प्रधानमन्त्रीज्यू, देशको एउटा मेजर सर्जरी गरिदिनुस् – Nepal Press
प्रधानमन्त्रीलाई खुलापत्र

प्रधानमन्त्रीज्यू, देशको एउटा मेजर सर्जरी गरिदिनुस्

प्रिय प्रधानमन्त्रीज्यू,

अन्तरमनमा अविच्छिन्न रूपमा कुरा खेल्न थालेपछि, अभिव्यक्त गरी आफ्नै मनलाई हलुंगो बनाउन यहाँलाई यो पत्र लेख्दैछु । अचेल हजुरको पक्ष भएर बोल्न र लेख्न ठूलै साहस जुटाउनुपर्ने अवस्था छ, लखेटिने संभावनाको कारण । जनस्तरबाट त केही हुँदैन तर ‘मिडिया’ ले जरूर लखेट्छ । व्यक्ति केपी ओली मन नपरेको कारण आफ्नै देशका प्रधानमन्त्रीको हुर्मत लिन कुनै कसर बाँकी नराख्ने ‘मिडिया’ ले हामीलाई भेट्यो भने त कत्लेआम नै गर्छ भन्ने गहिरो छाप मेरो मनमा परेको छ ।
म एक सामान्य सरकारी कर्मचारी हुँ, जो विगत १२ वर्षदेखि सुब्बा पदमा कार्यरत छु । हुन त हजुरले नै नियुक्त गरी पठाएको ‘हाकिम’ बाट म बहुतै प्रताडित छु तर त्यसको बदला केपी ओलीलाई गाली गरेर लिने अतिरञ्जनामा म विश्वास गर्दिनँ । मैले मेरो वास्तविक नाम र तस्वीर सार्वजनिक गर्दा त्यसले मेरो कार्यालयको अवयवहरूमा नकारात्मक प्रभाव पर्न सक्ने भयका कारण छद्म नाम प्रयोग गरी यो पत्र लेखेको छु ।

प्रिय प्रधानमन्त्रीज्यू,

हजुर पहिलोपटक प्रधानमन्त्री भएदेखि नै लखेट्न थालेको मिडियाले अहिलेसम्म पनि आफ्नो स्वरुप बदलेको छैन । कारण के हो मलाई थाहा छैन । राष्ट्रिय स्वार्थ प्रवद्र्धनको पक्षमा मिडियाले यसो गरिरहेछ भन्ने मानौं भने पनि मेरो पुस्ताले हजुर जति अडान भएको नेता अरू देखेको छैन । जनताको पक्षमा काम भएन भनेर मानौं भने फेरि यत्तिको काम त यसअघि कहिल्यै भएको थिएन भन्ने आभास मलाई छ । भ्रष्टाचारका काण्डहरू भनेर कहिलेकाहीं जबर्जस्त माहोल बनाउन खोजिन्छ, तर अपुष्ट हल्लाहरूको पछि लागेर स्वार्थपूर्ण बदख्वाईंका लागि परिचालित हुन सचेत नागरिकको रूपमा मेरो मनले मान्दैन । यसो लेखिरहँदा, प्रश्न स्वाभाविक रूपमा उठ्छः के त्यसो भए रामराज्य छ त ? निःसन्देह छैन ।

जनअपेक्षाहरूको तुलनामा परिपूर्ण अत्यन्त न्यून नै छ तर सरकारी नीतिनियम र प्रयासहरू आधुनिक समाज निर्माण उन्मुख छन् कि छैनन् भन्ने कुरालाई पूर्णतः नजरअन्दाज गर्न मिल्दैन । मैले देख्दा त धेरै कुरा सुधारोन्मुख देख्छु । विकासका अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले पछिल्लो समय निरन्तर सुधार गर्दै गइरहेछ । देशका ऐन नियम कानूनहरू आधुनिक समाजसापेक्ष हुने गरी निर्माण र संशोधन हुँदै गइरहेछन् । लगानीमैत्री वातावरण निर्माणका लागि सुधारका कार्यहरू भइरहेका छन् । कृषि र पर्यटनमा कायापलटको संभावना देखिंदै छ । भौतिक संरचनाहरूको निर्माण र पुनर्निर्माणले गति प्राप्त गरेको छ ।

खानेपानी, बिजुलीलगायतका आधारभूत आवश्यकताको आपूर्ति दूरदराजसम्म भइरहेको छ । अझै महत्वपूर्ण त जनतामा आशाको सञ्चार गरी सकारात्मक परिवर्तन ल्याउन सकिने आधार बनेको छ । तर अचम्म, सकारात्मक परिवर्तनका कुराहरू बहुतै निर्दयीपूर्ण तरिकाले दबाएर, काल्पनिक र सस्तो विषयले समाचारको रूपमा मुख्य मान्यता पाउनु आफैंमा अतिशयोक्तिपूर्ण देखिंदैछ । निर्माणको कुरा, उपलब्धिपूर्ण कुरा केही पनि नलेखेपछि र जे छैन त्यो मात्रै लेखेपछि सर्वसाधारणले नकारात्मक धारणा बनाउने कुरा त स्वाभाविकै भयो ।

पत्रकारिताकै विद्यार्थी भएको कारण पत्रकारिताका सामान्य सिद्धान्त, परिधि र संहिताको बारेमा मलाई जानकारी छ । तर मिसनलाई पत्रकारिताको जलप लगाएर गरिने अभ्यासले कुन हदको विध्वंस गर्न सक्छ भन्ने कुराको साक्षी अहिले नेपाली समाज भइरहेको छ भन्ने मेरो बुझाइ रहेको छ । पत्रकारिता आलोचनात्मक हुनु सिद्धान्ततः स्वीकारयोग्य कुरा हो तर आलोचनाको आवरणमा नकारात्मकता र गालीगलौज मात्र बेची निराशा छर्नु किमार्थ पनि सही होइन । तर भइरहेछ त्यस्तै । यसले नेपाली समाजको चेतनालाई पूर्णतः नकारात्मक बनाउने र एक हिसाबले मानसिक भयको शिकार बनाउने सम्भावना देखिंदैछ ।

‘मिडिया लिट्रेट’ व्यक्तिले त प्रायोजित समाचारहरूको नियत थाहा पाउन सक्ला तर साधारण व्यक्तिले त जे लेख्यो त्यही सत्य हो भनी पत्याउँछ र धारणा बनाउँछ । प्रश्न उठ्छ, मिडियाले ती निहत्थाहरूको बुई चढेर आफ्नो स्वार्थको प्रवद्र्धन गर्न पाउँछ कि पाउँदैन ? निहत्थाहरूको काँधमा बन्दूक राखेर केपी ओलीलाई ताकिरहेका ‘मिडिया’ ले कस्तो लोकतन्त्रको पैरवी गरिरहेका हुन्, खै ? लोकतन्त्र हो, ‘मिसन’ चलाउन पनि पाइएला तर त्यो घोषित हुनुपर्छ । निष्पक्ष पत्रकारिताको नारा दिएर ‘मिसन’ चलाउने काम लोकतन्त्र अनुकूल मान्न सकिन्न ।

प्रधानमन्त्रीज्यू,

निःसन्देह म तपाईंको वाक्कलाको ‘फ्यान’ हुँ, तपाईंले लिने अडानकोे ‘फ्यान’ हुँ, तपाईंको आत्मविश्वासकोे ‘फ्यान’ हुँ र तपाईंको व्यक्तित्वकोे ‘फ्यान’ हुँ । हुन त मिडियाले तपाईंलाई ‘उखान टुक्के’ भनी परिचय स्थापित गर्न खोजेको देखिन्छ तर मेरो बुझाइ भने भिन्दै छ । सार्वजनिक अभिव्यक्तिहरूमा उखान टुक्काको बिम्बात्मक प्रयोग आफैंमा एउटा कला हो, जसले आफूले अभिव्यक्त गर्न खोजेको कुरा श्रोतालाई बुझाउन सहज बनाइदिन्छ । हर कोहीमा यस्तो क्षमता हुँदैन ।

अर्को, विरोधीहरूले तपाईंलाई अनेक तरिकाबाट लाञ्छित गर्न खोजेको देखिन्छ जसको प्रतिरक्षा तपाईंले सबैले सहजै बुझ्ने गरी गरिदिनुहुन्छ । नियतवश लगाइएका आरोपहरूको सार्वजनिक प्रतिरक्षा तपाईं आफैंले गरिदिंदा शायद आरोपित गर्नेहरूको बजार संकुचन हुन्छ । अनि भनिदिन्छन् ‘उखान टुक्के’ । खै कस्तो लोकतन्त्र हो, कस्तो स्वतन्त्रता हो– विना तथ्य कसैलाई आरोपित गरिदिने, त्यसको कतै पुष्ट्याईं हुनु नपर्ने, प्रतिरक्षा गर्नु अपराध ठहरिने र प्रचारको भरमा दोषी करार गरिने । अखबार, टिभी, रेडियो वा अनलाइन नामको कुनै माध्यम प्रयोग गरेर अरूको हुर्मत लिने कार्य के साँच्चै स्वतन्त्रता हो त ? कि स्वतन्त्रताको दुरुपयोग ? नेपाली मिडियाले प्रवद्र्धन गर्न खोजेको लोकतन्त्र हो या अराजकतन्त्र ? म त असमञ्जसमा छु ।

म ‘मिडिया’ मा छाइराख्ने सदाबहार ‘बुद्धिजीवी’ र ‘नागरिक अगुवा’ देखेर पनि साह्रै विचलित हुन्छु । विचारको विविधता त लोकतन्त्रको गहना नै हो तर एकपाखे ‘बुद्धिजीवी’ र ‘नागरिक अगुवा’, जोे आफ्ना कुत्सित नियत र कुण्ठाहरूको मात्र व्यापार गरिरहेछन्, ‘मूलधारका मिडिया’ मा उनीहरू मात्र दशकौंदेखि छाइरहने कुरा नै एक हिसाबले मिलिभगत जस्तो लाग्छ ।

स्वाभाविक हो, मिलिभगतमा विविधता हुर्कन पाउँदैन । हिजो तपाईंले संविधान बनाउने कुरामा सक्रिय अगुवाई गर्दा पनि, नाकाबन्दीको विरुद्धमा राष्ट्रिय अडान प्रदर्शन गर्दा पनि, चीनसँग व्यापार तथा पारवाहन सन्धि गर्दा पनि, कालापानीको नक्शा जारी गर्दा पनि र अहिले प्रतिनिधिसभा विघटन गर्दा पनि, तपाईंको विरोध गर्ने पात्र उही छन् । राम्रो हुँदा राम्रो र कमजोरी हुँदा आलोचना भए पो सच्चा मानेमा विश्लेषक । एकोहोरो लखेट्ने त भेष बदलेर प्रकट हुने विरोधी हुन् । सीधै विरोध गर्न पाइने स्वतन्त्रता छ त, आवरण परिवर्तन गर्नु के जरूरी छ र ? यसर्थ, त्यस्ता विश्लेषकको ‘विश्लेषण’ तिरस्कार गर्नु बाहेक अरू के नै विकल्प हुन्छ र ?

प्रधानमन्त्रीज्यू,

कोरोनाको विश्वव्यापी महामारीबाट कुन समाज पो अछूत रह्यो होला र ? विश्वकै करीब एक वर्ष त खेरै गए जस्तो भयो । धनी देशहरूको तुलनामा गरीब देशहरूलाई त यो एक अभिशाप नै त थियो । तर जति नै भएन भनिए पनि कोरोना व्यवस्थापनमा नेपाल सार्कमै अब्बल प्रमाणित भएको कुरा तथ्य हो । होला, व्यवस्थापन अझै राम्रो गर्न सकिन्थ्यो होला, तर ‘राम्रो’ को त के सीमा हुन्छ र ? जति नै उत्कृष्ट भनिए पनि थप सुधारको लागि जहिले पनि ठाउँ बाँकी हुन्छ ।

पहिलो स्वाबको परीक्षण हङकङ लगेर गर्नु परेको परिस्थितिबाट देशभित्रै दैनिक करीब २५ हजार परीक्षण गर्न सकिने गरी भएको क्षमता वृद्धि आफैंमा एउटा उपलब्धि हो । हाम्रा स्थानीय सरकारहरूले आफ्नो सीमित स्रोत, ज्ञान र क्षमताको बाबजूद गरेको व्यवस्थापनको प्रयास आफैंमा सराहनीय मानिनुपर्ने हो । उनीहरूको आत्मबल बढाइदिनुपर्ने बेला केही भएन भनेर लखेटिए मात्र । सबैले सँगै मिलेर लड्नुपर्ने महामारीको बेलालाई पनि केपी ओलीको बद्ख्वाईं गर्ने अवसरको रूपमा लिने ‘मिडिया’को नीति कुन चित्तको प्रतिबिम्बि हो, मूल्यांकनको विषय हो ।

सौभाग्यले म कामको सिलसिलामा नियमित रूपमा काठमाडौं बाहिर जिल्लाहरूमा गइरहन्छु । यसरी घुमिहिंड्दा परिवर्तन जरूर देखिन्छ । केही न केही नवनिर्माण भइरहेको आभास मलाई हुन्छ । धेरै ठाउँमा सडक चौडा बन्दैछन्, सहायक मार्गहरूको स्तरोन्नति भइरहेछन्, पोखरा र भैरहवा विमानस्थल निर्माणको काम अन्तिम चरणमा छन्, पूर्व पश्चिम रेलमार्गको काम भइरहेछ, काठमाडौं–निजगढ फास्ट ट्रयाकमा डोजरहरू दौडिरहेकै देखिन्छ, सुरुङ मार्गको थालनी भएको छ ।

सरकारीस्तरबाट मात्र होइन, निजीस्तरबाट पनि उत्तिकै निर्माणका कामहरू अगाडि बढेका छन्ः पर्यटनका पूर्वाधारहरू बढेका छन्, कति केबलकार परियोजनाहरू निर्माणाधीन छन्, कतिको सम्भाव्यता अध्ययन भइरहेछन्, कृषि परियोजनाहरूमा लगानी बढेको छ । कोरोना महामारी नभएको भए शायद चित्र अझै फरक हुन्थ्यो तर पनि आशा मार्नुपर्ने अवस्था छैन । विकास निरन्तर प्रक्रिया हो भन्ने मान्ने हो भने जनमानसमा आशाको सञ्चार गराउन सकिने धेरै आधारहरू बनेका छन् तर थाहा छैन किन निरन्तर रूपमा नकारात्मकताको खेती भइरहेछ । गर्नुपर्ने धेरै छन्, सत्य हो तर केही भएकै छैन भन्ने प्रचार गरिनु कुत्सित मनसाय हो । देशमा के राम्रो भइरहेछ भनेर जान्ने इच्छा भयो भने बरु यू–ट्यूबको सहारा लिनुपर्छ, ‘मूलधारका मिडिया’ मा त्यस्तो ‘कन्टेन्ट’ विल्कुल पाइँदैन । ‘मिडिया’ व्यक्ति लखेट्ने अभियानमा लाग्ने हो भने आज कोही शिकार होला, भोलि अर्को । अनि के नेपाल यस्तै अस्थिरताको घनचक्करमा परिराख्ने ?

प्रधानमन्त्रीज्यू,

अहिले हजुरको प्रमुख प्रतिपक्ष ‘मिडिया’ भएको छ र उसले जे–जसरी तपाईंको बदनामी गर्न सकिन्छ, उसैगरी लेखिरहेछ । सत्य कम र काल्पनिक ‘घटनाहरू’ को रिपोर्टिङ निरन्तर जारी छ । म सम्झन्छु, तपाईं पहिलो पटक प्रधानमन्त्री हुँदा जतिबेला अमानवीय नाकाबन्दीको विरुद्ध जुझारु लडाईंमा हुनुहुन्थ्यो, त्यतिबेला भूकम्पपछिको पुनर्निर्माणको विषयलाई कति अतिरञ्जित रूपमा उछाल गरिएको थियो । र जब तपाईंको बहिर्गमन भयो, त्यो विषय यसै सामसुम भइगयो । अहिले पनि निर्मला हत्या काण्डलाई कति अतिरञ्जित गरियो, छानबिनलाई कसरी मिसगाइड गरियो । हालैको कुरा गरौं न, भारतीय जी न्यूजमा तपाईंले कसरी राष्ट्रको पक्षमा अडान प्रदर्शन गर्नुभयो र त्यसलाई छोप्न सगरमाथा काण्डको रचना कसरी गरियो ।

यद्यपि सुखद् कुरा के भने नेपाली जनतामा सचेतना बढेको छ र ‘मिडिया’ ले लेख्यो भन्दैमा पत्याउन छाडेको छ । बरु उल्टै यो ‘मिडिया’ वा ‘समाचार’ फलानाद्वारा प्रायोजित भनेर जनस्तरमै चर्चा हुन थालेको छ । लोकतन्त्रमा ‘मिडिया’ को विश्वसनीयता घट्नु निःसन्देह सकारात्मक संकेत होइन । विश्वसनीयता बढाउन, ‘मिडिया’ नेता, न्यायाधीश वा अभियानकर्ता हुनुको सट्टा तथ्यहरूको अन्वेषण र पुष्टि गर्नेतर्फ केन्द्रित हुनुको विकल्प छैन । ‘मिडिया’ को प्रयोग गरेर शासक बन्ने महत्वाकांक्षा सम्पादकहरूले त्याग्नुको विकल्प छैन । लोकतन्त्रको हिस्सेदारी सबै नेपालीको हो, ‘मिडिया’ को मात्र होइन । आतंक बन्दूकले मात्र होइन, कलममार्फत पनि फैलाउन पाइँदैन ।

प्रधानमन्त्रीज्यू,

अन्त्यमा यहाँसँग म मेरा आफ्नै मान्यताहरू ‘सेयर’ गर्न चाहन्छु । यदि नेपालमा अहिले भइरहेको जिम्मेवारी विनाको, उत्तरदायित्व विनाको, सहभागिता विनाको, स्व–अनुशासन विनाको र सहनशीलता तथा सकारात्मकता विनाको स्वतन्त्रताको अभ्यासलाई नै लोकतन्त्र भन्ने हो भने म सख्त रूपमा लोकतन्त्र विरोधी हो । अहिले हामीले गरिरहेको अभ्यास लोकतन्त्र होइन, अराजकता हो भनेर अब पनि पहिचान नगरिने र यही राजनीतिक घनचक्करलाई अनन्तसम्म निरन्तर गर्ने हो भने यही ‘लोकतन्त्र’ ले हामीलाई सकाउँछ भन्ने भय मेरो मनमा छ । मानिसको वैयक्तित र दैनन्दिन स्वतन्त्रतापूर्ण रूपमा खुला हुनुपर्छ तर अराजकतालाई ‘तथाकथित राजनीतिक अधिकार’ को नाममा छोपिराख्ने कुरामा नियन्त्रण हुनुपर्छ । विश्लेषक सौरभले भने झैं– कृपया, देशको एउटा मेजर सर्जरी गरिदिनू । समकालमा त्यस्तो गर्न सक्ने व्यक्ति तपाईं बाहेक अरू कोही छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.