राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा पम्फा भुसालको आपत्ति – Nepal Press

राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा पम्फा भुसालको आपत्ति

काठमाडौं । विभाजित नेकपाकी नेतृ पम्फा भुसालले नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला नबनाएको भन्दै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाएकी छन् ।

फेसबुकमा स्टाटस लेखेर भुसालले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने र संविधानले कसैका श्रीमतीलाई प्रथम र बाँकी महिलाहरु दोस्रो नबनाएको बताएकी हुन् ।

शनिवार नेपाल प्रहरी अस्पताल र घुन्सा फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा शाक्यलाई ‘प्रथम महिला’को रुपमा बोलाइएको थियो । त्यसैप्रति कटाक्ष गर्दै भुसालले लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफैं निर्माण गर्ने भन्दै महिलालाई दास बनाउने सामन्ती पितृसत्ता मूर्दावाद भनेकी छन् ।

संसारभर राजतन्त्र नभएका मुलुकका राष्ट्र प्रमुख र कार्यकारी प्रमुखका पत्नीलाई प्रथम महिला भन्ने गरिन्छ । यसको प्रयोग पश्चिमा मुलुकहरुबाट शुरु भएको हो ।

एकपटक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा सँगै गएकी छोरी सुजातालाई समेत प्रथम महिलाको सम्बोधन गरिएको थियो ।

विकीपिडियाका अनुसार प्रथम महिला एउटा अनौपचारिक टाइटल हो जुन राष्ट्रप्रमुख र सरकारका प्रमुखका पत्नी तथा कहिलेकाहिँ छोरी वा अरु नजिकका महिला नातेदारलाई दिइन्छ । राजतन्त्र भएका मुलुकमा भने महारानी, युवराज्ञी, राजकुमारी जस्ता पदावली हुने भएकाले प्रथम महिला भनिन्न ।

कतिपय देशमा प्रथम महिलाको पद भए पनि यो औपचारिक होइन । नेपालमा पनि संविधान र कानुनमा प्रथम महिला कसैलाई भनिँदैन तर विदेश भ्रमणमा प्रथम महिलाको लागि विशिष्ठ सम्मान हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर