वामदेवप्रति झाँक्रीको कटाक्ष : प्रचण्ड-माधवका कुरा ओलीलाई लाएर बार्गेनिङ गरे (भिडियो) – Nepal Press

वामदेवप्रति झाँक्रीको कटाक्ष : प्रचण्ड-माधवका कुरा ओलीलाई लाएर बार्गेनिङ गरे (भिडियो)

काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको विभाजित नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी विभाजनको सहायक कारक वामदेव गौतमको बार्गेनिङ रहेको आरोप लगाएकी छन् ।

शनिवार तनहुँमा आयोजित कार्यक्रममा झाँक्रीले सचिवालयमा बहुमत गुम्ने डरले प्रचण्ड र माधव नेपालले वामदेवले जे भने पनि लतारिंदा ओलीको शक्ति बढेको बताइन् । झाँक्रीले गौतमले प्रचण्ड-माधव पक्षका कुरा लगेर ओलीलाई सुनाउँदै प्रधानमन्त्री पदको बार्गेनिङ गरेको आरोप समेत लगाइन् ।

झाँक्रीले भनिन्–घरी प्रचण्ड माधवतिर जाने ५ जना पुर्‍याउने र ओलीलाई अहिल्यै हटाइहाल्नुपर्छ भन्ने । ओलीकहाँ जाने तिमीलाई हटाउन लागेका छन् मलाई प्रधानमन्त्री भन भन्ने । हाम्रा नेता पनि बहुमत पुर्‍याउन हो हो भन्ने । जब स्वार्थका अगाडि सत्य चुप लाग्छ परिणाम यस्तै आउँछ ।

झाँक्रीले वामदेव चुनाव हारेर आएको दुई महिना नहुँदै प्रधानमन्त्री चाहियो भनेर बालहठमा लागेको आरोप लगाउँदै संविधान संशोधन, उपचुनाव जस्ता गलत प्रयास भएको बताइन् । गौतमले पछिल्लो पटक पनि ओलीसँग प्रचण्ड माधवका कुरा लगाएर बार्गेनिङ गरेको आरोप लगाइन् ।

उनले भनिन्– यता १९ पेज लामो चार्जसिट लेख्ने उता गएर यस्तो गर्दैछन् नि भनेर बार्गेनिङ गर्ने । ओली कमरेड उता पूरा तयारीका साथ लाग्ने यता हाम्रा कमरेडहरु वामदेव हुनुहुन्छ भनेर ढुक्क ।

२०५४ सालमा वामदेवले पार्टी फुटाउँदा आफूहरु उनकै पछि लागेको स्मरण गर्दै २०५६ को चुनावमा शून्य सिट आएपछि हतार हतार एमालेमा फर्किंदा आफूहरु पनि लुरुलुरु फर्किनुपरेको बताइन् । उनले तत्कालीन एमालेमा आफूहरुलाई दशैंका च्यांग्रा जस्तै कम्मर छानेर जिम्मेवारी दिने गरिएको स्मरण समेत गरिन् ।

उनले गौतमको एकता अभियानलाई नाटकको संज्ञा समेत दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर