मार्क्सको ‘अफिम’, ओलीको ‘पशुपति’ र झलनाथको ‘नरक’ – Nepal Press
नेपाल चिन्तन

मार्क्सको ‘अफिम’, ओलीको ‘पशुपति’ र झलनाथको ‘नरक’

‘सबै मार्क्सवादीहरू कम्युनिष्ट हुँदैनन् तर सबै कम्युनिष्टहरू मार्क्सवादी हुन्छन्’ भनिन्छ । मार्क्स भौतिकवादी र द्वन्द्ववादी थिए । उनले धर्मलाई ‘आत्माविहीनहरूको आत्मा’ र ‘जनताको अफिम’ भनेर व्याख्या गरेपछि संसारका कम्युनिष्टहरूले त्यही व्याख्या मान्ने नै भए । लेनिनले त्यही माने । रूसमा त्यही मान्यताको आधारमा इसाई र मुस्लिमहरूलाई दमन गरियो भनिन्छ । माओले त्यही माने । चीनमा करिब एक दशक चलेको असफल सांस्कृतिक क्रान्ति यसैको परिणाम थियो ।

नेपाल धार्मिक र सांस्कृतिक रूपले युरोपियन मुलुकहरूको तुलनामा निकै पुरानो मुलुक हो । हाम्रा प्रचुर सांस्कृतिक मूल्यमान्यताले देशको राष्ट्रियतालाई मजबूत र उन्नत बनाएका छन् । कतिपय सांस्कृतिक परम्परा सदियौं शासन गरेको सामन्ती व्यवस्थासँग जोडिएर आए पनि तिनीहरूले राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गरेनन् । नेपाली कम्युनिष्ट नेताले देशको यही वास्तविकतालाई बुझेरै खासगरी हिन्दू धर्म र नेपाली विविध संस्कृतिसँग पौंठेजोरी नखेलेका होलान् ।

समाजका हरेक क्षेत्रमा आमूल परिवर्तनको वकालत गर्ने पार्टी नेकपाको नेतृत्वमा देश चलिरहेको वर्तमान अवस्थामा यो सुधारले झन् तीव्रता पाउने अपेक्षा गर्न सकिन्छ ।

कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले सूत्रबद्ध गरेको द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई स्वीकार गर्दै जीवन र जगतलाई हेर्ने प्रत्येक वाम कार्यकर्ताको प्रारम्भिक स्वीकृति हो । यसमा बहस गर्नु एउटा कुरा हो, व्यवहारमा उतार्नु अर्कै कुरा ।

हजारौं वर्ष अगाडिदेखि अस्तित्वमा रहेको अध्यात्मवादी दृष्टिकोण बोकेर अगाडि बढिरहेको सन्दर्भमा विकसित यो विश्व दृष्टिकोणले संसारमा ल्याएको परिवर्तनलाई आत्मसात् गर्दै आफ्नो जीवनलाई समेत सोही अनुरूप परिवर्तन गर्नु अग्रगामीहरूको आम चरित्रभित्र पर्दछ ।

समाजका हरेक क्षेत्रमा आमूल परिवर्तनको वकालत गर्ने पार्टी नेकपाको नेतृत्वमा देश चलिरहेको वर्तमान अवस्थामा यो सुधारले झन् तीव्रता पाउने अपेक्षा गर्न सकिन्छ ।

एउटा विशिष्ट चेतनाले पदार्थको सृष्टि गरेको मान्यता राख्ने अध्यात्मवादले त्यस्ता विशिष्ट चेतनाको पूजक बनायो र हजारौं लाखौं मानिसलाई केही मुट्ठीभर शासकहरूको दास बनाउने प्रयत्न गर्यो । यसको ठीक विपरीत भौतिकवादी दृष्टिकोणले पदार्थको सबभन्दा विकसित मस्तिष्कको गुणको रूपमा चेतनालाई परिभाषित गर्यो । चेतनालाई कुनै अलौकिक विषयवस्तु नभएर पदार्थको गुणको रूपमा परिभाषित गरियो ।

तर भौतिकवादी दृष्टिकोणका अनुयायी भएर अध्यात्मवादी संस्कारलाई पछ्याउने वाम शीर्षनेतादेखि कार्यकर्तासम्म चलन हटेको देखिंदैन । भौतिकवादी दृष्टिकोणलाई केवल भाषण गर्ने विषयवस्तु बनाउने तर पुरानै बनिबनाउ हिन्दू व्यवहारको अवलम्बन गर्ने चलन चल्दै आएको छ ।

मानवीयता, आत्मीयता, दयाभाव, करुणा अध्यात्मवादका अंग होइनन्, बरु तिनीहरू मानव चेतनाका अंगहरू हुन् । मानव चेतना नै भौतिकवस्तुको उपज भएपछि जीवनलाई अलौकिकता र रहस्यसँग जोडेर बुझ्ने पुरानो तरिकामा आमूल सुधार हुनुपर्ने नै भयो ।

भौतिकवादले मानवीयता, आत्मीयता, करुणा जस्ता पक्षलाई वास्ता गर्दैन भन्नु पनि दृष्टिकोणको दिवालियापन बाहेक केही हुन सक्दैन ।

दृष्टिकोणमा परिवर्तन नभएसम्म सामाजिक रूपान्तरणका मुद्दालाई अघि बढाउन कठिन हुने मात्र होइन, कहिलेकाहीं अवरोध सिर्जना हुने खतरा उत्पन्न हुन्छ ।

मानिसको जीवनमा विचारको पक्ष सबभन्दा महत्वपूर्ण पक्ष हो । एक जना चिनियाँ दार्शनिकले विचारलाई उच्च प्राथमिकता दिंदै भनेका छन्, ‘आफ्नो विचारको ख्याल गर किनभने ती शब्द बन्दछन्, शब्दहरूको ख्याल गर किनभने ती कार्य बन्दछन्, कार्यहरूको ख्याल गर किनभने ती बानी बन्दछन्, बानीहरूको ख्याल गर किनभने ती चरित्र बन्दछन्, चरित्रहरूको ख्याल गर किनभने ती भाग्य बन्दछन् र भाग्य नै तिम्रो जीवन हुनेछ ।’

माओत्सेतुङले सिद्धान्त र व्यवहारको सम्बन्धलाई प्रष्ट पार्दै भनेका छन्, ‘सिद्धान्त विनाको व्यवहार अराजक हुन्छ, व्यवहार विनाको सिद्धान्त लङ्गडो हुन्छ ।’ यी भनाइमा फरक मत राख्ने ठाउँ छैन । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणलाई आफ्नो जीवनको मार्गदर्शक सिद्धान्त बनाउनेले त्यसको ठीक विपरीत कित्तामा रहेको अध्यात्मवादी व्यवहार गर्न सुहाउँदैन ।

सिद्धान्तमा भौतिकवादी व्यवहारमा अध्यात्मवादी बन्दा दोहोरो चरित्र देखिन्छ । सकेसम्म यस्ता विषयमा प्रगतिशील व्यक्तिहरूको सन्तुलित व्यवहार अपेक्षित छ । तर समाजमा गरिने धार्मिक र सांस्कृतिक शिष्टाचार र लोकाचार छुट्टै विषय हुन् ।

भौतिकवादले मानवीयता, आत्मीयता, करुणा जस्ता पक्षलाई वास्ता गर्दैन भन्नु पनि दृष्टिकोणको दिवालियापन बाहेक केही हुन सक्दैन ।

संस्कृतिलाई अर्थ र राजनीतिको प्रतिविम्बको रूपमा परिभाषित गरिएको छ । राजनीति र अर्थनीति चाँडै परिवर्तन हुने तर संस्कृतिको परिवर्तन अत्यन्त मन्द गतिमा हुने यथार्थलाई हेर्ने हो भने नेपालमा भएको राजनीतिक–आर्थिक परिवर्तनसँगै सांस्कृतिक परिवर्तनको अपेक्षा राख्नु हतार हुनेछ ।

सांस्कृतिक परिवर्तन व्यक्तिमा आउने परिवर्तनको समुच्चय भएकोले नयाँ संस्कृतिको निर्माण गर्न हामीले विशेष कार्ययोजना निर्माण गरी पहलकदमी गर्नुपर्ने आवश्यकता छ । परिवर्तित सन्दर्भमा ज्ञान र भावको सम्प्रेषण गर्नु नेतृत्वको दायित्वभित्र पर्दछ ।

सयौं वर्ष पहिले राजा महाराजाहरूले आफ्नो स्वार्थ वा मनोरञ्जनको निमित्त शुरू गरेका कतिपय संस्कृतिहरूको समयसापेक्ष परिवर्तन गर्न व्यक्तिगत एवं राजकीय हस्तक्षेप आवश्यक छ । समृद्ध समाजवादी राज्य व्यवस्था र उत्पादन सम्बन्ध निर्माण गर्न सामन्ती संस्कृति बाधक हुने निश्चितप्रायः छ । नेपालका वाम शक्तिले सांस्कृतिक परिवर्तनका विशेष नमूनाहरू देखाउन र जनतालाई अभिप्रेरित गर्न सकेको छैन ।

२०६२/६३ को जनआन्दोलनमा सडकमा गणतन्त्रको चर्को नारा लगाउने स्थानीय कम्युनिष्ट नेता कार्यकर्ताले खाना खाने बखत अप्सानी हाल्दा, ‘भूपतये स्वाहाः, भूवनपतये स्वाहाः’ भने होलान् ? राजा हटाउने अनि उनैलाई सम्झेर खाना चढाउने !

वाम आन्दोलनले यो असंगतिलाई हटाउन पहल गर्नु आवश्यक छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले मरेपछि स्वर्ग जाइन्छ भन्ने जीवनभर कहिल्यै सोचेनन् तर उनी मरेपछि स्वर्गीय पुष्पलाल भनेर भन्न थालियो । हामीसँग भाषा त्यस्तै थियो त्यसै गरियो । यसमा मात्र असंगति के हो भने आत्मा र स्वर्ग भौतिकवादी शब्दकोशमा पर्दैनन् ।

आत्मामा, ईश्वरमा र कुनै धर्ममा खुलेर विश्वास गर्न पाइन्छ । लोकतन्त्रले यसमा कसैलाई रोकतोक गर्दैन । तर भनाइ र गराइमा तालमेल नभए नेता कार्यकर्ताप्रति जनताको विश्वासको पारो घट्छ भन्ने आशय हो यो । नेतृत्वको सांस्कृतिक, भाषिक व्यवहार समाजले अनुसरण गर्न योग्य हुनु त्यत्तिकै आवश्यक छ । देशभर सञ्चालन हुने सांस्कृतिक चाडपर्व, रीतिरिवाज र संस्कारका वैज्ञानिक पक्ष र परिवर्तित सन्दर्भमा असान्दर्भिक पक्षहरूलाई केलाएर असान्दर्भिक र अव्यावहारिक पक्षलाई हटाउने साहस सामाजिक रूपान्तरणका अभियन्ताहरूले गर्न सक्नुपर्दछ ।

नेपालमा समाजवादउन्मुख लोकतान्त्रिक शासन व्यवस्थासँगै नयाँ संस्कृति निर्माण हुनु अति जरूरी भइसकेको छ । नेतालाई देवत्वकरण नगर्ने, सबैको उचित सम्मान गर्ने, जनतालाई मालिक ठान्ने, सार्वजनिक जीवनमा भड्किलोपन नदेखाउने जस्ता व्यवहारले नयाँ संस्कृतिको शुरुआत गर्न सक्छन् ।

नेपालका कम्युनिष्टहरूले देशको राजनीति, अर्थनीतिमा जसरी आमूल र सुधारात्मक परिवर्तन जारी राखेका छन्, त्यसरी नै नेपाली संस्कृतिलाई आमूल र सुधारात्मक बाटोमा अगाडि नबढाई सुखै छैन । जनवादी संस्कृतिको निर्माण रातारात हुने होइन, तर विद्यमान संस्कृतिको निरन्तर जनवादीकरण गर्ने काम पनि नेपालका कम्युनिष्टकै हो भन्ने नबिर्सिने कि !

नेपालमा सांस्कृतिक रूपान्तरणको कुरा गर्दा ‘राजनीति र अर्थनीतिमा चाँडै परिवर्तन ल्याउन सकिन्छ तर संस्कृति समाजमा यति जरा गाडेर बसेको हुन्छ कि यसलाई परिवर्तन गर्न हजार वर्ष पनि लाग्न सक्छ’ भन्ने माओको देश चीनमा भएको ‘सर्वहारा सांस्कृतिक क्रान्ति’ मा भएका गल्तीबाट नेपाली कम्युनिष्टहरूले गम्भीर पाठ सिक्न सक्नुपर्छ । जनताको चेतना उन्नत बनाएर उनीहरूकै सहभागितामा जनवादी संस्कृतिको निर्माण गर्न सकिन्छ ।

दशैंको टीका नलाउने, पशुपतिमा अनावश्यक हस्तक्षेप गर्न खोज्ने जस्ता तत्कालीन माओवादी नेतृत्वबाट नेपालको सांस्कृतिक क्षेत्रमा केही जबर्जस्ती गर्न खोजिए पनि आखिर त्यो असफल भयो र जनताको बहुदलीय जनवादी संस्कृतिकै लाइनमा हाल सबै समाहित भएका छन् ।

नेपाली कम्युनिष्टहरूले विकास गरेको सुप्रसिद्ध र सर्वाधिक लोकप्रिय सिद्धान्त जनताको बहुदलीय जनवादले हामीलाई सिकाएको यही हो । जबजले सुस्पष्ट भनेको छ– ‘सामन्ती र साम्राज्यवादी साहित्य संस्कृतिको कुप्रभावलाई अन्त्य गरी, सामाजिक कुरीति र अन्धविश्वासहरू समाप्त पारी प्रगतिशील, राष्ट्रिय एवं जनवादी साहित्य संस्कृतिको विकास गरिनेछ । समाजका सबै क्षेत्रमा जनवादी रूपान्तरण गर्नका निम्ति सामाजिक सुधारका कार्यक्रम योजनाबद्ध रूपमा अघि बढाइनेछ ।’

दशैंको टीका नलाउने, पशुपतिमा अनावश्यक हस्तक्षेप गर्न खोज्ने जस्ता तत्कालीन माओवादी नेतृत्वबाट नेपालको सांस्कृतिक क्षेत्रमा केही जबर्जस्ती गर्न खोजिए पनि आखिर त्यो असफल भयो र जनताको बहुदलीय जनवादी संस्कृतिकै लाइनमा हाल सबै समाहित भएका छन् ।

हालै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति क्षेत्रको विकास अवलोकन गर्ने क्रममा पशुपतिमा पूजा गरेको विषयले निकै चर्चा पायो । यही विषयसँग जोडेर अनेकन् लख काटिए । केपी शर्मा ओलीको कम्युनिष्ट चरित्रमाथि समेत प्रश्न उठाइयो ।

वितेको हप्तामा अर्का मूर्धन्य मार्क्सवादी नेता झलनाथ खनालले ‘ओलीको पछिलाग्नेहरू सबै नरक जान्छन्’ भनेछन् । अब फेरि मार्क्सवादी  र नरक यात्राको साइनो खोज्नुपर्ने भयो !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.