सिङ्गापुरबाट ल्याउँदा बिग्रेको ६ हजार टन मलको पैसा सरकारले नतिर्ने – Nepal Press

सिङ्गापुरबाट ल्याउँदा बिग्रेको ६ हजार टन मलको पैसा सरकारले नतिर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरेको ६ हजार २ सय ५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भयो । करिब ६ महिनादेखि वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा थन्किएको सो मलको पैसा भुक्तानी नगरिने ट्रेडिङले जनाएको छ ।

साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले कर्पोरेसनको गोदाममा आएपछि मात्रै मल ल्याउने कम्पनीलाई भुक्तानी दिनुपर्ने प्रावधान रहेको बताए ।

‘कलकत्तामा बिग्रेको मलको पैसा कर्पोरेसनले दिन पर्दैन,’ उनले भने, ‘हामीले मल ल्याउन जिम्मेवारी दिएको सिङ्गापुरको स्वीस सिङ्गापुर कम्पनीले नै त्यहाँको बीमा कम्पनीमा दाबी गर्ने छ ।’

बीमा दाबीका लागि भने सो मल नेपाल ल्याउनैपर्ने हुन्छ । त्यसैले बिग्रिएको भए पनि मल नेपाल ल्याएर बीमा दावीमा सहयोग गर्ने भण्डारी बताउँछन् ।

नेपालमा आउने क्रममा कलकत्तामा आएको सुनामीका कारण पानीले भिजेर मल बिग्रेको हो । अब त्यो मल नेपाल ल्याएर नष्ट गर्न पनि समस्या रहेको भण्डारीले बताए ।

‘मल नेपाल ल्याएर कुनै कम्पनीलाई प्रयोग गर्न दिने वा नष्ट गर्ने भन्ने नेपाल सरकारले निर्णय गर्ने छ,’ उनले भने, ‘यसमा कुनै कानुनी समस्या छैन ।’

२८ करोड मूल्य बराबरको रासायनिक मल भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको थियो । आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्ट ट्रेडिङले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर मल वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको थियो ।

तर, उक्त मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास भएको छैन । सिङ्गापुरबाट पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपुर्‍याइएको र त्यहाँ राखिएको अवस्थामा असार-साउनतिर बंगालको खाडीमा आएको आँधीका कारण मल भिजेको हो ।

१ लाख २५ हजार बोरा मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी आयात गर्ने कम्पनीले नै लिनुपर्ने भएको छ । मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’ मा यत्रतत्र छरिएको अवस्थामा छ ।

डलरमा प्रतीतपत्र खोलेर तेस्रो मुलुकबाट मल ल्याइएकाले नेपाल राष्ट्र बैंकको नियमानुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने कानुनी प्रावधान छ । त्यसैले भिजेको मल भारतको कोलकाता बन्दरगाहबाटै नफर्काएर आयात गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर