आजदेखि मौसम सफा: पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी शुरु हुने – Nepal Press

आजदेखि मौसम सफा: पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी शुरु हुने

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै जाने भएको हो ।

बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो ।

अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको मौसमविद् सविना शाक्यले बताइन् ।

पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी शुरु हुने जनाइएको छ । काठमाडौं उपत्यका वरपरका अग्ला डाँडामा हिउँ परेकाले आज बढी चिसो महसुस भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज १ दशमलव शून्य डिग्रीमा झरेको छ ।

काठमाडौँको न्यूनतम तापक्रम शनिबार ३ दशमलव ५ डिग्री सेल्सियस थियो ।

हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १ का पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री र सबै भन्दा धेरै विराटनगरको न्युनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *