सेवा आयोगलाई एकरुपता ल्याउनुपर्नेमा शिक्षामन्त्री श्रेष्ठको जोड – Nepal Press

सेवा आयोगलाई एकरुपता ल्याउनुपर्नेमा शिक्षामन्त्री श्रेष्ठको जोड

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले सेवा आयोगलाई एकरुपता ल्याउनुपर्ने बताएका छन् । उनले शिक्षक सेवा आयोगको स्थापना दिवसको अवसरमा आइतबार आयोगकाे कार्यालयमा आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गरेका हुन् ।

त्यसै अवसरमा उनले गुणस्तरीय शिक्षक उत्पादन गर्ने मुल दायित्व रहेको आयोगमा सक्षम कर्मचारी आवश्यक रहेको बताएका छन् । ‘शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न शिक्षकको गुणस्तरमा परिवर्तन गर्नु आवश्यक छ ।’ उनले भने ।

परम्परागत शिक्षा नीति, यहाँको अस्थिरता, अराजकता, अन्यौल र भ्रमको बादलभित्र सबै मडारिएको आफूले पाएको उनले बताए । शिक्षामन्त्री श्रेष्ठले भने–अहिलेको अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्नु महत्वपुर्ण रहेको छ, त्यसको लागि आयोगले मुख्य भुमिका खेल्नुपर्छ ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शिक्षण पेशालाई जीवनको पहिलो रोजाइ बनाउनु पर्नेमा जोड दिए । शिक्षक परीक्षाको पाठ्यक्रम र प्रयोगात्मक परीक्षण प्रणाली परिवर्तन गर्नु आवश्यक रहेको उनले बताए ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले आयोगलाई स्वतन्त्र निकायको रुपमा स्वायत्तता प्रदान गर्नुपर्ने बताउदै ४० जना जनशक्तिका भरमा ५८ हजारभन्दा बढी शिक्षकलाई स्थायी गरेको बताए । आयोगमा जनशक्ति थप गर्नुपर्ने, आफ्नै भवन बनाउनुपर्ने आवश्यकता रहेको चर्चा गर्दै शिक्षक सेवा आयोगको परीक्षामा उतीर्ण संख्या कम हु्नु चिन्ताको विषय रहेको उनको भनाइ थियो ।

शिक्षक सेवा आयोगका पूर्वअध्यक्ष ताना गौतमले शिक्षा मन्त्रालयले आयोगलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउनु पर्छ भन्दै आयोगलाई स्वायत्त बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा पुर्वअध्यक्ष गौतमलाई मन्त्री श्रेष्ठले सम्मान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *