ओलीले नारा लगाउँदै भने- अस्थिरता होइन चुनाव चाहियो (भिडियो) – Nepal Press

ओलीले नारा लगाउँदै भने- अस्थिरता होइन चुनाव चाहियो (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता अन्त्यका लागि चुनावमा जानु आवश्यक भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षद्वारा आयोजित जनसभामा उनले चुनावको पक्षमा नारासमेत लगाए ।

‘तपाईंहरुले सबै काठमाडौंवासीले एकस्वरमा भन्नुस्, अस्थिरता कि चुनाव ?’ ओलीले सोधे । (भीडबाट चुनाव-चुनाव आवाज आउँछ ।)
त्यसपछि ओली आफैं नारा लगाउन थाले ।

‘अस्थिरता होइन, चुनाव चाहियो… अस्थिरता होइन, चुनाव चाहियो… ।’

नारा लगाइसकेर भने, ‘अब सबैले सुने होला । अब देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ, कसको सरकार बन्नुपर्छ ’, ओलीले अगाडि थपे, ‘निर्वाचन हुँदा देश संकटमा पर्छ रे, जनताले आफ्नो फैसला दिँदा देश संकटमा पर्छ ? केही मान्छेहरूले कुनामा बसेर षडयन्त्र गरेर अरुका लागि काम गर्दा देश संकटमा पर्ने हो ।’

प्रधानमन्त्रीले आफूले गरेको संसद विघटन असंवैधानिक नभएको दाबी गरे । अन्य देशका दृष्टान्त पनि उनले पेस गरे । ‘बेलायतमा लिखित संविधान छैन, त्यहाँ प्रधानमन्त्रीले संसद विघटन गर्ने भनेर कतै लेखेको छैन । तर, प्रधानमन्त्रीले अस्ति भर्खर संसद विघटन गरेर चुनाव गराउनुभो । यसरी काम गर्न दिइएन भने प्रधानमन्त्रीले संसद विघटन गर्छ । ताजा जनादेश लिन्छ । हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने प्रवृत्तिको जवाफ चुनावबाट खोज्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर