गोरखाको दुर्गमबस्तीमा हेलीबाटै पठाइयो ‘कोभिसिल्ड’ – Nepal Press

गोरखाको दुर्गमबस्तीमा हेलीबाटै पठाइयो ‘कोभिसिल्ड’

१६ हजारलाई खोप लगाइयो, असर देखिएन

पोखरा । यातायातको सुविधा नपुगेको गोरखाका विभिन्न ठाउँमा हेली मार्फत कोभिड–१९ को खोप तथा स्वास्थ्यकर्मी पुर्याइएको छ ।

गोखराको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मीलाई सेवा दिन आवश्यक खोप तथा खोपकर्ता हेलीमार्फत पुर्याइएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको भए पनि भौगोलिक विकटताका कारण त्यहाँका स्वास्थ्यकर्मीले कोभिसिल्ड खोप लगाउन आउन पाएका थिएनन् ।

‘यातायातको सुविधा अझै नपुगेको ठाउँमा हेलीमाफर्त र पुगेको तर, विकट ठाउँमा गाडीबाटै खोप पु¥याइएको छ,’ निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले भने ।

शर्माले गोरखा चुमनब्री गाउँपालिका फिलिममा १८ जना, चुम्लिङमा २० जना र लिहीमा ३० जना स्वास्थ्यकर्मीले खोप लगाउन बाँकी रहेको जानकारी दिए ।

‘सम्बन्धित ठाउँमा खोप पुगिसकेको छ । उनिहरुलाई भोलि (शुक्रबार) खोप लगाइन्छ,’ उनले भने ।

निर्देशनालयले यातायात सुविधा पुगेर पनि भौगोलिक विकटका कारण जिल्ला अस्पतालमा खोप लगाउन आउन नपाएका गोरखा दार्चेमा भने गाडीबाटै खोप र स्वास्थ्यकर्मी पु¥याइएको जनाएको छ । दार्चेमा ५७ जना स्वास्थ्यकर्मीले शुक्रबार खोप लगाउनेछन् ।

गोरखाको विकट ठाउँमा खोपसहितको स्वास्थ्यकर्मी पु¥याउन माउन्टेन चाइल्ड नामक संस्थाले सहयोग गरेको निर्देशनालयले जनाएको छ ।

पहिलो चरणमा सुरु भएको खोप कार्यक्रममा गण्डकी प्रदेशमा बिहीबारसम्म ९८ प्रतिशतले खोप सुविधा पाएको निर्देशनालयले जनाएको छ ।

१७ हजार जनालाई कोभिसिल्ड खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म १६ हजारलाई खोप लगाइसकिएको निर्देशक शर्माले जानकारी दिएका छन् । निर्देशनालयका अनुसार खोप लगाएकामध्ये कसैमा कुनै पनि असर देखिएको छैन ।

गण्डकी प्रदेशमा हालसम्म १५ हजार ६ सय ७ जना कोरोना संक्रमित छन् । जसमध्ये २ सय ३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा १६ जना थपिएका छन् भने हालसम्म ३ सय ८२ जनामात्रै सक्रिय संक्रमित रहेको निर्देशनालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *