भ्यालेन्टाइनमा मायालुसँग हेर्न सकिने यी हुन् टपटेन नेपाली फिल्म – Nepal Press

भ्यालेन्टाइनमा मायालुसँग हेर्न सकिने यी हुन् टपटेन नेपाली फिल्म

काठमाडौं । तपाइँ भ्यालेन्टाइन डे कसरी मनाउने विचारमा हुनुहुन्छ ? मायालुसँग डेटिङ गएर वा सिंगल हुनुहुन्छ भने समय बिताउने उपाय मिलिरहेको छैन ? भ्यालेन्टाइनमा रोमान्टिक फिल्म पनि एउटा मेसो हुनसक्छ ।

प्रेमकथामा आधारित केही कालजयी नेपाली फिल्म छन् जसले तपाइँलाई प्रेमिल तुल्याउन सक्छ । तपाइँ मायालुसँग सँगै बसेर यी नेपाली फिल्म पनि हेर्न सक्नुहुन्छ । लभस्टोरी जनरा नेपाली फिल्ममा सबैभन्दा रुचाइएको विधामध्ये एक पनि हो ।

पचासवर्ष इतिहास बोकेको नेपाली फिल्म क्षेत्रबाट यहाँ उत्कृष्ट १० प्रेमकथामा आधारित फिल्म छनौट गरिएको छ ।

कन्यादान :
भुवन केसी, गौरी मल्ल, रवि शाह, मुरलीधर अभिनित फिल्म कन्यादानको पटकथा, संवाद एवं निर्देशन प्रकाश थापाले गरेका हुन् । एक विधवा महिला र पुरुषबीचको प्रेम सम्बन्धमा फिल्म आधारित छ ।

प्रेमपिण्ड :
कथा, पटकथा र निर्देशन यादव खरेलको रहेको फिल्म प्रेमपिण्डमा सरोज खनाल र सनी रौनियारको मुख्य भूमिका छ । दरबारभित्रको प्रेमकथा समेटिएको फिल्ममा नीर शाहको समेत मुख्य भूमिका छ ।

सम्झना :
शम्भु प्रधान निर्देशित फिल्म सम्झनामा तृप्ती नाड्कर र भुवन केसीको मुख्य भूमिका छ । धनी र गरिबबीचको प्रेम दर्शाइएको फिल्मलाई उक्त समयको महत्वपूर्ण फिल्मको रुपमा लिइन्छ ।

वसन्ती :
डायमण्ड शमशेरको ऐतिहासिक कृतिमा आधारित यो फिल्ममा दरबारभित्रको प्रेमकथा चित्रण छ । जसमा राजेश हमाल, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह र अशोक शर्माको मुख्य भूमिका छ । फिल्मलाई नीर शाहले निर्देशन गरेका हुन् ।

लाहुरे :
तुलसी घिमिरे निर्देशित फिल्म लाहुरेमा श्रवण घिमिरे र तृप्ती नाड्करको मुख्य भूमिका छ । सिपाही र गाउँकी एक युवतीबीचको प्रेमकथालाई सजिव ढंगले चित्रण गरिएको छ ।

दर्पण छायाँ :
तुलसी घिमिरे निर्देशित फिल्म दर्पण छायाँमा दिलिप रायमाझी, निरुता सिंह र उत्तम प्रधानको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा संगीत र प्रेमको संयोजन छ ।

सानो संसार :
आलोक नेम्बाङ निर्देशित फिल्म सानो संसारमा नम्रता श्रेष्ठ, कर्मा, जीवन लुइँटेल, विनय श्रेष्ठ, नीर शाहको मुख्य भूमिका छ । यसमा आधुनिक पुस्ताको प्रेमकथा चित्रण गरिएको छ ।

फस्टलभ :
सिमोस सुनुवार निर्देशित यो फिल्मले आधुनिक युवापुस्ताको रोमाञ्चक पे्रमकथा चित्रण गर्छ । आर्यन सिग्देल, कर्मा, विनय श्रेष्ठ, ऋचा शर्मा र निशा अधिकारीको मुख्य भूमिका छ ।

मञ्जरी :
वर्गीय र पुस्तान्तरण प्रेम चित्रण गर्ने फिल्ममा गौरव पहारी र सुजाता कोइरालाको मुख्य भूमिका छ जसलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । क्रिटिक्सले यसलाई राम्रो प्रतिक्रिया दिए र बक्सअफिसमा पनि यसले राम्रो व्यापार गर्न सक्यो ।

लभ सासा :
प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म लभसासामा केकी अधिकारी, कर्मा, आसिफ शाहको मुख्य भूमिका छ । त्रिकोणात्मक पे्रमकथा समेटिएको फिल्मले प्रविधि र प्रेमबीचको सम्बन्ध चित्रण गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर