नारायणहिटी अगाडि ओलीको भाषणः के खोले, के लुकाए ? – Nepal Press

नारायणहिटी अगाडि ओलीको भाषणः के खोले, के लुकाए ?

काठमाडौं । आफूमाथि केन्द्रित टिप्पणीमा छिटो र धारिलो प्रतिक्रिया जनाउने प्रधानमन्त्री केपी ओलीको एउटा विशेषता नै हो । इतरसमूहका नेताले गर्ने भाषण मात्र होइन, सामाजिक सञ्जालमा लेखिने स्टाटसमा पनि प्रतिक्रिया दिन भ्याउँछन् उनी ।

पछिल्ला दिनमा ओली दिनदिनै भाषण गरिरहेका छन् । प्रत्येक भाषणमा मिडियालाई नयाँ–नयाँ खुराक पनि दिइ नै रहेका छन् । त्यसैले आजको जनसभामा उनले नयाँ कुरा के बोल्लान् भन्न जनचासो थियो । पार्टीका एक नेताले ऋषि धमलाको शैलीमा ‘२३ गतेको सभामा प्रधानमन्त्रीले विशेष खुलासा गर्नुहुने’ पूर्वघोषणा गरेका थिए । कार्यक्रमस्थलका रुपमा नारायणहिटी दरबार चयन गरिएपछि साँच्चै देशमा केही हुँदैछ कि भन्ने कतिपयलाई परेको थियो ।

तर, ओलीले विशेष खुलासा केही पनि गरेनन् । न त, नारायणहिटी अगाडि कार्यक्रम गर्नुको कुनै राजनीतिक अभीष्ट भेटियो । नारायणहिटीको प्रांगणबाट ओलीले राजतन्त्रको विषयमा केही नयाँ कुरा बोली पो हाल्छन् कि भन्ने आशा गरेकाहरु निराश बने । ओलीले स्पष्ट शब्दमा भने, ‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रबाट तलमाथि हुँदैन ।’

आफूले राजतन्त्रका विरुद्ध आधा शताब्दी लडाईं लडेको सुनाउँदै उनले लोकतन्त्र-गणतन्त्रप्रति प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिए ।

‘आज बिहानसम्म पनि भन्दै थिए, ओलीले राजतन्त्र फर्काएको घोषणा गर्छ रे’ उनले भने, ‘आधा शताब्दीभन्दा बढी समय प्रजतन्त्रका लागि जुन केपी ओली लड्यो, उसैले राजतन्त्र फर्केको घोषणा गर्छ रे । यो संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई कसैले समाप्त पार्न सक्दैन । कार्यान्वयन गरेर अगाडि जान्छ । यो प्रणालीले विकासमा बाधा दिएको छैन ।’

एउटा विषय त क्लियर भयो । तर, जनताले सुन्न चाहेको अर्को विषयलाई चाहिं उनले पन्छाए । सम्भवतः जानीबुझी । त्यो विषय हो हिन्दू राज्य । पछिल्लो समय पशुपति मन्दिरमा पूजाआजा गरेको देखि आफ्ना भाषणमा हिन्दूधर्मप्रति अनुराग देखाइरहेका ओलीले नेपाललाई फेरि हिन्दू राज्यमा फर्काउने आशा कतिपयमा छ । तर, ओलीले यो विषय नै उठाएनन् । त्यसो त उनले भाषण गरेको भरमा हिन्दूराज्य फर्किने पनि थिएन । तर, उनले त्यसतर्फ सामान्य संकेत पनि नगर्दा हिन्दूराज्यका पक्षपाती पनि निराश बनेका छन् ।

हिजो इतर समूहले गरेको नेपाल बन्द र आजको खराब मौसमका बाबजुद सभामा उपस्थिति बाक्लै थियो । ओलीले त यसलाई अहिलेसम्मकै ठूलो आमसभाको संज्ञा दिन भ्याए । आजको सभाको उपस्थितिले नै नेकपाको मूलधार कुन हो भन्ने प्रष्ट हुने उनको दाबी थियो ।

आफ्नै शैलीमा ओलीले भने, ‘मूल पार्टी कुन हो भनेर अब पनि बताइरहनुपर्छ र ? आजबाट टुंगो लाग्यो । हामी हौं मूल पार्टी ।’

ओलीले आज प्रचण्ड र माधवकुमार नेपालको त्यति धेरै आलोचना गरेनन् । उनीहरुको क्यारिकेचर पनि गरेनन् । भाषण सुनेर हाँस्न आएकाहरु पनि ओलीको भाषणबाट पूरा सन्तुष्ट हुन सकेनन् । ओलीले बरु विकास–निर्माणका गफ र महत्वाकांक्षी योजनाहरु सुनाएर सहभागीलाई केहीबर ‘बोर’ गरे ।

हिजो प्रचण्ड–माधव समूहले गरेको नेपाल बन्दलाई लिएर ओलीले गरेको प्रहार चाहिं चोटिलो थियो ।

‘एउटी बुढी आमाले डोकोमा बेच्न राखेको तरकारी, टमाटर सडकमा पोखिदिएर क्रान्ति गर्न खोज्दैछन्’ ओलीले भने । आन्दोलनकारीले क्षति पुर्याएका जनतालाई सरकारले क्षतिपूर्ति दिने बताएर उनले सहानुभूति बटुल्ने प्रयास गरे ।

‘पञ्चर्‍याली’ होइन, पञ्चेबाजा र्‍याली

ओली पक्षको आमसभालाई हियाउँदै प्रचण्ड–माधव पक्षले ‘पञ्चे र्‍याली’को संज्ञा दिएको थियो । आमसभामा पञ्चे बाजासहितको र्‍याली भने देखिए । कुनै राजनीतिक जुलुसभन्दा विवाह उत्सवमा गएको प्रतीत हुन्थ्यो पञ्चेबाजाको धुनका कारण । त्यसो त सभा औपचारिक रुपमा शुरु हुनुभन्दा करिब दुई घण्टाको समयमा विभिन्न सांगीतिक प्रस्तुति भएका थिए । सभामा बाजागाजासहित थुप्रै र्‍यालीको सहभागिता देखिन्थ्यो ।

चिनिएका अनुहार कम

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित प्रचण्ड–माधव पक्षले गरेको आमसभामा केन्द्रीय नेतृत्व नै खटिएर र्‍यालीको नेतृत्व गरेका थिए । प्रचण्ड, माधव नेपाललगायतका मुख्य नेता पनि र्‍यालीमा सहभागी भएर सडकमा फन्को लगाएका थिए । ओली पक्षको र्‍यालीमा भने केन्द्रीय नेतृत्वले अगुवाई गरेको देखिएन । विभिन्न र्‍याली आउँदै सभास्थल भरिंदै गर्‍यो । नेताहरू पनि आफ्नो सुविधा अनुसार मञ्चमा गएर बसे । प्रधानमन्त्री ओली पनि सीधै मच्चमै आए ।

मच्चमा ठाउँ नपाएका मन्त्री

आमसभालाई ओलीसहित चारजनाले सम्बोधन गरे । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रदेश २ का नेता सत्यनारायण मण्डलले पनि बोल्न पाए पनि महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले भने सम्बोधनको मौका पाएनन् ।

आमसभाको मुख्य मञ्चमा ओली क्याबिनेटका उपप्रधानमन्त्री पोखरेल बाहेकले ठाउँ पाएनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ भने कार्यक्रमको अध्यक्षता गरेका कारण मञ्चमा बसेका थिए । अरु सबै मन्त्री, मुख्यमन्त्री र सल्लाहकार भने मुख्य मञ्चको साइडमै राखिएका कुर्सीमा बसे । उनीहरू कसैले पनि प्रत्यक्ष ओलीको अनुहार हेरेर भाषण सुन्न पाएनन् । नेताहरूले गरेको सम्बोधनलाई उनीहरूले मञ्चअघि राखिएको डिजिटल पर्दामा हेरेका थिए ।

यातायात प्रभावित हुन नदिने कोसिस

बीच सडकमा सभा गरेर सार्वजनिक यातायात प्रभावित पारेको भन्दै प्रचण्ड–माधव पक्षले आलोचना खेप्नु परेको थियो । ओली पक्ष भने यसमा केही सजक भएको जस्तो देखियो । सभाका लागि नारायणहिटी अगाडिको सडक रोजिएकाले पनि ठूलो मात्रामा सवारी साधनको आवतजावत प्रभावित भएन । र्‍याली चलिरहेकै बेला पनि जमलबाट दबारमार्गको महेन्द्रको सालिक भएर गुड्ने सवारी साधन पनि बेला–बेला गुड्न पाएका थिए । ट्राफिक प्रहरीले संयोजन गरेर र्‍याली केही खुकुलो हुने बित्तिकै सवारी साधन गुड्न दिइरहेको थियो । आमसभामा आएकाहरुले पनि त्यसमा सहयोग गरेका देखिन्थे ।

ओलीलाई हौस्याउने हुटिङ

ओलीले सम्बोधन गरिरहेका बेला सभामा सहभागी युवाहरूले निकै हुटिङ मच्चाए । उनीहरुले पटक–पटक ‘केपी ओली आई लभ यू’ को रमाइलो नारा लगाइरहेका थिए । यसले ओली पनि हौसिएका र खुसी देखिन्थे । हुटिङ मच्चाइरहेका युवालाई सम्हाल्न ओली भाषण गर्दागर्दै केहीबेर रोकिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर