लैङ्गिक समानताको प्रयास- भान्साको विभेद अन्त्य गर्न दम्पती परिचालन – Nepal Press

लैङ्गिक समानताको प्रयास- भान्साको विभेद अन्त्य गर्न दम्पती परिचालन

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले विभेद अन्त्य भान्साबाटै शुरु गर्नुपर्ने भन्दै दम्पती परिचालन गर्न थालेको छ । नगरपालिकाले घरायसी काम अर्थात् भान्सामा पुरुष सहभागिता बढाउन दम्पतीलाई अघि सार्न थालेको हो ।

नगरपालिकाले घरायसी कामको बोझ बढी भएका कारण महिलाको प्रगतिमा प्रभाव परेको र पोषण अवस्था कमजोर भएको भन्दै गएको दुई वर्षयता १२३ लाई लैङ्गिक समता र समावेशीकर्ता (जेसी च्याम्पियन) तालीम दिएको छ । यसरी च्याम्पियन बनेका अधिकांश दम्पती छन् भने केही शिक्षकसमेत रहेका छन् ।

नगरपालिकाले व्यवहार आफ्नै जीवन र घरबाट शुरु गर्नुपर्छ भनी दम्पतीलाई नै लैङ्गिक समताबारे जानकारी दिएको हो । तालीमपछि उनीहरुको जीवनमा धेरै परिवर्तन आएको छ । तालीमपछि च्याम्पियन हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि थप जिम्मेवार भइरहेका छन् ।

टीकापुरकी सुष्मा विकको घरमा घरका सबैले खाना खाइसकेपछि मात्र बुहारीले खाना खानुपर्छ भन्ने मान्यता थियो । सुष्माले परिवारका सबै सदस्यले खाना खाइसकेपछि खाना खान्थिन ।

समुदायमा रहेका ‘जेसी च्याम्पियन’ले सुष्माका घरमा छलफल गरेपछि हाल उनले सबैभन्दा पहिले खाना खान पाएकी छिन् । छ महिनाकी सुत्केरी सुष्मालाई अन्य नागरिकलाई भन्दा बढी पोषण चाहिने कुरा परिवारले बुझेपछि सुष्मालाई पर्याप्त आराम गर्ने समय पनि पाइएको छ ।

‘सबैले खाना खाइसकेपछि खान्थेँ, कहिलेकाहीँ खाना पुग्दैनथ्यो, फेरि पकाएर खान सकिँदैनथ्यो, कहिलेकाहीँ दिनभरि भोकै पनि हुन्थे’, सुष्माले भनिन्, ‘आजभोलि श्रीमान् र सासूआमाले मलाई शुरुमा खाना खुवाउनु हुन्छ, अहिले थपेर खान पाइन्छ, अन्य काममा पनि आजभोलि घरका पुरुष पनि काममा सघाउने गर्छन् ।’

टीकापुरको ब्लक नं ३० की चन्द्रा रेग्मीका श्रीमान् पहिले घरमा केही काम गर्थेन्न् । अचेल घरको सबै काममा सघाउछन् । घरको काम सबै महिलाको हो भन्ने बुझेका श्रीमान्लाई आफूले सिकेका कुरा सिकाउँदा आफ्नो पारिवारिक माहोल पहिलेको तुलनामा बदलिएको रेग्मी बताउँछन् ।

‘पहिला सबै काम मैले गर्नुप¥थ्यो, तालीमपछि मैले उहाँलाई सिकेको कुरा बुझाए, हाल सकेको काम गर्नुहुन्छ’, रेग्मीले भने, ‘बच्चाको स्याहार, भान्साको काममा सघाउने गर्नुभएको छ, श्रीमान्को सहयोगपछि मेरो आधा काम घटेको छ ।’

टीकापुर–५ वसन्ताकी उषा चौधरीले पनि लैङ्गिक समता र समावेशीकर्ता तालीमपछि महिलाको हक, अधिकार र महिला तथा बच्चाको पोषण सुधारमा अभियन्ताका रुपमा काम गरिरहेका छन् । उषा पनि लैङ्गिक भेदभाव घर तथा भान्साबाटै हटाउनुपर्छ भन्ने कुरा परिवारलाई बुझाउन सकेको बताउँछन् ।

‘हामी भेदभावका कुरा गर्छौं, भेदभाव हाम्रो भान्साबाटै शुरु हुन्छ’, उषाले भनिन् ‘मैले मेरो परिवारलाई यो कुरा बुझाउन सकेकी छु, भान्साबाटै भेदभाव अन्त्य गर्ने कुरामा परिवारले बुझेको छ, अब समुदायलाई पनि बुझाउने अभियानमा छु ।’

टीकापुर–७ का भिखुलाल चौधरी शिक्षक छन् । उनले पनि खाना पकाउने, भाडा, कपडा धुनेजस्ता सबै काम गर्न थालेका छन् । भिखुलालले विद्यालयको कक्षामा, सामाजिक भेला, बैठकजस्ता ठाउँमा लैङ्गिक समानताका कुरा गर्न थाले ।

स्वयंसेविका चन्द्रावती शर्माले सबैभन्दा बढी विभेद भान्सामा हुने गरेकाले भान्साबाटै विभेद अन्त्य आवश्यक रहेको बताइन् ।
नगरपालिकाले पोषणमैत्री वडा र स्वास्थ्यचौकी घोषणाका लागि हरेक घरमा अनिवार्य करेसाबारीको नीति अघि सारेको छ । साथै गर्भवस्थादेखि नै पोषणमा ध्यान दिनुपर्ने भएकाले गर्भवतीलाई पोषणसँग जोेड्ने कार्यक्रम लागू गर्ने तयारी गरेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिए ।   रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर