निर्वाचनका लागि आयोगले मागेजति बजेट दिन अर्थ मन्त्रालय तयार – Nepal Press

निर्वाचनका लागि आयोगले मागेजति बजेट दिन अर्थ मन्त्रालय तयार

काठमाडौं । निर्वाचन आयोगले सरकारद्वारा घोषित निर्वाचनको तयारीका लागि अर्थमन्त्रालयसँग ७ अर्बभन्दा बढी रकम माग गर्‍याे । तर, कोरोनाका कारण अर्थतन्त्रको जग हल्लिएका बेला आयोगले मागेजति रकम दिन अर्थमन्त्रालय सक्षम होला त भन्ने प्रश्न उठेको छ ।

आयोगले मंगलबार अर्थ मन्त्रालयलाई पत्राचार गर्दै ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ निकासा गर्न आग्रह गरेको थियो । यस विषयमा अर्थ मन्त्रालयका प्रवक्ता डा. रामप्रसाद घिमिरेलाई प्रश्न गर्दा आयोगले मागेजति रकम पटक-पटक गरेर उपलब्ध गराइने बताए ।

‘निर्वाचनका लागि आयोगले मागेजति रकम दिन अर्थ मन्त्रालय सक्षम छ,’ उनले भने, ‘एकैपटक नभए पनि पटक-पटक गरेर दिनेछौं ।’ यसका लागि मन्त्रालय तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

यो वर्षको प्रतिनिधिसभा निर्वाचनमा सकभर कम खर्च गर्ने निर्वाचन आयोगले बताएको छ । आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिमा ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी’ गर्ने भन्ने नारालाई मध्यनजर गर्दै गत निर्वाचनको बजेटभन्दा कम माग गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार माग गरेको रकमलाई अर्थमन्त्रालयले पनि पटक-पटक गरेर निकासा गर्ने आश्वासन दिएको छ । ‘अर्थमन्त्रालयले आयोगले मागेको रकम अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ,’ उनले भने ।

गत प्रतिनिधिसभाको निर्वाचनमा ७ अर्ब ९१ करोड खर्च भएको थियो । हालको निर्वाचनलाई माग गरिएको रकम गत वर्षको भन्दा ८३ करोड रुपैयाँ थोरै हो । यसमा आयोगले ३६ करोड रुपैयाँ कोरोना सुरक्षा मापदण्डका लागि छुट्याएको प्रवक्ता श्रेष्ठले बताए ।

उनका अनुसार निर्वाचन आयोगले खर्च कम गर्नका लागि निर्वाचनकै लागि भनेर सवारी साधन खरिद नगर्ने निर्णय गरेको छ । यसैगरी, नयाँ उपकरण खरिद नगरी पूराना उपकरणहरु नै मर्मत गरी चलाउने र सकेसम्म कम कर्मचारीबाट निर्वाचन सम्पन्न गरिने आयोगको योजना छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर