‘चराको स्वर्ग’मा भुलिरहेका विद्यार्थी, जसलाई बन्नुछ चरा–गाइड – Nepal Press
कोशी टप्पु

‘चराको स्वर्ग’मा भुलिरहेका विद्यार्थी, जसलाई बन्नुछ चरा–गाइड

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगेन विष्टलाई हरेक शनिबार पक्षी बसाइँसराइ अध्ययनस्थल पुग्न हतारो हुन्छ । कौशिका आधारभूत विद्यालयका कक्षा ८ का छात्र विष्ट बराहक्षेत्र–२ जब्दी, खस्रेमा हरेक शनिबार बिहान चार घण्टा बिताउँछन् । अध्ययनस्थलमा राखिएका चरा सम्बन्धी पुस्तक पढ्छन् । चरा हेर्ने दुर्बिन र टेलिस्कोपमा आँखा कुदाउँछन् । र, हेर्छन् चराको स्वर्ग भनिने कोशी टप्पु क्षेत्रमा भेटिने सुन्दर चराहरू ।

‘पहिले पहिले सबै चराहरू एकै जस्तो लाग्थ्यो अहिले यहाँ आएर एक वर्ष सिकेपछि धेरै जानियो’ विष्ट भन्छन्, ‘अब म ५० प्रजातिका चरा मज्जाले छुट्याउन सक्छु ।’ चराहरूको रंगबाट उनीहरूको प्रजाति छुट्टिने विष्ट बताउँछन् । आफूले जानेको कुरा सुनाउँदै उनी भन्छन्, ‘कमल मैनाको ढाड सेतो, जीउ खैरो–खैरो र खुट्टा पहेंलो हुन्छ ।’

विष्ट जस्तै अध्ययनस्थलमा आएर चरा बारेमा जानकार अर्का विद्यार्थी हुन् कौशल दाहाल । आदर्श उच्च माविमा कक्षा ११ मा पढ्ने दाहाल चरा अध्ययनस्थल आएको तीन वर्ष भयो । तीन वर्षमा उनी ७० बढी प्रजातिका चराहरू सहजै छुट्याउन सक्छन् । चराको शिकार खेल्ने तरिका, रंगदेखि चुच्चो हेरेर उनीहरू बारेमा थाहा हुने दाहाल बताउँछन् । उनी भन्छन्, ‘चरा बारेमा सिक्न एकै दिनमा हुँदैन । धेरै इच्छाले पढेपछि मात्रै क्रमशः बुझ्न थालिन्छ ।’

नगेन विष्ट र कौशल दाहाल भन्दा पोख्त भएकी छिन् इन्दिरा कार्की । भर्खरै कक्षा १२ सिध्याएकी कार्की चरा अध्ययनस्थलको साप्ताहिक कक्षामा आएको पाँच वर्ष भयो । पाँच वर्षमा उनी ३०० प्रजातिका चराहरूको आनीबानीदेखि रुपरंग सबै थाहा पाउने भइन् । चराको आधिकारिक गाइड बन्ने प्रक्रियामा रहेकी कार्की अहिले चरा अध्ययनस्थलमा आउने नयाँ विद्यार्थीलाई दुर्बिनदेखि टेलिस्कोपबाट हेर्न समेत सिकाउँछिन् ।

आफ्नै गाउँघरमा बसेर चरा बारेमा सिक्न र सिकाउन पाएकोमा खुशी कार्की भन्छिन्, ‘पहिले चरालाई चराको रूपमा मात्रै बुझिन्थ्यो । अब प्रजातिदेखि आनीबानी सबै बारेमा चासो हुन्छ ।’

 

३०० प्रजातिका चराहरूमा कार्कीलाई सबैभन्दा मन परेको भने एशियन प्याराडाइज फ्लाई क्याचर हो । नेपालीमा ‘स्वर्ग चरी’ भनिने उक्त चराको भाले सेतो र पोथी खैरो रंगको हुने कार्कीले बताइन् । आफूलाई कोशीका सयौं चरामा उक्त चरा अत्यन्तै मनपर्ने कार्की बताउँछिन् । भन्छिन्, ‘त्यो चरा अरूभन्दा आकर्षक र चुलबुले हुन्छ । मलाई अत्यन्तै मनपर्छ ।’

पक्षी बसाइँसराइ अध्ययनस्थल २०६८ सालमा स्थापना भएको व्यवस्थापक विमल तिम्सिना बताउँछन् । लाजिम्पाटमा रहेको हिमाली प्राकृतिक संरक्षण संस्थाबाट संचालित अध्ययनस्थलमा स्थापनाकालदेखि ५०० बढी विद्यार्थीले अध्ययन गरेको पनि तिम्सिना सुनाउँछन् ।

हरेक शनिबारको चार घण्टाको कक्षामा दुई वटा उद्देश्य भएको पनि तिम्सिनाले बताए । उनी भन्छन्, ‘पहिलो उद्देश्य भनेको स्थानीय बालबालिकालाई स्थानीयस्तरमै भएको विश्वस्तरीय वन्यजन्तु आरक्षका चारहरूको जानकारी दिनु र संरक्षण गर्न प्रोत्साहन गर्नु हो । दोस्रो चाहिं थौरै भए पनि स्थानीयस्तरबाटै चरा गाइडहरू उत्पादन गर्नु हो ।’

१५ वर्षदेखि कोशी टप्पुका चराको क्षेत्रमा सक्रिय तिम्सिना अध्ययनस्थलमा आएका दुई विद्यार्थी गाइड भइसकेको बताउँछन् । पूर्व विद्यार्थी सम्झना कार्की गाइड बनिसकेको र अहिले अध्ययनरत इन्दिरा कार्की पनि गाइड बन्ने चरणमा पुगेको उनी बताउँछन् ।

कोशी पन्छी समाजका अध्यक्ष संजीव आचार्यका अनुुसार कोशी टप्पु वन्यजन्तु आरक्षमा ५३१ प्रजातिका चराहरू पाइन्छन् । नेपालभरिमा भने ८८६ प्रजातिका चराहरू रहेको आँकडा छ । २०३२ सालमा स्थापना भएको कोशीटप्पु नेपालको एक्लो वन्यजन्तु आरक्ष हो । १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष चरा अवलोकनका लागि आउनेहरूको प्रसिद्ध गन्तव्य पनि हो ।

‘चराको स्वर्ग कोशी टप्पुमा स्थानीयस्तरमै विद्यार्थीलाई जागरुक बनाएर जानकारी बाँड्ने काम राम्रो हो’ बेलाबेला चरा अवलोकन स्थलमा आएर विद्यार्थीलाई पढाउने आचार्य भन्छन्, ‘यसले नयाँ पुस्तालाई चराको सूचना र संरक्षणको चेतना एकैपटक दिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *