पोखरामा बन्दको विरोध गर्दै ओली पक्षका युवा सडकमा – Nepal Press

पोखरामा बन्दको विरोध गर्दै ओली पक्षका युवा सडकमा

पोखरा । नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको नेपाल बन्दको विरोधमा पोखरामा ओली पक्षका युवाहरुले प्रदर्शन गरेका छन् ।

पोखरा पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल ¥यालीको सुरुआत गर्दै उनीहरुले ‘नेपाल खुल्ला छ’ भन्दै नाराबाजी गरेका थिए ।

आफ्नो अधिकार प्राप्तिका लागि पहिलेजस्तो नेपाल बन्द गरेरै आन्दोलन गर्नुपर्ने अवस्था नरहेको र यसले आफ्नो व्यक्तिगत स्वार्थका लागि गरेको बन्दलाई आफूहरुले विरोध गर्नुपरेको नेकपा ओली पक्षका साजन सुवेदीले बताए ।

‘दश वर्ष पहिले आन्दोलनमा अधिकार खोज्नुपर्ने थियो होला । तर, अहिले स्थिति अर्कै हो । एक दिनको बन्दले गरिखाने वर्गलाई कति असर पुग्छ त्यो पनि हेर्नुपर्छ,’ सुवेदीले भने, ‘यस्तो प्रवृत्ति अब बन्द हुनुपर्छ । यस्ता अराजक शक्तिहरु खण्डन गर्नुपर्छ ।’

पृथ्वीनारायण क्याम्पसबाट सरु भएको मोटरसाइकल ¥याली सिम्पानी, हरिचोक, मालेपाटन, पृथ्वीचोक, विरौटा, न्युरोड हुँदै पुनः क्याम्पसमै पुगेर समापन भएको थियो । पोखरा पृथ्वीचोकमा भने बन्दकर्ता र बन्दको विरोधमा ¥यालीमा निस्केका युवाबीच सामान्य विवाद भएको थियो ।

पृथ्वीचोकमा जम्मा भएर दुवै पक्षले केपी ओली जिन्दावाद र मुर्दावादको नारा एकै समयमा लगाएपछि  र्‍याली भनाभनको स्थितिमा पुगेको थियो । स्थिति थप जटिल हुने देखिएपछि दुवै पक्षलाई प्रहरीले सम्झाउनु परेको थियो ।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटन र संवैधानिक नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आम हड्ताल गरेको थियो । आम हडताललाई सफल पार्न प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता पोखराका विभिन्न चोकमा निस्किएका थिए ।

बन्दका कारण पोखरामा लामा तथा छोटा दूरीका यातायात चल्न नसकेपछि साना दुईपांग्रे सवारी साधन कुदिरहेकै छन् । प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले चोकचोकमा उभिएर सवारीसाधन आउजाउलाई रोक्ने प्रयास गरिरहेको छन् । यात्रुहरुले भने बन्दको प्रतिवाद गर्दै आएका छन् ।

प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले बिहीबार बिहानै गुडिरहेको एक सवारी साधनमा लठ्ठी प्रहार गरेपछि प्रहरी र बन्दकर्ताबीच केही मुठभेदको स्थिति उत्पन्न भएको थियो । उक्त मुठभेदका क्रममा प्रहरीले प्रचण्ड नेपाल पक्षका कार्यकर्ता विनायक तिमिल्सिनालाई नियन्त्रणमा लिएको छ ।

त्यसबाहेक पोखरामा अहिलेससम्म कुनै तोडफोड र झडपको स्थिति नभएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर