पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई आजदेखि खोप – Nepal Press

पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई आजदेखि खोप

काठमाडौं । सोमबारदेखि सरकारले दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप अभियान शुरू गर्ने भएको छ । दोस्रो चरणमा पत्रकार, दुतावास, युएन एजेन्सीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगाइने भएको छ ।

संचारमन्त्री पार्वत गुरुङले बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा पत्रकारलाई खोप लगाउने व्यवस्था गरिएको जनाएका छन् । सरकारले १३ हजारभन्दा बढी पत्रकारलाई खोप लगाउने तयारी गरेको छ ।

सूचना विभागको प्रेसपासको आधारमा सरकारले खोप लगाउने पत्रकारको विवरण तयार पारेको हो । राजधानीमा आइतबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले पत्रकारलाई लगाउने खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरिने बताए ।

मन्त्री गुरुङले कोरोना प्रभावित पत्रकारका लागि राहतको व्यवस्था गर्न सरकारले तयारी गरिरहेको समेत बताए । शनिबार सकिएको खोप अभियानको पहिलो चरणमा स्वास्थ्यकर्मीले खोप लगाएका थिए । पहिलो चरणमा १ लाख ८१ हजार ८५७ जनाले खोप लगाए ।

सिभिल अस्पतालमा पत्रकार र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने भएको छ । शिक्षण अस्पताल र शहीद गंगालाल अस्पतालमा कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइने भएको छ । शुक्रबारसम्म दोस्रो चरणको खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *