लुम्बिनी प्रदेश सभाको तेस्रो स्थापना दिवस स्थायी राजधानी दाङमा हुँदै – Nepal Press

लुम्बिनी प्रदेश सभाको तेस्रो स्थापना दिवस स्थायी राजधानी दाङमा हुँदै

रुपन्देही । प्रदेश स्थापना भएको तेस्रो वर्षमा लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी घोषणा भएको स्थानमा पहिलो पटक प्रदेश स्थापना दिवस मनाउने भएको छ ।

स्थायी राजधानी तोकिएको स्थान देउखुरी उपत्यकामा फागुन २, ३ र ४ गते तीन दिवसीय स्थापना दिवस मनाउने प्रदेश सरकारले निर्णय गरेको हो । प्रदेश स्थापना दिवस कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार फागुन २, ३ र ४ गते मुख्यमन्त्री शंकर पोख्र्रेलको प्रमुख आतिथ्यतामा देउखुरीको राप्ती गाउँपालिकामा यो कार्यक्रम मनाइने छ ।

स्थापना दिवस व्यवस्थापन समिति अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशका सबै जिल्लाको सहभागितामा विभिन्न कार्यक्रम गरी ३ दिन प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको बैठकमा आमन्त्रित राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने– यो बैठकले स्थापना दिवस यही मनाउने निर्णय गरेको छ, कार्यक्रमस्थल तय भएको छैन, केही दिनमा टुंगोमा पुग्छ । सुवेदीले भने– राप्ती प्राविधिक शिक्षालयमा गर्ने कि भन्ने पनि छलफल भएको छ, तर त्यहाँ स्थान अभाव हुने देखिएमा केही दिन अघि प्रधानमन्त्री केपी ओली आउँदा कार्यक्रम भएको स्थानलाई वैकल्पिक स्थानका रुपमा राखेका छौं ।

प्रदेश मन्त्रालय, १२ वटै जिल्लाका स्थानीय तह, संघ–संस्था, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मीमार्फत कार्यक्रम व्यवस्थित गर्न आव्हान गरिएको छ । कार्यक्रममा प्रदेशको कला, संस्कृति र भेषभूषा झल्कने झाँकीसमेत प्रदर्शन गरिने कार्यक्रम तय भएको छ ।

स्थापना दिवसका अवसरमा फागुन २ गते सबै स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सरसफाईसंग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने, फागुन ३ गते विशेष कार्यक्रमको आयोजना गरी प्रदेश सरकारद्वारा घोषणा गरिएका पदक सम्बन्धित व्यक्तिलाई प्रदान गर्ने, प्रदेश भरका सञ्चार माध्यमबाट प्रदेशका बारेमा जानकारीमूलक कार्यक्रम गरिने छ ।

फागुन ४ गते प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका विभिन्न स्थानमा वातावरण संरक्षणमूलक कार्यक्रमको आयोजनासहित दीपावली गरिने छ । बैठकमा ३ दिनको कार्यक्रमलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ ।

यसअघिका दुई वटा स्थापना दिवस अस्थायी राजधानी तोकिएको बुटवलमा मनाइएको थियो । स्थायी राजधानी देउखुरी उपत्यकालाई तोकिए पनि संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बुटवलमै मुकाम राखेर कार्यसम्पादन गर्दै आएको छ ।

स्थायी संरचना निर्माणपछि मात्र प्रदेश राजधानी लैजाने प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक योजना तथा विकास मन्त्री बैजनाथ चौधरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर