यसरी फेरिन्छ नेताको बोली, मिलाएर बुझ्नुस् ! – Nepal Press

यसरी फेरिन्छ नेताको बोली, मिलाएर बुझ्नुस् !

बन्दको विरोधमा उर्लियो सामाजिक सञ्जाल

काठमाडौं । ‘लोकतान्त्रिक परिपाटीमा बन्द हड्तालले जनमत हैन त्रास मात्र बढाउनेछ । त्यो पनि क्षणिक । अन्तमा हातमा लाग्यो फगत सत्यानाश ।’

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले तीन वर्षअगाडि लेखेको यो स्टाटस अहिले सामाजिक सञ्जालमा भाइरल गराइएको छ । भाइरल बनाइनुको कारण हो, उनको समूहले आज आह्वान गरेको आम हड्ताल । विगतमा बन्द–हड्तालप्रति सार्वजनिक असहमति प्रकट गरेका भट्टराई आज आफ्नै पार्टीले आह्वान गर्दा भने मौन छन् ।

संवैधानिक निकायमा पदाधिकारी नियुक्ती र सपथग्रहणको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालमा भट्टराईले असहमति जाहेर गरेका छैनन् । बरु यो अहिले परिस्थितिले नै आम हड्ताल गर्ने स्थितिमा पुर्याएको भनेर कार्यकर्तालाई ‘कन्भिन्स’ गर्न प्रयासरत छन् । उनले यो विषयमा कुनै सार्वजनिक टिप्पणी भने गरेका छैनन्, जबकि उनी सामाजिक सञ्जालमा अत्यधिक सक्रिय नेतामा पर्छन् । बुझ्न सकिन्छ कि, आफैले लेखेको पुरानो स्टाटस अहिले उनलाई भारी परेको छ ।

हाल बिराटनगरमा रहेका नेता भट्टराईसँग हामीले आमहड्तालको विषयमा धारणा बुझ्न फोन सम्पर्क गर्दा उनले खासै प्रतिक्रिया दिन चाहेनन् ।

‘अहिलेको परिस्थितिमा यो आवश्यक थियो, मलाई धेरै कुरा बोल्नु छैन, मिलाएर बुझ्नुस्।’ भट्टराईले यति मात्रै भने ।

भट्टराई मात्र होइन, प्रचण्ड–माधव पक्षका केन्द्रिय सदस्य विष्णु रिजाल पनि उस्तै कारणले सामाजिक सञ्जालको निशानामा छन् । उनले पनि पहिले बन्द हड्तालप्रति असहमति जनाएका थिए ।

तत्कालिन माओवादीलाई लक्ष्यित गर्दै करिब तीन वर्षअगाडि रिजालले ट्विटरमा लेखेका थिए, ‘संसदमा संघर्ष गरौं, चितवनमा विशाल प्रदर्शन गरौं, तर बन्द हड्ताल गरेर आफैंलाई मत दिने जनतालाई दुख नदिऔं ।’

उनै रिजाल आज आफ्नो पार्टीले आह्वान गरेको आम हड्ताल सफल पार्न सडकमै निस्किए । सामाजिक सञ्जालमा पनि उनले आमहड्तालको औचित्य सावित गर्ने कोसिस गरेका छन् ।

ट्विटरमा उनले लेखेका छन्, ‘बन्दले जनता प्रभावित भए माफी चाहन्छौं, तर हाम्रो पनि बाध्यता हो ।’

उनको उक्त ट्विट लोकप्रिय भने भएन । धेरैले उनको पुरानो ट्विटको स्क्रिनसट हाल्दै आलोचना गरेका छन् ।

जनस्वास्थ्यविद् समीरमणि दीक्षित लेख्छन्, ‘जे भने पनि जसरी यसलाई जस्टिफाइ गर्न खोजे पनि, गलतलाई ठीक नसोच्नु वुद्धिमानी होला । बन्द–हड्ताल, तोडफोड बाध्यता होइन, पूर्ण रुपमा गलत हो, गलत हो, गलत हो ।’

नेपाल प्रेससँगको कुराकानीमा रिजालले पहिले आफूले टिवट लेख्दाको परिस्थिति र अहिलेको परिस्थिति फरक रहेको बताए । अहिलेको आम हड्ताल बाध्यताको उपज रहेको उनको भनाइ छ ।

रिजाल भन्छन्, ‘पहिल प्रतिनिधीसभा थियो । अहिले बोल्ने ठाउँ भनेकै सडक हो । अहिले पनि प्रतिनिधिसभा कायम भएको भए हामीले यो बन्द नै गर्नुपर्ने थिएन । हामी केपी ओलीको हरेक कदमलाई प्रतिनिधी सभाबाट असफल पाथ्र्यौ । संवैधानिक परिषद्बाट असफल हुन्थ्यो । छलफल गर्ने आधिकारीक ठाउँ नभएपछि हामीले बाध्यकारी कदमको रुपमा बन्द गराएका हौं ।’

आफ्नो पुरानो ट्विटका बारे उनले भने, ‘त्यो ट्विटमा मैले प्रतिनिधि सभाबाट बहस गरौ भनेको छु । अहिले त्यो ठाउँ नै विघटन गरियो । हामीले आवाज कहाँ राख्ने त ? जनताको आवाज राख्ने ठाउँ सडक हो । त्यो परिस्थिति र यो परिस्थिति फरक हो ।’

सामाजिक सञ्जालको विरोध

उत्साहका साथ नेपाल बन्द घोषणा गरेको प्रचण्ड–नेपाल समूहलाई सामाजिक सञ्जालमा उत्पन्न प्रतिक्रियाले भने निराश बनाएको छ । नेताहरुले यसलाई बाध्यत्मक बताए पनि जनताले स्वीकारेको देखिएन ।

विराज नामक ट्विट ह्याण्डलबाट लेखिएको छ, ‘तिमीहरुलाई कुर्सीका लागि बाध्यता हो, तर ती निस्वार्थ काम गरेर विहान–बेलुकाको छाक टार्नेलाई चाहिँ के हो ? कोरोनाबाट प्रवाहित भएको अर्थतन्त्र सामान्य हुँदै गर्दा बन्द हड्तालले देशको अर्थतन्त्रमा कस्तो असर पार्छ ?’

यो बन्दको प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसदेखि राप्रपा, जनता समाज पार्टीले समेत समर्थन गरेका छैनन् । लामो समय कोरोनाका कारण बन्दाबन्दीको अवस्थाबाट भर्खर जनजिवन सामान्य हुन थालेका बेला नेकपाको बन्दले जनतालाई थप आहत तुल्याएको छ ।

‘कोरोनाले गर्दा भएको बन्द कम थियो र फेरि बन्द गर्नुपरेको ? धन्न मेरो देशका नेताहरु,’ पत्रकार लक्ष्मी बलायरले आक्रोश व्यक्त गदै लेखेकी छन् ।

बन्दको विरोध गर्दै मोहन बास्तोला व्यंग्यात्मकरुपमा लेख्छन्, ‘आमहड्ताल रहर होइन, बाध्यता भन्ने अनि तोडफोड र आगजनीमा घुुसपैठ भयो भन्ने, सडकमा पत्रिकामा राखेर दालमोट चिउरा खाने कमरेडहरुको चाला नाटकै हो । नौटंकी नै हो ।’

लेखक बुद्धिसागरले पनि बन्दको विरोध जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर