७९ नेपाली अमेरिकी इमिग्रेसन जेलमा, बाइडेनको बिल पारित भए रिहा हुने प्रतीक्षामा – Nepal Press

७९ नेपाली अमेरिकी इमिग्रेसन जेलमा, बाइडेनको बिल पारित भए रिहा हुने प्रतीक्षामा

काठमाडौं । अमेरिकी अध्यागमन जेलमा ७९ कागजपत्रविहीन नेपाली रहेको खुलेको छ । उनीहरुमध्ये अधिकांश मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका छन् ।

अमेरिकी अध्यागमन र जेल हेर्ने निकाय आइसका अनुसार न्यूयोर्क, टेक्सस, क्यालिफोर्नियालगायतका जेलमा यति संख्यामा नेपाली रहेको खुलेको हो । जेलमा रहेका नेपालीमध्ये अधिकांशले देश निकालाको आदेश पाइसकेका छन् । यद्यपि उनीहरुले एसाइलमका रुपमा आवेदन चाहिं दिएका छन् ।

कतिपयको मुद्दालाई अध्यागमन अदालतले अस्वीकार गरेपछि बोर्ड अफ इमिग्रेसनमा सुनुवाइ भैरहेको छ । कतिपय चाहिं ट्राभल डकुमेन्ट नभएको कारण अमेरिका निकाला हुनबाट जोगिएका छन् । एरिजोना, जर्जिया र अलाबामा राज्यमा पनि नेपाली जेलमा रहेको जनाइएको छ ।

कोभिड महामारी र पूर्वट्रम्प प्रशासनले मेक्सिको सीमामा कडाइ गरेपछि लुकिछिपी अमेरिका पुग्ने नेपालीको संख्यामा कमी आएको जनाइएको छ । राष्ट्रपतिमा बाइडेन आएपछि अमेरिकी जेलमा रहेका नेपालीमा रिहा हुने आशा अभिव्यक्त भएको छ ।

किनभने बाइडेनले कार्यभार सम्हालेको पहिलो दिनमै संसदमा पठाएको बिलमा जनवरी १ अगाडि आएका कागजपत्रविहीनलाई ग्रीनकार्डको प्रक्रियामा लैजाने उल्लेख छ । यसले इमिग्रेसन जेलमा रहेका नेपालीलाई पनि फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

उक्त बिल पारित भएमा २०२१ को जनवरी १ सम्म अमेरिकामा कागजपत्रविहीन भएका नेपालीलाई ग्रीनकार्ड र नागरिकता प्राप्तिको बाटो खुल्नेछ । यद्यपि, उक्त बिल पारित हुने वा नहुने भन्ने कुरामा निधो छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर