आजको सभामा अहिलेसम्म नबोलेको के बोल्लान् ओलीले ? – Nepal Press

आजको सभामा अहिलेसम्म नबोलेको के बोल्लान् ओलीले ?

काठमाडौं ।  विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले राजधानीमा विशाल आमसभा गरे लगत्तै प्रधानमन्त्री एबम् ओली पक्षीय नेकपा अध्यक्ष केपी शर्मा ओलीले २३ गते आफूहरूको विशाल आमसभा हुने घोषणा गरिदिए।

प्रचण्ड-माधव पक्षको आमसभाप्रति टिप्पणी गर्दै ओलीले जनपरिचालनको खास ‘कास्टिङ’ आफूहरूले देखाउने बताएका थिए। ‘आमसभा कस्तो हुन्छ भन्ने कुरा, २३ गते हेर्नुहोला काठमाडौंमा,’ उनको भनाइ थियो, ‘म उहाँहरूलाई भनिदिन चाहन्छु। आमसभा कस्तो हुन्छ, आमसभा केलाई भनिन्छ, जनपरिचालन केलाई भनिन्छ भन्ने कुरा २३ गते हेर्नुहोला काठमाडौंमा।

हामी २३ गते अलिकति झलक दिन्छौं, जनपरिचालनको, ‘कास्टिङ’ गर्छौं, हामी।’ ओलीको घोषणा कार्यान्वयन गर्न ओली पक्षीय बागमीत प्रदेश संगठन कमिटीले १२ माघमा पत्रकार सम्मेलन गरेर आमसभाबारे ठोस योजना जानकारी सार्वजनिक गर्‍यो ।

त्यस्तै क्रममा आमसभाका संयोजक रहेका कृष्ण गोपाल श्रेष्ठले उत्सुकता जगाउँदै पत्रकारहरूसँग भनेका थिए, ‘२३ गते प्रधानमन्त्री अहिलेसम्म नबोलेको कुरा भन्नुहुन्छ। त्यो कुरा के हो त्यो हामीहरूलाई पनि थाहा छैन । २२ गतेसम्म पनि त्यो थाहा हुँदैन । तर, २३ गते आमसभामै प्रधानमन्त्रीले त्यो भन्नुहुन्छ।’

श्रेष्ठ मात्रै होइन, ओली पक्षका अन्य नेताले पनि आजको आमसभामा पछिल्लाे राजनीतिक घटनाक्रमबारे अहिलेसम्म नबोलेको कुरा प्रधानमन्त्रीले बोल्ने बताएका छन्।

आखिर के हाेला त अहिलेसम्म नबाेलेकाे कुरा ?

ओली पक्षको आजको आमसभालाई नेकपाकै प्रचण्ड-माधव पक्षले शंकास्पद दृष्टिले हेरिरहेको छ। आमसभालाई ‘पञ्च र्याली’को संज्ञा दिएका उनीहरूले ओलीले सभामै हिन्दू राष्ट्र घोषणा गर्न सक्ने टिप्पणी गरेका छन्।

१८ माघमा माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन गर्दै प्रचण्ड-माधव पक्षीय नेता सुरेन्द्र पाण्डले भनेका थिए, ‘यही २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ। ओलीले यो गर्न सक्छन्।’ आमसभामा राजावादीहरू समेत सहभागी हुने दावी गर्दै उनले भनेका थिए–ओलीको कदमले दक्षिणपन्थी खुशी भएका छन्, उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन् । हिजो ऋषि देवकोटा ‘आजाद’ को हत्या गर्नेहरु नै ओलीको प्रशंसा गरिरहेका छन् । मैले सुनेको हुँ, २३ गतेको कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुँदैछन् ।’

ओलीले पछिल्लो समय अचानक पुशपतिनाथ मन्दिरमा गएर गरेको पुजा, राजनीतिक भाषणमा धर्मको चर्चा र आमसभा गर्न नारायणहिटी दरबार अगाडिको सकड चुनेको प्रति धेरैले आशंका गरिरहेका छन्, ‘ओली कतै धर्मनिरपेक्षता मास्न त गइरहेका छैनन् ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर