प्रधानमन्त्री भन्छन्-हाम्रो आदत बिग्रियो, किन आयात गर्ने इण्डिया गेट र लालकिल्ला चामल ? – Nepal Press

प्रधानमन्त्री भन्छन्-हाम्रो आदत बिग्रियो, किन आयात गर्ने इण्डिया गेट र लालकिल्ला चामल ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्याप्त उत्पादन भएर पनि सोखका लागि विदेशबाट चामल आयात भइरहेको बताएका छन् । स्वदेशमा पनि हेर्दा राम्रो देखिनेभन्दा पौष्टिकता बढी भएको र स्वस्थकर धान उत्पादन गर्न जनतालाई सुझाव दिए ।

कृषि महासंघको कार्यक्रममा बोल्दै ओलीले आफू किसानको छोरो भएको र कृषि क्षेत्रको सबै ज्ञान आफूसँग रहेको उल्लेख गरे । ओलीले दिएको मन्तव्यका केही अंशः

म आफैं दाम्ला बाटेर, गाईभैँसी दुहेर, परालको पिर्का बनाएर, हलो ताछेर हुर्केको हुँ । जोतारो केलाई भन्छन्, फाली केलाई भन्छन्, सोइलो केलाई भन्छन्, सबैले बुझ्दैनन् । तर, हामी बुझ्छौं । कतिले जुवा भनेको सुनेका छन् तर, फाली देखेका छैनन् । हलोमा ठोक्नेलाई के भन्छन् भन्ने भन्यो भने धेरै नेतालाई आउँदैन । कस्तो पर्‍या हुन्छ रे भन्छन् । यो अवस्था छ ।

म कृषि पृष्ठभूमिबाटै आएको हो । हामी सबै कृषिबाटै आएका हौं । कृषि बुझ्छौं । बोट-बिरुवा, बीउ बुझ्छौं । कलमी केलाई भन्छन्, कसरी गरिन्छ, त्यो बुझ्छौं । ६५ प्रतिशतभन्दा बढी कृषिसँग सम्वन्धित र कृषिमा आधारित मजदूर भए पनि बिहान बेलुका कृषि नै गर्छन् ।

कृषिको आधुनिकीकरण र व्यवसायीकरण नगरिकन हामी माथि उठ्न सक्दैनौं । कृषिमा आत्मनिर्भर बन्नका लागि उत्पादन र उत्पादकत्व बढाउनुपर्‍यो । त्यसपछि कृषि उत्पादनलाई निर्यातको वस्तु बनाउनुपर्‍यो । हाम्रोजस्तो उर्बर देश कृषि उत्पादन निर्यातक हुन सक्छ । तर, आज हामी अरबौंको आयात गरिरहेका छौं ।

हामीलाई चाहिएर भन्दा बढी हामी अलिकति स्वाङ पार्न थालेका छौं । हामीलाई लालकिल्ला भन्ने लामो सिता भएको चामल चाहिन्छ । इण्डिया गेट भन्ने चाहिन्छ । किन चाहियो इण्डिया गेट ? इण्डिया गेट भनेको कति वर्ष पुरानो चामल हो ? त्यसको कति उपचार गर्दागर्दा समाप्त भइसकेको होला । तपाईंहरूले हेर्नुभएको छ एक इन्च लामो सिता हुन्छ । त्यो सक्कली हो ? त्यो तपाईं-हामीले बुझेका छौं । यति पुरानो भएको छ । मर्मत-सम्भार गरेर यहाँ पठाइन्छ । तर, हामीलाई बास्मती, लालकिल्ला चाहियो । इण्डिया गेट चाहियो । अर्को के चाहियो ।

यस्ता चामल किन आयात गर्छौं भन्दा आनिबानी बिग्रयो । यस्ता चामल किन आयात गर्ने ? हामीलाई वार्षिक ९४ लाख मेट्रिक टन चामल चाहिएला । १०७/०८ लाख मेट्रिक टन उत्पादन गर्छौं । खान पुग्नेभन्दा बढी छ । हाम्रो आवश्यकताभन्दा १० प्रतिशत बढी खाद्यवस्तु उत्पादन हुन्छ । तर, आदत विग्रेकोले थुप्रै कुरा आयात गर्छौं । त्यस स्थितिलाई पनि हामीले बदल्नु पर्छ ।

बास्मती लगाउनुस, मसिना चामल लगाउनुस् भन्ने सल्लाह म दिन्न । यो चौथाई फल्छ । हामीलाई बढी फल्ने, पौष्टिक र स्वस्थकर चाहियो । मसिना पनि फलाउनुस्, ठीक छ । अलिक महंगो दाममा बिक्छ । तर, फल्छ कम । मोटा धानको जस्तो ठूल्ठूला गाँज आउँछ, मसिनाको त्यस्तो गाँज आउँदैन । सिल्के हुन्छ । त्यसको उत्पादकत्व वृद्धि गरेपछि मात्रै प्रतिफलदायी हुन्छ । त्यस्तो परिवर्तन नगरिकन, सुधार नगरिकन हुँदैन । उत्पादकत्व दुई गुणा वृद्धि नगरी हुन्न नत्र पोसाउँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर