रामकुमारी झाँक्रीहरुको योगदानको अवमूल्यन गर्न मिल्छ ? – Nepal Press

रामकुमारी झाँक्रीहरुको योगदानको अवमूल्यन गर्न मिल्छ ?

लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिविरुद्ध मलाई कुनै पनि अक्षर कोर्न मन छैन । र, लेख्दिनँ पनि । राष्ट्रपति व्यक्ति भन्दा पनि संस्था हो । त्यसैले संस्थाले गल्ती गर्दैन भन्ने मेरो मान्यता छ ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारी र भण्डारीकै पूर्व पार्टी नेकपा (तत्कालीन नेकपा एमाले) की एक युवा नेतृ रामकुमारी झाँक्रीलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएका केही विषयले भने मेरो मन तान्यो । केही लेखुँ–लेखुँ जस्तो भयो । केही भनुँ-भनुँ जस्तो भयो ।

यो विषय मैले आफ्नै सामाजिक सञ्जालमा लेखेको भए पनि हुन्थ्यो । अन्य कुनै सञ्चार संस्थामा लेखेको भए पनि हुन्थ्यो । तर, मलाई यो विषय नेपाल प्रेसमै उल्लेख गरौं भनेर मात्र यहाँ प्रेषित गरेको हुँ ।

यो विषयमा मैले केही दिनका प्रतिक्रिया पनि नियालेँ । एकपछि अर्को गर्दै (दुवैतर्फबाट) प्रहार भइरहेका छन् । मुलुकको राजनीति जसरी गिजोलिंदैछ, राष्ट्रपति नामको संस्थालाई पनि त्यसैगरी विवादमा तान्ने काम भएको छ । यस्तै कुराले मेरो मनमा हुटहुटी खेलिरह्यो ।

कसैले माने पनि नमाने पनि मुलुकको नेतृत्व युवा पुस्तामा जानै पर्दछ । मुलुकको नेतृत्व युवा पुस्तामा जादाँ पदमा रहने गगन थापा, प्रदीप पौडेल, रामकुमारी, गोकर्ण विष्ट, महेश बस्नेतहरु नै हो । तर, पुरानो पुस्ताको आलोचना गरिरहँदा नयाँ पुस्ताप्रति आममानिस आशावादी देखिनुपर्छ । विश्वस्त हुनुपर्दछ । र त्यसको आधार युवा पुस्ताले देखाइदिनुपर्छ ।

झण्डै एक साता भयो । रामकुमारी झाँक्री सामाजिक सञ्जालमा ‘भाइरल’ नै भएकी छन् । उनको भाषणका अंश श्रव्य, दृश्य र अक्षरसहित पोष्टिएका छन् । थुप्रैले प्रतिक्रिया जनाएका छन् । कतिपयले वाह-वाह गरेका छन् त कतिपयले झाँक्रीलाई धारे हात लगाएका छन् ।

यसले राजनीतिक रुपमा चर्चा त पाएको छ नै । आपराधिक रुपमा पनि चित्रण गरिन थालिएको छ । नेकपाकै (ओली समूहका) केही महिला नेतृले त प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेर ज्ञापन पत्र बुझाउँदै झाँक्री विरुद्ध फौजदारी अभियोगमा मुद्दा चलाउन र उनलाई पक्राउ गरी हिरासतमा राख्न मागसमेत गरेका छन् ।

यी विषयलाई नेपालप्रेसले प्राथमिकताका साथ स्थान दिएको छ । नेपालप्रेसको मुख पृष्ठमा अझै पनि झाँक्रीविरुद्ध लेखिएका लेख राखिएका छन् । स्क्रोल गर्दै जाँदा भेटिन्छन् । आलेख वा समाचार प्रतिक्रियाका रुपमा प्रकाशित विषयले एक पक्षको मन जितेको छ भने अर्को पक्षलाई थप उत्तेजित बनाएको छ । नेपाल प्रेसको लिंक सेयर गर्दै सामाजिक सञ्जालमा उल्लेख गरिएका सामग्रीले त्यस्तै जनाउँछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी पुत्री उषाकिरणले सामाजिक सञ्जालमा उल्लेख गरेको विषय मार्मिक छ । यो सँगै पत्रकार जोशिला देवकोटाले आफ्नै आमालाई सम्बोधन गरेर लेखेको विषय पनि कम मार्मिक छैन । उषा हुन् वा जोशिला, यी दुवै राजनीतिक परिवारका छोरी हुन् । राजनीतिक चेत भएका नेपाली छोरी हुन् अनि राजनीतिक कालखण्डमा पारिवारिक रुपमा पीडा भोगेका बाबु गुमाएका छोरी हुन् । उनीहरुको मनोभावनाप्रति मेरो कुनै असहमति छैन ।

व्यक्ति र पद दुवै हिसाबले विद्या र रामकुमारी दुवै प्रति मेरो सम्मान छ । यी दुवै पछिल्लो नेपाली राजनीतिक व्यवस्था र आन्दोलनका उपज हुन् । त्यसैले मैले यहाँ विद्याको पक्षमा वा रामकुमारीको विपक्षमा अर्थात् रामकुमारीको पक्षमा वा विद्याको विपक्षमा धारणा राख्न खोजेको होइन । तर, एउटा कुरा पक्कै हो त्यो के भने विद्यालाई राष्ट्रपति पदमा पुर्याउने र झाँक्रीलाई सडकबाट चर्को स्वरमा बोल्न छुट दिने औपचारिक निकाय भने २०६२/६३ को जनआन्दोलन नै हो ।

महामहिम राष्ट्रपतिज्यू !

गणतन्त्र नेपालको राष्ट्रपतिको रुपमा तपाईंलाईं पाउँदा म मात्रै होइन, विश्वभरका नेपाली खुसी थिए (राजनीतिक रुपमा भन्दा महिलाका रुपमा) । नेपालको राजनीतिलाई नियालिरहेका विदेशीहरु पनि नेपालमा तीव्र गतिमा देखिएको परिवर्तन र सहभागिताको विषयलाई लिएर चकित थिए ।

हाम्रो संस्कारले तपाईंलाई एकल महिला भन्छ । तर, म तपाईंलाई एकल महिला भन्न चाहन्न । एकल महिला भनिरहँदा तपाईंमाथि अन्याय हुन्छ भन्ने मेरो मान्यता छ ।

तपाईंले पति गुमाउनुभयो । हाम्रो संस्कारले तपाईंलाई एकल महिला भन्छ । तर, म तपाईंलाई एकल महिला भन्न चाहन्न । एकल महिला भनिरहँदा तपाईंमाथि अन्याय हुन्छ भन्ने मेरो मान्यता छ । तपाईं त मदन भण्डारीको निधन लगत्तै भएको उप-निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य हो । त्यसपछि तपाईं पार्टीको नेतृत्व तहका विभिन्न पदमा आसीन हुनुभयो । मतदातादेखि कार्यकर्ता र नेताहरुको साथ पाएकी तपाईं एकल महिला रहनु भएन । महिला नेतृ हुनुभयो । त्यसैको उत्कर्ष रुप हो, तपाईंले पाउनुभएको राष्ट्रपतिको पद ।

राष्ट्रपति भएकै आधारमा तपाईंलाई त्यस्तो कुनै विशिष्ट अधिकार दिइएको छैन । संविधानका अक्षर र धाराले तपाईंलाई थप खुम्च्याइदिएको छ । त्यसका अलावा तपाईंलाई विशिष्ट जिम्मेवारी र दायित्व थोपरिएको छ । तिनै विशिष्ट दायित्वका कारण नै यति बेला तपाईंमाथि प्रश्न तेर्सिएका हुन् । अन्यथा केही होइन ।

संविधानले तपाईंलाई ‘संविधानको पालक र रक्षक’को जिम्मेवारी दिएको छ । यही दुई शव्दले तपाईंको सिंगो राजनीतिक जीवनमा पर्खाल लगाइदिएको छ । जब संविधानको चर्चा हुन्छ, तब तपाईंको नाम आइहाल्छ । तपाईंमाथि प्रश्नचिन्ह उब्जिन्छ ।

हो, यतिबेला तपाईंमाथि प्रश्नको चाङ छ । फरक यत्ति हो, प्रश्न गर्ने शैली फरक फरक देखिएका छन् । सर्वोच्च अदालतमा तपाईंमाथि उब्जेका प्रश्नमा दिनुहँ बहस भइरहेका छन् । सडकमा भइरहेको बहस त्यसैको अर्को रुप हो ।

यसै सन्दर्भमा जोडिन्छ, रामकुमारी झाँक्रीले तपाईंमाथि गरेको टिप्पणी । झाँक्रीले बु्टवल र गोरखामा व्यक्त गरेको धारणा अहिले विवादित अभिव्यक्तिको रुपमा व्याख्या गरिएको छ ।

यहीँ एउटा केही महिना पुरानो प्रसंग कोट्याऊँ । गत वैशाखमा सरकारले सिफारिस गरेका दुई अध्यादेश (संवैधानिक परिषद र राजनीतिक दल) जारी गरेर केही दिनमै फिर्ता लिनुभयो । सरकारले गत मंसिर अन्तिममा फेरि संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिस गर्‍यो । तपाईंले किन्तु परन्तु नगरी स्वीकृत गरिदिनुभयो ।

अध्यादेशबारे राजनीतिक र कानूनी रुपमा विवाद कायमै थियो । ५ पुसमा सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गर्‍यो । तपाईंले दुई घण्टाको बीचमा सदर गरिदिनुभयो ।

हो, यहीँनेर तपाईंमाथि प्रश्नचिन्ह लागेको । संविधानको पालक र रक्षकको भूमिका खोजिएको । जसले तपाईंको भूमिका देखेनन्, आलोचना गरे । अत्तालिनुपर्ने केही छैन ।

तपाईं विगतमा जुन दलमा हुनुहुन्थ्यो, प्रधानमन्त्री त्यही दलका अध्यक्ष हुनुहुन्छ । र, त्यही दलको एउटा ठूलो हिस्सा तपाईं र प्रधानमन्त्रीको विरोधमा सडकमा छ । हो, त्यही दलकी सांसद (विघटित प्रतिनिधिसभा) हुन रामकुमारी झाँक्री ।

तर, तपाईं जत्तिको पढेलेखेकी नेतृले आवेशमा आएर, सभामा सहभागी आफ्ना समर्थकबाट हौसिएर मर्यादा त गुमाउनु भएन नि ।

महामहिमज्यू ,

रामकुमारी झाँक्रीको टाउको फोरिएको तस्वीर हेर्नुस् । अनि मदन भण्डारीको तस्वीर पनि सँगै राखेर सोच्नुस् । तपाईंलाई यो पदमा पुर्‍याउन स्वर्गीय मदन भण्डारीको मात्रै होइन, रामकुमारीको जस्तै फोरिएका थुप्रै रक्ताम्य टाउकाहरुको योगदान छ । जोशिलाका पिता ऋषि देवकोटाजस्ता थुप्रै शहीदको भूमिका छ । तपाईँलाई शीतलनिवासमा यस्तै यस्तै व्यक्तिहरुको योगदानले पुर्याएको हो ।

तपाईंको सेतो सारीको कुरा म गर्न चाहन्न । विधवा महिलाले सेतो सारी लगाउनुपर्छ भन्ने मान्यता राख्दिनँ । तपाईं जस्तो सुकै रंगको पोशाक लगाउनुस्, तर तपाईंले हस्ताक्षर गर्ने कलमको मसीमा रामकुमारीहरुको रगत पसिना पनि मिसिएको छ ।

राष्ट्रपतिज्यू !

तपाईंलाई असजिलो लाग्दैन भने फेरि २०६२/६३ कै कुरा दोहोर्याउँ है । सडकमा पहिले को आयो ? तपाईंलाई हेक्का होला । पहिले नागरिक समाज आयोग, मिडिया आयो अनि राजनीतिक संस्थाका रुपमा विद्यार्थी संगठनहरु आए ।

तपाईं र तपाईं जस्ता नेताहरु सहभागी दलहरु सडकमा आएको त निकै पछि हो । तपाइँहरु सडकमा आउँदा त सयौं रामकुमारीजस्ता विद्यार्थीले टाउको फुटाइसकेका थिए । विद्यार्थीहरुमा जोस थियो, साहस थियो अनि आन्दोलन थेग्ने नैतिकता पनि थियो । नेताहरुमा नैतिकता र साहस त धेरैपछि अर्थात् सडकमा जनता ओर्लिसकेपछि मात्रै देखिएको हो । तपाईं पनि त त्यसपछि आउनुभएको हो नि, होइन र ?

त्यतिबेलाको सक्रिय पत्रकार (म) अर्थात् सक्रिय संवाददाताले तिनै विद्यार्थी नेताहरुसँग दैनिक रुपमा प्रहरीको लाठी र अश्रु ग्याँसको सामना गर्नुपर्थ्याे । तर, तपाईं जस्तै नेताहरु त तत्कालीन राजाको मुख ताकेर बस्नुभएको थियो नि, होइन र ?

केही कुरा झाँक्रीलाई पनि

रामकुमारीजी, तपाईंले दुई दिन अघि काठमाडौंमा दिएको एक अभिव्यक्ति हेरेँ । तपाईंले गोरखामा राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको रहेछ ।

त्यहाँ तपाईंले आफ्नी आमासँग तुलना गर्दै भन्नुभएको कुरा यथार्थपरक थियो । तर, तपाईं जत्तिको पढेलेखेकी नेतृले आवेशमा आएर, सभामा सहभागी आफ्ना समर्थकबाट हौसिएर मर्यादा त गुमाउनु भएन नि ।

तपाईंले नै लडेर ल्याएको व्यवस्था दिगो र मर्यादित बनाउने दायित्व पनि तपाईंहरुकै होइन र ?

लोकतन्त्रमा असहमति हुन्छ । राख्न पाइन्छ । तर, त्यसको शैली परिपक्व र भलाद्मी भए देख्ने र सुन्ने सबैलाई सहज हुनेथियो कि ?

कसैले माने पनि नमाने पनि मुलुकको नेतृत्व युवा पुस्तामा जानै पर्दछ । मुलुकको नेतृत्व युवा पुस्तामा जाँदा पदमा रहने गगन थापा, प्रदीप पौडेल, रामकुमारी, गोकर्ण विष्ट, महेश बस्नेतहरु नै हो । तर, पुरानो पुस्ताको आलोचना गरिरहँदा नयाँ पुस्ताप्रति आममानिस आशावादी देखिनुपर्छ । विश्वस्त हुनुपर्दछ । र त्यसको आधार युवा पुस्ताले देखाइदिनुपर्छ ।

Twitter : @aryalsyangja

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.