ओली पक्षको शक्ति प्रदर्शन चलिरहँदा मौसम बिग्रियो, वर्षातको सम्भावना – Nepal Press

ओली पक्षको शक्ति प्रदर्शन चलिरहँदा मौसम बिग्रियो, वर्षातको सम्भावना

 

काठमाडौं । राजधानी काठमाडौंसहित देशैभरको मौसम बिग्रिएसँगै केपी ओली पक्षीय नेकपाले आयोजना गरेको शक्ति प्रदर्शन तथा जनसभा प्रभावित हुने देखिएको छ ।

काठमाडौंको आकाश धुम्मिएसँगै पानी पर्न थालेको छ । देशका विभिन्न भागमा मौसम बदलिएपछि त्यसको असर काठमाडौंमा पनि परेको छ ।

ओली पक्षको आमसभा शुरु नहुँदै पानी पर्ने संकेत देखिएपछि सहभागी हुन आएकाहरु चिन्तित देखिएका छन् ।
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ ।
उच्च हिमाली भूभागमा हिमपात भएको छ ।

आज अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘पश्चिमी वायु सक्रिय नभएकाले ठूलो वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यम वर्षाको सम्भावना मात्र रहेको छ’, मौसमविद् अर्यालले भने ।

यस प्रणालीको प्रभाव शनिबार बेलुकासम्म रहने र आइतबारदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ ।

देशभर राति आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर