प्रचण्ड-माधव समूहको दावी– पूर्वमन्त्रीहरु झा र यादवमाथिको प्रहरी आक्रमण नियोजित – Nepal Press

प्रचण्ड-माधव समूहको दावी– पूर्वमन्त्रीहरु झा र यादवमाथिको प्रहरी आक्रमण नियोजित

जनकपुरधाम । प्रदेश–२ को राजधानी जनकपुरको शिव चोकमा विहीबार झडपको नाममा प्रहरीले पूर्वमन्त्रीद्वय रामचन्द्र झा र मातृका यादवलाई मार्न खोजेको आरोप नेकपा प्रचण्ड–नेपाल समूहले लगाएको छ ।

जनकपुरस्थित पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समूहका जिल्ला संघर्ष समितीले पत्रकार सम्मेलन गरी शान्तिपूर्ण जुलुसमा सरकारको मतियार भएर पूर्वाग्रही रुपमा ५० औं राउण्ड गोली, आश्रुग्याँस, लाठी र ढुंगा प्रहार गरेको भन्दै घटनामा संलग्न सुरक्षाकर्मीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

नेकपा प्रदेश २ संसदीय दलका नेता शत्रुधन मण्डलले सुरक्षाकर्मी योजनावद्ध ढंगले टाउँको लाठी प्रहार गरी केन्द्रीय नेताहरुको ज्यान लिने प्रयास गरेको दावी गरे । मण्डलले भने, ‘ज्यान मार्ने योजना नभएको भए टाउँकोमा लाठी प्रहार गर्दैन्थ्यो । हात खुट्टामा लाठी हान्दा हुन्थ्यो नि ।’ उनले सामान्य अवस्थामा पनि जनक चोकबाट दौडेर शिव चोक आएका सुरक्षाकर्मी अन्धाधुन्द गोली चलाएको उनले बताए ।

संघर्ष समिति धनुषाका संयोजक सुधीर प्रसाद साहले घटनामा संलग्नहरुमाथि कारबाही नभए आफूहरु पनि सोच्न बाध्य हुने चेतावनी दिए । ‘आम हड्तालका बेला केहि गाडी शिव चोकमा आइपुग्यो । हामीले सम्झाउँदा उनीहरु माने । तर सुरक्षाकर्मी केन्द्रीय नेताको ज्यान लिने पूर्वयोजना बमोजिम ढुंगा र गोली प्रहार गर्न थाले । त्यसपछि हामी पनि बाध्य भएर ज्यान जोगाउन प्रतिकार गरेका हौं ।’

बिहीवार दिउँसो भएको झडपमा पूर्वमन्त्रीद्वय झा र यादव, शहीदनगरका मेयर उदय बरबरिया, नेताहरु कारिराम साह र प्रदीप साह गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार प्रादेशिक अस्पतालमा सम्भव नभएपछि काठमाडौं लगिएको छ ।

झडपका क्रममा प्रहरीले ११ जना प्रचण्ड–नेपाल समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरुको रिहाइको समेत माग गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *