प्रचण्ड-माधवको ‘कन्भिन्सिङ’ लाइन : ओलीले देश कब्जा गर्न लागे, एकजुट बनौं (भिडियो) – Nepal Press

प्रचण्ड-माधवको ‘कन्भिन्सिङ’ लाइन : ओलीले देश कब्जा गर्न लागे, एकजुट बनौं (भिडियो)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनसँगै नेताहरूबीच एकअर्काबीच दिनहुँ जुहारी चलिरहेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै प्रचण्ड-माधव पक्ष आन्दोलनरत छन् ।

संघर्षकै क्रममा विहीबार सो पक्षले देशव्यापी आम हड्ताल गर्‍यो । स्थायित्व र विकासका लागि झण्डै दुई तिहाईको मत दिएर सत्तामा पुर्‍याएका दलका नेताहरूबीच जुँगाको लडाइँले नागरिकले फेरि दु:ख पाउन थालेको कतिपयले टिप्पणी गरेका छन् । तर, विधि र प्रक्रिया मिच्दै केपी ओली तानाशाह बनेको भन्दै प्रचण्ड-माधव पक्षले सबैलाई आन्दोलनमा होमिन आव्हान गरिरहेको छ ।

अध्यक्षद्वय दाहाल र नेपाल दुवैजनाले अहिलेको आन्दोलन ओलीसँगको जुहारीको रूपमा मात्र नबुझेर लोकतन्त्रको रक्षाको लागि गरिएको संघर्ष भनेर बुझ्‍न आग्रह गरेका छन् ।

शुक्रबार विहान ललितपुरमा पत्रकारसँग कुरा गर्दै नेपालले भने, ‘केपीले पार्टी त कब्जा गरे गरे देश नै कब्जा गर्न लागे। र, सिंगै देशको प्रजातन्त्रको घाँटी निमोठ्दै-निमोठ्दै-निमोठ्दै गइरहेका छन् । यो नेकपाको मात्र आन्तरिक मामिला हैन। लोकतन्त्र र संविधानको रक्षाको लागि हामी जिल्ला-जिल्लामा पुग्यौं । अब यो हाम्रोमात्र मामिला रहेन ।’

आर्मीका गाडी गुडाएर कोही नतर्सिने उनले बताए । ‘केपी ओलीसँग इतिहासले एक-एक हिसाबको बदला लिन्छ’, उनले दाबी गरे ।

अर्का अध्यक्ष प्रचण्डले केपी ओलीले राज्यसत्तालाई जंगली रूपमा कब्जा गरेर गुण्डाराज चलाउन थालेको आरोप समेत लगाए । अति भएर मात्रै आम हड्ताल गर्न सडकमै उत्रिनुपरेको उनले बताए । ‘केपीले राज्यसत्तालाई जंगली रूपमा ‘क्याप्चर’ गरे । संवैधानिक अंगका नियुक्ति र भूमि आयोगको कुराले तुरून्तै प्रतिवाद गर्नुपर्ने भयो जनताले साथ दिए ’, उनले भने ।

आन्दोलनमा युवा पंक्तिले साथ दिएकोमा आफूहरू उत्साही भएको प्रचण्डको भनाइ थियो । ‘यो देशका सबैभन्दा राम्रो ब्रेन यो प्रतिगमननै हो भनेर आन्दोलनमा छन् । लोकतन्त्रको पक्षमा को छ ? कति छन् ? भनेर पो हेर्ने हो मान्छेको टाउको गन्ने होइन’, दाहालले भने, ‘केही पछि जनता हप्तौंसम्म सडकमा हड्तालका लागि आउँने स्थिति बन्छ । त्यो बेला हाम्रो समर्थन रहन्छ । संसद विघटनलगत्तै संघर्ष शुरू गर्न सवै राजनीतिक दलसँग छलफलको हामीलेनै नेतृत्व गर्‍यौं । राजपाले हाम्रै भाषामा विरोध गरेको छ । कांग्रेसका प्रवक्ताले स्पष्ट विरोध गरिरहेका छन् । शेरबहादुरजीको केही यताउति हुनसक्छ ।’

‘संसद विघटन गरेर मुलुकलाई ठूलो राजनीतिक र संवैधानिक संकटमा धकेलिएको छ । केपीजीले फेरि देशमा गृहयुद्ध होस् भन्ने चाहेको हो ? शान्ति र आन्दोलनको पर्यायको रूपमा आएको संविधानलाई कुल्चिनु भनेको शान्ति भंग गर्ने कुरा पनि हो’, दाहालले थपे ।

ओलीसँग आफैंले वाम गठबन्धन र पार्टी एकताको प्रस्ताव गरेको भन्दै उनले अब त देशमा विकास गरौंला, जनताका काम गरौंला भन्ने लाग्दालाग्दै गर्न नसकिएकोमा आत्समीक्षा गर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको घटनासम्म आइपुग्दा के-के भयो भनेर जनतालाई स्पष्ट पार्ने भन्दै दाहालले, ‘हामी स्वेतपत्रनै जारी गर्दैछौ । हामी असक्षम र पलायन भएका होइनौं राष्ट्र निर्माण र लोकतन्त्र रक्षा र सत्यको लडाइँमा छौं । पदको लडाईंको लागि आन्दोलन हैन भन्ने बुझाउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर