पक्राउ पूर्जीबिना कार्यकर्ता हिरासतमा राखेकोमा नेमकिपा सुर्खेतको आपत्ति – Nepal Press

पक्राउ पूर्जीबिना कार्यकर्ता हिरासतमा राखेकोमा नेमकिपा सुर्खेतको आपत्ति

बिनासर्त रिहा नगरे आन्दोलन गर्ने चेतावनी

सुर्खेत । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जिल्ला समिति सुर्खेतले गत माघ १६ गते मालपोत कार्यालय सुर्खेतमा जनताको काममा भइरहेको ढिलासुस्ती बारे छलफल गर्न जाँदा आफ्ना ५ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

विरेन्द्रनगरमा बिहीबार विहान पत्रकार सम्मेलन गर्दै नेमकिपा जिल्ला अध्यक्ष हरि बहादुर बोहोराले माघ १६ गते जिला मालपोत कार्यालयमा छलफल गर्न कोषाध्यक्ष गोबिन्द नाथ योगी, याम नाथ योगी, शेर्जु शाह, गणेश खड्का र गङ्ग नाथ योगी गएका र उनीहरुलाइ अनाहकमा प्रहरीले नियन्त्रणमा लिएको बताए ।

‘बिना पक्राउ पुर्जी पाँच जनालाइ हिरासतमा राखिएको छ । यो निन्दनीय कार्य हो । सात दिन सम्म बिनाकारण हिरासतमा राख्ने, अन्यायमा परेको कुरा राख्न नपाउने कस्तो ब्यबस्था हो ? ,’ अध्यक्ष बोहोराले प्रश्न गरे ।

केन्द्रीय सदस्य नवराज कोइरालाले लोकतन्त्रमा बिरोध गर्नेलाई हिरासतमा लिने सरकारी रवैया गलत भएको बताए । ‘एक महिना अघिदेखि आफ्नै काममा धाउनु भएको थियो । काम हुनै सकेन । किन ढिलाइ भयो भनेर खबरदारी गर्दा अनाहकमा प्रहरी प्रशासनको आडमा बदला लिन हिरासतमा राखिएको छ,’ उनले थपे, ‘पक्राउ पुर्जी बिना हिरासतमा राख्नु कानून विपरित हो र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैरकानूनी काम गरिरहनुभएको छ ।’

उनले सानो दल भए पनि आफ्ना कार्यकर्ता पक्राउका बारेमा अन्य दलले मुख नखोलेकोमा दुखेसो पोखे । बिना सर्त रिहा नगरे आफूहरु चुप नबस्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर