मुख्यमन्त्रीविरुद्धको अविश्‍वासको प्रस्ताव पेस हुने भएपछि प्रदेश सभाको बैठक शुरू – Nepal Press
प्रदेश १

मुख्यमन्त्रीविरुद्धको अविश्‍वासको प्रस्ताव पेस हुने भएपछि प्रदेश सभाको बैठक शुरू

विराटनगर । प्रदेश १ सभाको बैठक शुरू भएको छ । मुख्यमन्त्री शेरधन राईविरूद्धको अविश्वासको प्रस्ताव पेस हुने सहमतिपछि बैठक शुरू भएको हो ।

बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गर्ने एकमात्र कार्यसूची राखिएको छ।

विभाजित नेकपाको प्रचण्ड-माधव पक्षका सांसदहरूले मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा यसअघिनै अविश्‍वास प्रस्ताव दर्ता गराएका थिए ।

आइतबार अपरान्ह २ बजे बस्नेगरी बैठक डाकिएको भएपनि कार्यसूचीबारे कार्यव्यवस्था समितिमा सहमति बन्न नसक्दा बैठक निर्धारित समयमा शुरू हुन सकेको थिएन ।

सभामुखले बोलाएको कार्य व्यवस्था समितिको बैठकमा ओली समुहले बैठक स्थगित गर्नु पर्ने अडान राखेको र प्रचण्ड-माधव पक्षले बैठक कुनैपनि हालतमा शुरू गर्नु पर्ने अडान राखेपछि कार्य व्यवस्था समितिको बैठक लम्बिएको थियो ।

भीम आचार्यलाई मुख्यमन्त्री बनाउन माग गर्दै नेकपाका प्रदेश १ का ६६ मध्ये ३७ सांसदले हस्ताक्षर गरेका थिए । सभामुखसहित प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । अब अविश्वास प्रस्तावको पक्षमा ३२ सांसद रहेका छन् भने विपक्षमा ३४ सांसद पुगेका छन् ।

तर, दुवै पक्षले अविश्‍वासको प्रस्ताव पारित गराउन वा सरकारको समर्थनका लागि कांग्रेसको साथ लिनुपर्ने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर