कांग्रेसद्वारा टुँडिखेल घेराउ, ७७ जिल्लामै आज सरकारविरोधी प्रदर्शन (भिडियो) – Nepal Press

कांग्रेसद्वारा टुँडिखेल घेराउ, ७७ जिल्लामै आज सरकारविरोधी प्रदर्शन (भिडियो)

निशान्त सिंह गुरुङ्ग २०७७ माघ २४ गते १६:१०
२०७७ माघ २४ गते १६:१०

काठमाडौं । संसद विघटनलाई असंवैधानिक भन्दै सडकमा उत्रिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीको टुँडिखेल र ७७ वटै जिल्लामा शनिबार प्रदर्शन गर्दैछ ।

कांग्रेस निकट विभिन्न १८ संघसंगठनले टुँडिखेलमा भेला भएर सरकार विरोधी प्रदर्शन गर्दैछन् । राजधानीका विभिन्न ठाउँबाट र्‍यालीसहित टुँडिखेलमा भेला हुने क्रम जारी छ ।

टुँडिखेल घेराउमा उनीहरुले सरकार विरोधी नारा लेखिएका प्लेकार्ड र कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । कांग्रेसले प्रदर्शनका क्रममा कोभिड प्रोटोकल पालना गर्न समेत आग्रह गरेको छ ।

माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो ।