विराटनगरस्थित गुद्री बजार व्यवस्थापन समितिको तथ्यांक अनुसार सिजनमा दैनिक १५ देखि २० मेक्ट्रिक टन तरकारी मोरङको कटहरी र जहदा गाउँपालिका देखि आउने गरेका छ । बेसिजनमा १० टनसम्म आउने गरेको छ ।

भारतीय तरकारी छ्यापछ्याप्ती

कृषिमा आत्मनिर्भर भनिए पनि ठूलो हिस्सामा भारत तथा तेश्रो मुलुकबाट आर्यात हुने हरियो तरकारी प्रदेश १ का मुख्य बजारमा छ्यापछ्याप्ती पाइन्छन् । प्रदेश १ का दुई मुख्य नाका काकडभिट्टा र रानी भन्सारबाट चालू आर्थिक बर्षको ६ महिनाको अवधिमा साढे ३५ करोड भन्दा बढीको तरकारी नेपाल भित्रिएको छ ।

यी दुई नाका मध्ये विराटनगर नाका बाट मात्र ३२ करोड मूल्य बरावरको हरिेया तरकारी भित्रिएको छ ।

भारत तथा भुटान, पाकिस्तान, बगलादेश लगायतका मुलुकमा उत्पादित आलु, प्याज, च्याउ, टमटर, खुर्नानी, बोडी लगायतका हरियो तरकारी नेपाल भित्रिएको हो । हरियो तरकारी आयातमा सबै भन्दा ठूलो हिस्सा भने भारतमा उत्पादित तरकारीले ओगटेको छ । बाह्य मुकबाट आयातित ठूलो परिमाणको तरकारी नेपाली बजार हुँदै उपभोताको भान्छासम्म पुग्ने गरेको छ ।

रानी भन्सारबाट मात्र ६ महिनको अवधिमा १८ करोड ६६ लाख ३ हजार ६ सय ३५ रुपैयाँ मूल्य बराबरको ६ हजार १ सय १९ मेट्रिक टन आलु र प्याज आयात भएको भएको छ ।

भन्सार कार्यालयको अभिलेख अनुसार आर्थिक बर्ष २०७६–७७ को सोही अवधिमा विराटनगर भन्सारबाट १७ करोड ४७ लाख ५२ हजार ८ सय ७२ रुपैयाँ मूल्य बराबरको ६ हजार ५ सय ५० मेट्रिक टन आलु र प्याज आयात भएकोे थियो ।

अघिल्लो बर्षको तुलनामा गत बर्षको सोहि अवधिमा आलु र प्याजको आयातको प्रतिशत ६ दशमलव ३५ प्रतिशतले बढी छ । त्यसैगरी पूर्वी नाका काकडभिट्टाबाट ६ महिनाको अवधिमा २ करोड ६० लाख ६९ हजार ६८३ रुपैयाँ बरावरको हरियो तरकारी नेपाल भित्रिएको छ । काकडभिट्टा नाकाबाट १४ लाख ४९ हजार ४५० केजी हरियो साजसब्जी र आलु नेपाल भित्रिएको कार्यालयले जनाएको छ ।

पूर्वी नेपालमा दुई नाका विराटनगर र काकडभिट्टाबाट आलु र प्याज बिशेष गरी भारत तथा तेश्रो मुलुकबाट आयात हुने गरेको छ । प्याज भारतको इन्दोर, नासिक र पटना तथा आलु भुटान, बङ्गलादेश र भारतको उत्तरप्रदेशबाट आयात हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर