१०९ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन – Nepal Press
कर्मचारी अभाव

१०९ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

स्थानीय तहको काम प्रभावित, अधिकृत माग्न जनप्रतिनिधि सिंहदरबारमा

काठमाडौं । पूर्व सांसद अजय चौरसियालाई साथमा लिएर पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साह बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गए । उनीहरुले मन्त्रालयका सहसचिव एवं संघीय मामिला महाशाखा प्रमुख बसन्त अधिकारीलाई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाह्रो भएको गुनासो गर्दै कर्मचारी पठाइदिन आग्रह गरे ।

तीर्थराज पौडेलको सरुवा भएपछि खाली भएको प्रमुख प्रमुख प्रशासकीय अधिकृत पदका लागि नयाँ कर्मचारी पठाउन नसक्ने भए नजिकैको पर्सागढी नगरपालिकाका अधिकृत शालिकराम ढकाललाई आफ्नो नगरपालिकामा निमित्तका रुपमा जिम्मेवारी तोकिदिन पनि उनीहरुले आग्रह गरे । सहसचिव अधिकारीले भने त्यसो गर्न नसकिने बताए ।

उनीहरु सहसचिवको कार्यकक्षबाट निस्कनेवित्तिकै कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य चन्द्रलाल उपाध्याय भित्र छिरे । अनि गुनासो सुरु गरे । भने– मेरो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर मल्ल सरुवा भएर बाजुरा जानुभएको पाँच महिना बितिसक्यो, अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको भरमा गाउँपालिकाको प्रशासनिक काम चलिरहेको छ । शिक्षा शाखाका अधिकृत दुर्गालाल न्यौपानेलाई निमित्तको जिम्मेवारी दिइएको थियो । उनी सानोतिनो काम गर्न पनि आफूभन्दा कनिष्ठ कर्मचारीलाई सोध्न जान्छन् । त्यसैले उनलाई कुनै पनि कर्मचारी नटेर्ने वातावरण सृजना भयो । अब के गर्ने होला, सारै समस्या पो पर्यो । जसरी पनि प्रमुख प्रशासकीय अधिकृत पठाइदिनुपर्यो ।

वडा सदस्यले आफ्नो कुरा र गुनासो राखेपछि सहसचिव अधिकारीले पनि आफ्नो गुनासो र पीडा सुनाउँदै भने– मेरो पीडा पनि तपाइँको भन्दा कम छैन । सकेसम्म कर्मचारी स्थानीय तहमा जानै मान्दैनन् । पठाइहाल्यो भने पनि जागिर छोडेर जान्छु भनेर उल्टै हामीलाई धम्की दिन्छन् । मैले के गर्नु ! कोही रहरले पनि जान्छन्, काम गर्ने माहोल बन्यो र जनप्रतिनिधिसँग कुरा मिल्यो भने काम गर्छन्, नभए सरुवा मिलाएर भाग्छन् । ५५३ वटै स्थानीय तहमा मिलाउनुप¥यो । एउटामा मिलाउँदा अर्कोमा मिल्दैन । अर्कोमा मिलाउँदा अर्कोमा मिल्दैन ।

उल्टै सहसचिवको पीडा सुनेर चन्द्रलाल बाहिर निस्किए ।

त्यसपछि आइपुगे अर्घाखाँची छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल । उनले पनि अरू कुनै कुरा नराखेर शुरुमै आफ्नो गाउँपालिकामा लेखा अधिकृत अभाव भएको समस्या सहसचिवलाई सुनाए । गुनासो सुनेपछि सहसचिव अधिकारीले भने– हजुरको समस्या समाधानका लागि म पहल गर्छु । के कसरी मिलाउन सकिन्छ, मिलाउँला नि !

मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव अधिकारीको कक्षमा यसरी दैनिक दर्जनौ स्थानीय तहका जनप्रतिनिधि कर्मचारी माग्न आउँछन् ।

मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये अहिले १०९ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । ती स्थानीय तह निमित्तका भरमा चलिरहेका छन् । कतै आर्थिक अधिकार दिइएको छैन भने कतै तल्लो तहका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिंदा प्रभावकारी काम हुन सकिरहेको छैन । स्थानीय तहका जनप्रतिनिधिको यस्तै गुनासो मन्त्रालयमा सुनिन्छ ।

प्रवक्ता अधिकारीका अनुसार ४६० गाउँपालिकामध्ये ८१ गाउँपालिका र २७६ नगरपालिकामध्ये २० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतवहीन छन् । ११ उपमहानगरपालिकामध्ये ८ वटा र पर्साको वीरगञ्ज महानगरपालिका पनि निमित्तको भरमा छ ।

धरान, जनकपुर, नेपालगञ्ज र हेटौंडा उपमहानगरपालिका बाहेक सबै उपमहानगरपालिका निमित्तको भरमा छन् ।

नगरपालिका संघका महासचिव समेत रहेका धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले संघ स्थापना भएदेखि नै मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत अभाव सृजना गर्न आग्रह गर्दै आए पनि मन्त्रालयले त्यतातिर ध्यान नदिएको नेपाल प्रेसलाई बताए । उनका अनुसार संघीय सरकारले काम गर्नका लागि परिपत्र मात्र गर्न जानेको तर प्रमुख प्रशासकीय अधिकृत पठाउन नजानेको गुनासो गरे ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष समेत रहेका गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले जति पटक हारगुहार गर्दा पनि संघीय सरकारले नसुन्ने गरेको नेपाल प्रेससँग बताए । गाउँपालिकामा लामो समय प्रमुख प्रशासकीय अधिकृत नबस्ने गरेकै कारणले स्थानीय तहले काम गर्न नसकेको र यसैबाट गाउँपालिका बदनामी भइरहेको उनले सुनाए ।

स्थानीय तहले गुनासो गरिरहँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने जानी जानी प्रमुख प्रशासकीय अधिकृत नपठाएको तर्क गर्छ । भर्खरै मात्र ६३ नयाँ उपसचिव नाम निकालेर आएकाले माघ महिनाभित्र केही स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर