ओलीले ली क्वानहरुबाट सिकुन्, उदार तानाशाह चाहिएकै छ – Nepal Press
नेपाल चिन्तन

ओलीले ली क्वानहरुबाट सिकुन्, उदार तानाशाह चाहिएकै छ

सबै डिक्टेटर हिटलर र मुसोलिनी जस्तै फासिस्ट र क्रूर मात्रै हुँदैनन् । बीसौं शताब्दीको शुरूआत ताकाका टर्किस शासक मुस्तफा केमल अटार्टुक पनि डिक्टेटर नै थिए । तर फसिस्ट, भ्रष्ट र क्रूर होइन । उदार, विकासप्रेमी र परिवर्तनका पक्षधर । जसले आधुनिक टर्की निर्माणको जग बसाले । जो असमानता, भेदभाव र अन्यायको अन्त्यका लागि क्रूर बने ।

सैन्य पृष्ठभूमिबाट शासकको रूपमा उदाएका मुस्तफाले टर्कीमा करीब दुई दशक शासन गरे । समृद्ध युरोपको अगाडि छायाँमा अनि उपनिवेशको शिकार भएको टर्कीलाई मुस्तफाले स्वतन्त्र मात्र बनाएनन्; आधुनिक विश्वमा शक्तिशाली र समृद्ध बनाउन जग पनि बसाले । उनी, स्वतन्त्र भएपछिको गणतान्त्रिक टर्कीका पहिलो राष्ट्रपति पनि हुन् ।

टर्कीको आधुनिकीकरण, धर्मनिरपेक्षता, सामाजिक–आर्थिक सुधारलाई उनले पहिलो प्राथमिकतामा राखे । सोही अनुसार काम गरे । देशलाई औद्योगिकीकरण गर्ने, देशव्यापी रेलवे नेटवर्क आरम्भ गर्दै युरोपसँग जोडिएर विकासको गतिमा अघि बढ्ने काम उनीबाटै सम्भव भएको हो ।

सामाजिक र सांस्कृतिक सुधारका लागि अरेविक अल्फावेट हटाएर ल्याटिन वर्णको प्रयोग गरे । जसबाट शिक्षाको आधुनिकीकरणमा आमूल परिवर्तन ल्याए । महिलालाई पहिलो पटक मताधिकारको अवसर पनि उनैले दिलाए । अनि समानताको नारालाई व्यावहारिक रूप दिए ।

दुई दशकसम्म शासन सत्ताको एकल नेतृत्वमा रहे पनि उनले जनस्तरबाट विरोधको सामना गर्नुपरेन । एलिट ग्रुप, भ्रष्ट र अस्थिरता चाहने समूहका लागि उनी कसिंगर बने पनि दुःखी गरिब र असहायका लागि भने उनी सदा सहयोगीकै रूपमा चिनिए । त्यसैले त उनलाई आधुनिक टर्कीका पिताको रूपमा लिइन्छ । अटार्टुकको अर्थ टर्किस भाषामा ‘बुवा’ हो । उनको नामको पछाडि अटार्टुक त्यसकारण नै थपिएको हो । उनले लागू गरेको परिवर्तनको सिद्धान्तलाई ‘केमलिज्म’ भनिन्छ ।

सन् १९२२ नोभेम्बर १ मा अटोमन सुल्तानको शासन अन्त्य गरेपछि उनको नेतृत्वमा १९२३ जुलाईमा लौसेन सन्धि भयो । अनि टर्की स्वतन्त्र र सार्वभौम देश बन्यो । सन् १९२४ मा जब मुस्तफा स्वतन्त्र टर्कीको प्रथम राष्ट्रपति भए तब उनले विभेद र अन्याय फैलाउने मुस्लिम कानून धार्मिक स्कूलहरू बन्द गरेर समानताको सन्देश दिन थाले । पश्चिमा क्यालेण्डरकै आरम्भ गरे । लैंगिक विभेदको अन्त्यदेखि आधुनिक पश्चिमा पोशाक सबैका लागि खुला गरे । यसको उद्देश्य थियो टर्कीलाई संस्कार, संस्कृति, समानता र विकासमा युरोपकै लयमा अघि बढाउने ।

सन् १९२६ मा नागरिकका लागि नयाँ नियम अख्तियार गर्दै विवाह, सम्बन्धविच्छेद, व्यापार जस्ता विषयमा युरोपियन मोडल लागू गरेर उनले पहिलेका मुस्लिम शासकले अवलम्बन गरेका कट्टरपन्थी नीतिलाई विस्थापित गरे । सन् १९२७ देखि १९३८ सम्मको दशकमा थुप्रै जनउत्तरदायी नीति लागू गरेर देशलाई आधुनिक विश्वतर्फ हिंडाइसकेका थिए ।

उनको कार्यकालमा अर्थतन्त्रको विकासका लागि उद्योग, कृषि उत्पादन अनि वैदेशिक सहायता र लगानीमा देशले ठूलो उपलब्धि हासिल गरेको थियो । उनले आफ्नो शक्ति नै अर्थतन्त्र मजबूत बनाउन खर्चेको बताइन्छ । मुस्तफाको नेतृत्वमा एक दशकमै देशको कुल गार्हस्थ्य उत्पादनमा पाँच गुणा वृद्धि भएको तथ्यांक छ । गरिबी, भोकमरी, अभावको अन्त्य गराएर समृद्धिको यात्रा तयार गरे ।

मुस्तफा त्यही उदार तानाशाह हुन् जसले आधुनिक टर्की निर्माणका लागि अतुलनीय योगदान पुर्याए । देश परिवर्तनमा एउटा शासकले तानाशाह तर उदार बनेर कसरी जनताको मन र मत जित्न सक्दोरहेछ भन्ने नजिर हुन्, मुस्तफा ।

ग्रामीण भेकका जनतालाई देशको अर्थतन्त्रको मूलप्रवाहको रूपमा परिभाषित गर्दै अवस्थाको परिवर्तन तल्लो तहबाट आरम्भ गर्नुपर्ने मान्यतालाई स्थापित गरे । यसको मतलब हो श्रमिक, पिछडिएका क्षेत्र र वर्गको उत्थानबाट मात्र आर्थिक समानताको सम्भव छ भन्ने सन्देश । तसर्थ उनले त्यस्ता हेपिएका, थिचिएका, दबिएका जनताको आधारभूत आवश्यकताको परिपूर्तिलाई शासनकालमा पहिलो प्राथमिकता दिए । यही आमूल परिवर्तनको जग बसालेकाले नै मुस्तफालाई आम टर्किसले अटार्टुक अर्थात् पिताको रूपमा सम्मान गरेका हुन् ।

जोन एफ केनेडीले उनलाई बीसौं शताब्दीकै चामत्कारिक नेताको रूपमा परिभाषित गरेका छन् । उनलाई युद्धको सफल नेतृत्वकर्ता अनि युद्धपछि शान्ति स्थापना र परिवर्तनका अनुपम उदाहरणीय पात्रको रूपमा पनि हेरिन्छ ।

सदनमा फरक मत हुँदाहुँदै पनि सुल्तान शासकको अन्त्यका लागि लिएको एकल निर्णय र आजीवन देशको राष्ट्रपति रहेका उनलाई केही केहीले तानाशाह भने पनि आम टर्किसको नजरमा भने पिता सावित भएका थिए । सैन्य पृष्ठभूमिबाट उदाए पनि समानता र स्वतन्त्रता अनि विकासका निम्ति लिएका ‘बोल्ड डिसिजन’ लाई हेरेर राजनीतिशास्त्रीहरू उनलाई ‘बेनिभोलेन्ट डिक्टेटरसिप’ भन्ने गर्छन् । जो तानाशाह तर जनताको लागि काम गर्छ । बेनिभोलेन्ट डिक्टेटरसिप अर्थात् उदार तानाशाह ।

मुस्तफा त्यही उदार तानाशाह हुन् जसले आधुनिक टर्की निर्माणका लागि अतुलनीय योगदान पुर्याए । देश परिवर्तनमा एउटा शासकले तानाशाह तर उदार बनेर कसरी जनताको मन र मत जित्न सक्दोरहेछ भन्ने नजिर हुन्, मुस्तफा ।

हो, आज नेपाललाई टर्किस मुस्तफा चाहिएको छ । जसले स्वतन्त्रताको नाममा हुने स्वच्छन्दतालाई नियन्त्रण गरोस् । शक्तिको दुरुपयोग गरेर ब्रह्मलुट मच्चाउने नेता र तिनका आफन्त अनि एलिट समूहलाई आजीवन नजरबन्दमा राखोस् ।

सुशासनको ढोल पिटेर भ्रष्टाचार र कमिसनखोरमा रमाउने शासकको पतन गर्न सकोस् । राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका निम्ति मुस्तफाले जस्तै क्रान्तिकारी निर्णय लिने हिम्मत गरोस् । समानता, जागरण अनि वर्गीय विभेदको अन्त्य गर्नका निम्ति खुट्टा नकमाओस् । योग्य दक्ष पात्रलाई अवसर दिएर नातावाद–कृपावादको फेरो समातेर पुस्तौं पुस्तालाई धन थुपार्न लालायित ठुटे, चम्चे, आउरेबाउरे स्वघोषित नेताहरूलाई विस्थापित गरोस् ।

हो, यति गर्ने आँट र साहस भएको मुस्तफाको छायाँ पात्र आज देशलाई चाहिएको छ । जसले विकट कर्णालीमा ढुंगा र गिटीसँगको संगतमा जीवन बिताउन बाध्य भएकाको अवस्थामा बदलाव ल्याउन सकोस् । परदेशमा गएर जवानी मात्र होइन जीवन नै खेर फालेर बाकसमा फर्कनुपर्ने विवशताको अन्त्य गराउन सकोस् । पढ्ने उमेरमा विद्यालय जान पाउनु त परै जाओस्, भोक टार्न भरिया बन्नुपर्ने मेचीदेखि महाकालीसम्म अनि हिमालदेखि तराईसम्मका लाखौं बालबालिकाको अधिकार सुनिश्चित गर्न सकोस् ।

त्यस्तै, अवकाश लिएर जीवनको उत्तराद्र्धमा परिवार, आफन्तसँग घुमफिर र आराम गर्ने बेलामा एकल अनि रोग र भोकसहितको जीवन बाँचिरहेका आमाबुवाको आँखाको आँशु पुछ्न सकोस् । वृद्धवृद्धाले दया र भीखको पात्र बन्नु नपरोस् । गफमा होइन यथार्थतामा यति गर्न सक्ने नेतृत्व देशलाई चाहिएको छ । जो रोग, भोक, पीडासँग जुधिरहेका नवसामन्तहरूबाट चुसिएका आम जनताको निम्ति मुस्तफा जस्तै मुक्तिदाता बनोस् ।

राणा शासन, शाही शासन, पंचायत, बहुदल, लोकतन्त्र, गणतन्त्र थुप्रै व्यवस्था बदल्यौं । तर खै गरिखाने वर्गका लागि के भयो ? अब स्वतः प्रश्न उठ्छ समस्या व्यवस्थामा होइन रहेछ । समस्या त केवल ती व्यवस्थाको नेतृत्व गर्ने शासकमा, नेतामा छ ।

ज्ञानेन्द्र पनि ‘बेनिभोलेन्ट डिक्टेटर’ बन्छन् कि भन्ने आशा जनतामा कहीं कतै अवश्य थियो । तर उनी पनि फगत डिक्टेटर मात्र बन्ने दुष्प्रयास गरे । हालका प्रधानमन्त्री ओली र विद्वान् भनिएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमा पनि आम सर्वसाधारणले समृद्धिको आमूल परिवर्तनको अपेक्षा गरेकै हुन् । तर उनीहरू पनि केवल परीक्षा मात्र दिइरहेका छन्, परिणामविहीन परीक्षा !

हो, यसकारण हामीलाई व्यवस्था बदल्ने अनि आफू मात्रै बदलिने पात्र होइन देश बदल्ने अनि जनताको अवस्था बदल्ने उदार तानाशाह नै चाहिएको छ । मलेशियाका मोहम्मद महाथिर र सिंगापुरका लि क्वानलाई एक्काइसौं शताब्दीका मुस्तफाकै रूपमा चिनिन्छ । जसले देशलाई एक पुस्तामै तेस्रो विश्वबाट पहिलो विश्वको स्तरमा पु¥ याउन सके । आधुनिक सिंगापुर र मलेशियाले पाएका परिवर्तनका नायक अब नेपालले जन्माउन जरूरी छ । सधैं सुनको कचौरा बोकेर भीख माग्नुपर्ने हाम्रो विवशताको अन्त्य व्यवस्था बदलेर मात्र सम्भव भएन ।

हिंसाको माध्यमबाट सत्तामा आएको भए पनि कतै प्रचण्ड मुस्तफा, लि क्वान र महाथिरको छायाँ बनेर देशमा उदाउँछन् कि भन्ने अपेक्षा पनि जनताले गरेकै हुन् । थोरै डर र केही आशाको परावर्तनको परिणाम थियो २०६४ सालमा माओवादीले पाएको मत । तर उनी र उनका आसेपासे परिवारवाद भन्दा माथि उठ्नै सकेनन् ।

ज्ञानेन्द्र पनि ‘बेनिभोलेन्ट डिक्टेटर’ बन्छन् कि भन्ने आशा जनतामा कहीं कतै अवश्य थियो । तर उनी पनि फगत डिक्टेटर मात्र बन्ने दुष्प्रयास गरे । हालका प्रधानमन्त्री ओली र विद्वान् भनिएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमा पनि आम सर्वसाधारणले समृद्धिको आमूल परिवर्तनको अपेक्षा गरेकै हुन् । तर उनीहरू पनि केवल परीक्षा मात्र दिइरहेका छन्, परिणामविहीन परीक्षा !

तर, जनतामा अझै पनि आशा छ । नजिकैको छिमेकले पाएका एक्काइसौं शताब्दीका ‘करिस्मेटिक नेतृत्व’ नेपालले पनि अवश्य पाउनेछ । अनि प्रयोगशालाको प्रसव पीडाको पनि छिट्टै अन्त्य हुनेछ ।

खास नेतृत्व समस्या, संकट र चुनौतीको चौघेरामा घेरिएको बेलामा नै जन्मन्छ । त्यो समयको माग र आवश्यकता दुवै हो । हो त्यसैले अमेरिकाले फेरि जोन एफ केनेडी र रुजवेल्ट जस्तो नेतृत्व नपाउन सक्छ । बेलायतले मार्टिन लुथर तुरुन्तै नपाउन सक्छ । दक्षिण अफ्रिकालाई मण्डेला जस्तै नेता अब शताब्दीपछि मात्र चाहिन सक्छ । चीनलाई देङ सियाओ पिङ तत्कालै नचाहिन सक्छ । किनकि उनीहरूले त्यो पीडाको पहाड पार गरिसकेका छन् । ती नेतृत्वले पार गराइसकेका छन् ।

तर हामी अझै चुनौतीका तिनै चौघेरामा छौं, खास परिवर्तनको प्रतीक्षामा छौं । यसर्थ तानाशाह नै किन नहोस् जनतालाई समानता र समृद्धिको स्वाद चखाउने नेतृत्व चाहिएको छ– मुस्तफा, देङ, महाथिर र लि क्वान जस्तै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.