माछापुच्छ्रे एकेडेमीले फागुनमा ‘बक्स क्रिकेट प्रतियोगिता’ गर्दै – Nepal Press

माछापुच्छ्रे एकेडेमीले फागुनमा ‘बक्स क्रिकेट प्रतियोगिता’ गर्दै

पोखरा । माछापुच्छ्रे क्रिकेट एकेडेमीले फागुनमा बक्स क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । फागुन १ गतेदेखि ४ गतेसम्म लेखनाथस्थित एकेडेमीमा प्रतियोगिता हुने आयोजकले जनाएको हो ।

एकेडेमीले नेपालमै पहिलो पटक बक्स क्रिकेट प्रतियोगिता गर्न लागेको दाबी गरेको छ । बक्स क्रिकेट सफ्ट बल (टेनिस बल) ले खेलिने खेल हो । यो सामान्य क्रिकेट भन्दा केही फरक हुन्छ । बक्स क्रिकेटका केही नियम पनि सामान्य क्रिकेटभन्दा केही फरक हुने आयोजकको भनाइ छ ।

बक्स क्रिकेटमा स्टे«ट (सिधा) प्रहार गरेको छक्का मात्र मान्य हुन्छ भने अन्य क्षेत्रमा गएको छक्का मान्य हुने हुँदैन । तोकिएको दिशाबाहेकको ठाउँमा फ्याँकिएको बल ‘आउट’ मानिन्छ ।

प्रतियोगितासँगै लेखनाथमा एकेडेमी समेत सुरुआत हुने एकेडेमी सञ्चालक अरुण पौडेलले जानकारी दिए । यसअघि एकेडेमी हाल पोखरा नदीपुरस्थित प्रदेश सभा भवनसँगैको प्रांगणमा थियो ।

एकेडेमीले नेपालमा ग्राउन्ड खेलाडी र ब्याट्सम्यान उत्पादनका लागि प्रतियोगिता आयोजना गर्न लागेको प्रशिक्षक दिपेश खत्रीले जानकारी दिए ।

‘नेपालमा विस्फोटक ब्याट्सम्यान र ग्राउन्ड सट खेलाडीको अभाव छ । एकेडेमीले त्यहीअनुसारका खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गर्न लागेको हो,’ उनले भने, ‘प्रतियोगिता अब निरन्तर हुनेछ र एकेडेमीको वार्षिक क्यालेन्डरमा पनि राखिनेछ ।’

खत्रीले क्रिकेटका लागि पोखरामा तनहुँ भिमाददेखि पनि खेलाडी आउने हुनाले सबैको सजिलोका लागि लेखनाथमा एकेडेमी सञ्चालन गर्न लागेको सुनाए । प्रतियोगिताका लागि हालसम्म १२ टिमले सहभागिता जनाइसकेको उनले आयोजकले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ३२ हजार रुपैयाँ र उपविजेताले १६ हजार रुपैँया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान २ हजार ५ सय रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब डेढलाख रुपैँया लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर