विवेकशील साझाको आरोप- सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत – Nepal Press

विवेकशील साझाको आरोप- सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत

काठमाडौं । विवेकशील साझा पार्टीले सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत रहेको आरोप लगाएको छ ।

विहीबार विवेकशील साझाले संसदीय सुनुवाइविनानै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति आपत्ति प्रकट गर्दै यस्तो आरोप लगाएको हो।

‘संसद विघटन गरी मुलुकलाई ठूलो अस्थिरतातर्फ धकेलेको केपी ओली नेतृत्वको सरकारले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गरेको उक्त नियुक्ति संविधानमाथिको फेरि अर्को घातक प्रहार हो,’ प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रृंखलाबद्ध रूपमा असंवैधानिक कदमहरू चाल्दै यो सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्धत रहेको छर्लङ्ग भएको छ।’

पछिल्लो नियुक्तिपछि राष्ट्रपति र प्रधानन्यायाधीशमाथि पनि नैतिक प्रश्न खडा भएको विवेकशील साझाको टिप्पणी छ ।

तत्काल संवैधानिक सर्वोच्चता र विधिको शासन पुनर्बहाली हुने कुरामा विश्वास प्रकट गर्दै विवेकशील साझाले सरकारको प्रतिकार गर्ने नाममा नागरिकलाई दुःख काम पनि गलत भएको बताएको छ।

‘प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृत्तिको समर्थन गर्नु आफू र आफ्ना सन्ततिको भविष्यमाथि आफै बन्चरो प्रहार गर्नु हो,’ विज्ञिप्तमा भनिएको छ, ‘त्यसैगरी, विवेकशील साझा पार्टी सरकारको प्रतिकार गर्ने नाममा नागरिकलाई दुःख दिने र अर्थतन्त्रमा आघात पुग्ने बन्द, आमहड्तालजस्ता कार्य नगर्न सबै पक्षलाई आग्रह गर्दछ। एउटा कुकर्मको सुधार अर्को कुकर्मबाट हुन सक्दैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर