६ महिनामै जन्मेको बच्चा बचाउन चिकित्सक सफल – Nepal Press

६ महिनामै जन्मेको बच्चा बचाउन चिकित्सक सफल

जनकपुरधाम । धनुषास्थित क्षिरेश्वरनाथ नगरपालिका– १ की सीमा साहले गर्भ बसेको ६ महिना २० दिनमै बच्चा जन्माइन् । जन्मनेवित्तिकै बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पताल लगियो । उपचारपछि सोमबार सीमालाई अस्पतालले डिस्चार्ज गरिदिएको छ । अहिले आमा र बच्चा स्वास्थ्यस्थित ठीक भएको चिकित्सकले जनाएका छन् ।

बच्चा ठीक भएपछि सीमा खुसी छिन् । भन्छिन्– बाँच्ने आश नै मरिसकेको थियो । अहिले धेरै खुसी लागेको छ । डाक्टरहरुलाई धन्यावाद दिन चाहन्छु ।

आमा र बच्चाको उपचारको संलग्न थिए, चिकित्सकत्रय डा. हेमन्त शर्मा, डा. इसाराजुम साह र डा. अनिल कुमार साह । डा. इसाराजुम भन्छन्, ‘बच्चाको स्थिति एकदम नाजुक थियो । साढे ५ महिनामा जन्मेको बच्चा बचाउनु हाम्रो लागि ठूलै चुनौती थियो । हामी उपचार गर्न सफल भयौं । एकदम खुशी लागेको छ ।’

जन्मेका बेला बच्चाको तौल ९ सय ग्राम थियो । करिब एक महिनाको उपचारपछि बच्चाको तौल १ दशमलव ३ किलोग्रामको भएको छ ।

सीमाको कलिलो उमेरमै विवाह भएर गर्भ बसेका कारण यस्तो स्थिति आएको चिकित्सकले बताए । डा. साहले भने– सीमाको १५/१६ वर्षमै विवाह भएको रहेछ । विवाहलगत्तै गर्भ बसेछ । सानै उमेरमा गर्भवती भएकाले पिसावमा इन्फेक्सन भएका कारण कारण सात महिना नलाग्दै बच्चा जन्मेको हो ।

सात महिना नपुग्दै बच्चा जन्मेकाले आगामी दिनमा पनि समस्या आउन सक्ने चिकित्सकले बताएका छन् । डा. इसाराजुम भन्छन्– यस्तो अवस्थामा बच्चाको मुटु कमजोर हुन्छ । त्यसैले पनि समस्या हुन सक्छ । थोरै समस्यामा र एक केजीभन्दा कम तौलका बच्चा जन्मिँदा पछि आँखा नदेख्ने खतरा हुन्छ ।

नियमित जाँच गर्न चिकित्सकले सीमालाई सुझाव दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *