२२ मध्ये २१ तलाको ढलान सकियो, ५ महिनामा तयार हुने – Nepal Press
धरहरा पुन:र्निर्माण

२२ मध्ये २१ तलाको ढलान सकियो, ५ महिनामा तयार हुने

काठमाडौं। २०७२ वैशाख १२ को महाभूकम्पबाट क्षतिग्रस्त ९ तले धरहरा पुन:र्निर्माणअन्तर्गत सुन्धारामा २२ तलाको नयाँ धरहरा बनिरहेको छ।

२०७५ असोज २० गतेबाट पुन:र्निर्माण थालिएको धरहराको २१औं अर्थात अन्तिम तला ढलानको काम सकिएको राष्‍ट्रिय पुन:निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । यसले उत्साह अझ थपेको भन्दै उनले नयाँ धरहरा निर्माणलाई पूर्णता दिन धेरै समय कुर्नु नपर्ने बताएका छन् ।

गत असोज २० सम्ममा पुन:र्निर्माण सक्ने लक्ष्यसहित थालिएको काम कोरोना महामारीको असहज परस्थितिका कारण केही ढिला भएको हो । अब कार्य सम्पन्‍नको लक्ष जुनको अन्तिम (२०७८ मध्यअसार)  रहेको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले नेपाल प्रेससँग बताए ।

प्राधिकरणले हरेक पन्ध्र/पन्ध्र दिनमा एक तला ढलान गर्ने योजनाका साथ काम अघि बढाएको थियो । अण्डरग्राउन्ड र जगको कामले शुरूमा केही अलमलजस्तो देखिएपनि पछिल्लो समयमा काम रफ्तारमा गरिएको हो ।

मानन्धरका अनुसार नयाँ धरहरा निर्माणमा कूल ३ अर्ब ८ करोड रूपैयाँको लागत अनुमान गरिएको थियो । त्यसमा करिब ३ करोड नपुग हुने देखिएको छ । अहिलेसम्म १ अर्ब ३४ करोड रूपैयाँ खर्च भएको उनले जानकारी दिए ।

नयाँ धरहरा निर्माणको ठेक्का जीआईईटीसी-रमन जेभीलाई दिइएको छ।

नेपालीको लगानीबाटै धरहरा बनाउन २०७२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरू गरेका थिए । अभियानअन्तर्गत खोलिएको छुट्टै बैंक खातामा प्रधानमन्त्री र तत्कालीन मन्त्रीहरूले एक महिनाको तलब योगदान गरेका छन् । त्यसैगरी नेपाल टेलिकमले १ अर्ब रूपैयाँ जम्मा गर्ने प्रतिवद्धता जनाएको थियो ।

कस्तो बन्दैछ नयाँ धरहरा ?

भीमसेन थापाले काठमाडौंको सुन्धारामा विक्रम संवत् १८८२ मा ११ तलाको धरहरा निर्माण गरेका थिए । १९९० को भूकम्पले त्यो धरहरामा क्षति पुगेपछि राणा प्रधानमन्त्री जुद्ध शम्शेरले ११ तलाबाट झारेर नौ तले बनाए।

यसपटक बन्ने नयाँ धरहरा २२ तलाको भूकम्प प्रतिरोधात्मक हुनेछ ।

नयाँ धरहरा पुरानो धरहराका बाँकी अंश रहेको क्षेत्रबाट करिब १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा बनाइँदैछ। साढे ४२ रोपनी क्षेत्रफलमा फैलिएको गजुरसहितको नयाँ धरहराको उचाइ ७७ मिटरको हुनेछ। धरहरामा पहिलाको जस्तै भर्‍याङसँगै दुईवटा लिफ्ट रहने छन्। त्यसैले अब बन्ने धरहराको मोटाइ भने पहिलाको धरहराभन्दा ठूलो हुनेछ।

२०७२ सालको भूकम्पमा बचेको धरहराको बाँकी संरचनालाई पानी, हावाहुरीले नबिग्रने गरी संरक्षण गरिनेछ। त्यस भागलाई ‘भुइँचालो स्मारक’का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिने छ। नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाऊन् भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको प्राधिकरणले जनाएको छ ।

नजिकै रहेको गोश्वारा हुलाक कार्यालय, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको टक्सार भवन भत्काएर सो जग्गा प्राधिकरणको नाममा ल्याइसकिएको छ। त्यहाँ सङ्ग्रहालय बनाउने योजना छ। धरहराका क्षेत्रमा मनोरम बगैँचा समेत निर्माण गरिने छ।

गोश्वारा हुलाक कार्यालय भएको स्थानमा अत्याधुनिक तीन तले सवारी पार्किङ स्थल बनिरहेको छ । त्यही स्थान नयाँ धरहराको प्रवेशद्वार हुनेछ ।

पुन:र्निर्माणका क्रममा सुन्धाराको धारालाई पनि मर्मत गरिने र यसको पुरातात्विक महत्वलाई बिग्रिन नदिइने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर