संचारमन्त्रीको विश्लेषण- पत्रकारलाई तालिम चाहियो, सामाजिक संजालको नियमन जरुरी (भिडियो) – Nepal Press

संचारमन्त्रीको विश्लेषण- पत्रकारलाई तालिम चाहियो, सामाजिक संजालको नियमन जरुरी (भिडियो)

काठमाडौं । पार्वत गुरुङ संचारमन्त्री तथा सूचना प्रविधिमन्त्री बनेको माघ २८ गते चार महिना पुग्दैछ । लो प्रोफाइलमा बसेर काम गर्न रुचाउने मन्त्री गुरुङ अहिलेसम्म विवादमा परेका पनि छैनन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङ आइतबार पत्रकारहरुबीच केही खुलेरै प्रस्तुत भए । उनले पत्रकारिता क्षेत्रका विकृति र सामाजिक संजालहरुको छाडापन नियमनका लागि के गर्ने भनेर सबैको रायसमेत मागे ।

आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारिता क्षेत्र विकृत हुनु र मर्यादित जिम्मेवार पत्रकारिता नहुनुमा पत्रकारहरुलाई तालिमको अभाव देखिएको विश्लेषण सुनाए ।

तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति जन्मिएको भन्दै उनले त्यसका लागि तालिम प्रतिष्ठान गठन गर्न सकिने बताए । आफ्नो योग्यता, क्षमता र गुणस्तरबिना बजारमा बिक्री हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने सुझाव मन्त्रीले दिए ।

विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने उनले बताए ।

मन्त्री गुरुङले कतिपय अनलाइनका नाममा समेत छाडातन्त्र मौलाएको र फेसबुक, युट्युबजस्ता सामाजिक सञ्‍जालको कुनै कार्यालय नेपालमा नहुँदा जे गरे पनि सरकार निरीह बन्ने अवस्था रहेको बताए । उनले कार्यविधी बनाएर नियमन गरौं भन्दै दूरसन्चारलगायत कुनै पनि ऐनमा सामाजिक संजालको नियमन नियन्त्रण सम्बन्धी व्यवस्था नरहेको बताए ।

सामाजिक संजालबाट हुने छाडातन्त्र नरोक्ने हो भने निर्वाध रुपमा नेपालबाट पैसा विदेशिने तर राज्यविरुद्ध गतिबिधि हुँदा पनि कुनै कारवाही गर्न नसकिने अवस्था रहेको छ । उनले अधिकारको कुरा गर्दा गैरजिम्मेवार बन्न नहुने बताए ।

सरकारले विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण गर्ने (क्लिन फिड) लागु गरेको छ । तर तीनै च्यानलहरु मोबाइल र इन्टरनेटमार्फत निर्वाध रुपमा विज्ञापन सहित प्रसारण हुँदा क्लिन फिडको औचित्यमाथिनै प्रश्न उठेको छ । यसबारेमा मन्त्रीले केही बुझे जस्तो गरे पनि ठोस कदम चाल्नेबारे भने बोलेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर