प्रशासन गुहार्दा नभएपछि न्यायका लागि ‘भगवान’ भरोसा – Nepal Press
वैदेशिक रोजगारीमा ठगी

प्रशासन गुहार्दा नभएपछि न्यायका लागि ‘भगवान’ भरोसा

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १३ पिडारी चोकका ३० वर्षीय बद्रि राउतले रोजगारीका लागि विदेश जाने सोचका साथ पासपोर्ट बनाए ।

विदेश पठाउने एजेन्टको काम गर्दै आएका हंसपुरका दशरथ मण्डललाई उनले विश्वास गरेर पासपोर्ट बुझाए । केही महिनापछि रकम पनि मागेपछि सशंकित बनेका राउतले भिसा र टिकट देखाएपछि मात्र रकम दिने अडान लिए ।

मण्डलले उनलाई काठमाडौं लगेर भिसा र टिकट देखाए । राउतले ऋण काढेर लगेको ९५ हजार रूपैया मण्डललाई बैंकमार्फत बुझाए । कतार उड्ने भनेर ढुक्क भई बसेका बद्रि भने मण्डल सम्पर्कविहीन भएपछि आफू ठगिएको चाल पाएर छाँगाबाट खसेजत्तिकै भएका छन् ।

‘साहुबाट ३६ प्रतिशत ब्याजमा काढेको ऋण बढेर ५ लाख पुगिसक्यो तर चुक्ता गर्ने मेरो हैसियत छैन । प्रशासनमाथि पनि विश्वास लाग्न छाडिसक्यो । तर, भगवानले न्याय दिलाउँछन् भन्ने आश छ । एकदिन त पक्कै न्याय पाउँछुनै होला’

राउत भन्छन्, ‘५ पटक काठमाडौं पुगेँ । थप ५० हजार बढी खर्च भयो । तर विदेश पठाइदिएन । अनेक बहाना बनाए उनी भागे । पछि त घरमा पनि बस्न छाडे । विभिन्न निकायमा पुगेँ । ५ वर्ष वित्दा पनि न्याय पाउन सकेनौं ।’

राउत जिल्ला प्रशासन कार्यालयमा रहेको सूचना तथा परामर्श केन्द्र पुगे । त्यहाँका अधिकारीले उनलाई काठमाडौं विभागमा जान भनेपछि वैदेशिक रोजगार विभाग पुगेर क्षतिपूर्ति तथा कारबाहीका लागि एजेण्टविरुद्ध उनले राउतले उजुरी गरेका छन् ।

२०७५ भदौ २६ मा विभागले एजेण्ट मण्डललाई उपस्थित गराउन धनुषा प्रहरीलाई पत्राचार गर्‍यो । तर, कैयौं महिनासम्म उनी पक्राउ पर्न सकेनन् । जनकपुरमानै भेटिएका मण्डललाई साथीको सहयोगमा राउतले नियन्त्रणमा लिएर धनुषा प्रहरीमा बुझाए । प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई विभागमा पठायो । तर, केही दिनमै मण्डल डेढ लाख धरौटी बुझाएर रिहा भए । पीडित राउतले भने एक रूपैयाँ पनि क्षतिपूर्ति पाएनन् ।

‘साहुबाट ३६ प्रतिशत ब्याजमा काढेको ऋण बढेर ५ लाख पुगिसक्यो तर चुक्ता गर्ने मेरो हैसियत छैन । प्रशासनमाथि पनि विश्वास लाग्न छाडिसक्यो । तर, भगवानले न्याय दिलाउँछन् भन्ने आश छ । एकदिन त पक्कै न्याय पाउँछुनै होला’, राउतले नेपाल प्रेससँग भने, ।

एजेन्ट मण्डल रिहा भइसकेको थाहा पाएपछि राउतले पुनः जिल्ला प्रशासन कार्यालय धनुषामा २०७६ असार २४ मा उजुरी दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालयले पनि जिल्ला प्रहरी कार्यालयलाई सोही दिन आवश्यक कारबाही सम्बन्धमा पत्राचार गरेको छ । तर, अहिलेसम्म मण्डल पक्राउ परेका छैनन् ।

राउत अहिले राजमिस्त्रीको काम गर्छन । उनी भन्छन्, ‘सधैँ काम पनि पाउँदिन । काम नभएका बेला घर चलाउन मुस्किल हुन्छ । चार छोरा-छोरी छन् । उनीहरुलाई पढाउन पनि सकिरहेका छैन । बढ्दै गएको ऋण कसरी तिर्ने भनेर सोच्दा रातभर सुत्न पाउँदिन । निद्रा नै हराएको छ ।’

‘एजेन्ट मण्डल जालिम मान्छे हुन्’, उनले भने, ‘जहाँ न्याय गर्ने कुरा हुन्छ, त्यहाँ मण्डलले घुस दिएर दबाइदिन्छन् । मण्डललाई गाउँकै एकजना नेता रमन सिंह भन्ने मान्छेले सहयोग गरिरहेका छन् । त्यसैले अहिलेसम्म न्याय पाएको छैन ।’ राजपाका नेता रहेका सिंह कुन कानूनले पैसा दिलाइदिन्छ भनेर पटक-पटक धम्की दिने गरेको पनि उनले गुनासो गरे ।

चर्को ब्याजमा काढेको पैसा डुबेसँगै विदेश गएर कमाउने र परिवारलाई सुखसयलमा राख्ने राउतको सपना साकार हुन पाएन ।

शनिवार जनकपुरमा समता फाउन्डेशनद्वारा वैदेशिक रोजगार सम्बन्धी आयोजित कार्यक्रममा पीडित राउतले प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवसमक्ष आफ्ना पीडा सुनाए । मन्त्री यादव मन्तव्य राख्ने बेलामा उनले पोखेको पीडा सम्बन्धमा चर्चा त गरे । तर वैदेशिक रोजगारीको मुद्दासम्बन्धी अधिकार संघ सरकारले हेर्ने भएकोले आफूहरूसँग अधिकार नभएको भन्दै पन्छिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर