कि काम गर्नुस्, कि हात उठाउनुस्: सहरी विकास मन्त्री साह (भिडियो) – Nepal Press

कि काम गर्नुस्, कि हात उठाउनुस्: सहरी विकास मन्त्री साह (भिडियो)

काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रम प्रभावकारी नभएको भन्दै प्रदेश सरकारलाई प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयमा ‘जनता आवास कार्यक्रमको वर्तमान अवस्था’ विषयक कार्यक्रममा सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य एवम सातै प्रदेशका भौतिक पूर्वाधार सचिवलाई उनले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री साहले प्रदेश सरकारलाई जनता आवास कार्यक्रम सञ्चालन गर्न नसक्ने भए हात उठाउन आग्रह गरे ।
‘गर्न सके गर्नुस, नभए हात उठाउनुस’ उनले भने ।
बाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल र गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत वैठकमा सहभागी थिए ।
साहले प्रश्न गरे, ‘संघीय सरकारले १ आर्थिक वर्षमा ८ हजार घर निर्माण गर्दा प्रदेश सरकारले ३ वर्ष बित्न लाग्दा पनि १० हजार मात्र निर्माण गर्नु लज्जास्पद भएन र ?’
कार्यक्रममा प्रदेश सरकारका मन्त्री र सचिवले बजेट अभावले काम रोकिएको भनेर गुनासो गरेका थिए । तर मन्त्री साहले भने प्रधानमन्त्री केपी शर्मा ओलीले जनता आवास कार्यक्रम र सुरक्षित नागरिक आवास कार्यक्रममा कुनै पनि हालतमा बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेकाले रकम अभाव भयो भन्ने बहाना मात्रै भएको टिप्पणी गरे ।
उनले प्रधानमन्त्री र सरकारको इज्जतसँग जनता आवास कार्यक्रम जोडिएकाले कुनै पनि बहानामा घर निर्माणको काम रोक्न नहुने बताए । कुनै पनि समस्या भए तत्काल मन्त्रालयमा र आफुलाई समेत जानकारी गराउन आग्रह गर्दै उनले कुनै समस्या परे त्यसको समाधान समयमा नै गरिने प्रतिवद्वता पनि जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर