लकडाउनले थलिएका जनतालाई आमहड्तालको प्रहार – Nepal Press

लकडाउनले थलिएका जनतालाई आमहड्तालको प्रहार

के हो प्रचण्ड–माधव पक्षको वाध्यता ?

काठमाडौं । पछिल्ला केही वर्ष नेपालमा देशब्यापी प्रभाव पर्ने गरी बन्द वा आमहड्ताल भएको थिएन । जनताले भोग्नुपर्ने सास्तीका कारण ठूला राजनीतिक शक्तिहरुले आन्दोलनको यो रुपलाई सकेसम्म पन्छाइरहेका थिए ।

तर, विभाजित नेकपाको एउटा समूहले बिहिबारका लागि आमहड्ताल घोषणा गरेर संयम तोडेको छ ।

प्रचण्ड–माधव पक्षको यो निर्णयले स्कुले बालबालिका (जो स्कुल छुट्टी हुने भनेर रमाइरहेका छन्) बाहेक अरुलाई सायदै खुशी बनाउला । धेरैलाई चाहिँ पुराना दिनहरुको स्मरण भइरहेको छ, जतिबेला दिनहुजसो कुनै न कुनै प्रकारको बन्द वा अवरोधको सामना गर्नुपथ्र्यो । यसले खासगरि साना व्यापारी र ज्यालादारी काम गर्ने मजदुरलाई पिरोल्छ ।

आखिर प्रचण्ड–माधव समूहले आन्दोलनको यो ‘अलोकप्रिय’ शैली नै किन रोज्यो त ? उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘वाध्यतावस’ आमहड्तालमा जानुपरेको बताएका छन् ।

‘आज असंवैधानिक, गैरकानुनी र बलमिच्याँइ गरी संवैधानिक निकायका पदाधिकारी र सदस्यलाई शपथ खुवाउने काम भयो,’ पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘यसको विरोधमा हामीले भोलि देशव्यापी आमहड्तालको घोषणा गरेका छौं । यो हाम्रो बाध्यता हो ।’

आमहड्तालको घोषणा गरिएको भए पनि शान्तिपूर्ण आन्दोलनलाई आगामी दिनमा पनि नछोड्ने श्रेष्ठले बताए ।

सम्पूर्ण कानुन, संविधान, राजनीतिक संस्कृति सबैलाई नाङ्गो उल्लघंन गरेर, जंगली राज, गुण्डाराजतिर देशलाई अघि बढाउन प्रयत्न गरिएको उनले आरोप लगाए ।

श्रेष्ठले भने, ‘हामीले अहिले प्रतिगमनका विरुद्ध संभिवान र लोकतन्त्रको रक्षाका निम्ति शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । र, अब पनि हाम्रो आन्दोलन शान्तिपूर्ण नै हुने छ ।’

प्रनिधिसभा विघटनपश्चात संसद सदस्य नभएका प्रधानमन्त्री स्वतः कामचलाउ हुने व्याख्या प्रचण्ड–माधव पक्षको छ ।

‘संधिवानतः यो सरकार प्रतिनिधिसभा विघटन गर्ने आफ्नो प्रतिगामी कदमपछि स्वतः काम चलाउमा परिणत भइसकेको छ,’ प्रचण्ड–ओली समूहको विज्ञप्तिमा भनिएको छ, ‘तर, त्यसपछि मन्त्रिपरिषद्को पुनर्गठन गर्ने असंवैधानिक कार्य गरियो । राष्ट्रिय भूमि आयोगका जिल्लास्तरीय अध्यक्ष र सदस्यहरूका अतिरिक्त अन्य नियुक्तिहरू गरिएका छन् ।’

प्रवक्ता श्रेष्ठ पनि सरकारले ‘फुलफ्लेज’ रूपमा काम गर्न लागेको भन्दै आन्दोलित हुनुबाहेक आफूहरूसँग विकल्प नभएको बताउँछन् ।

उनी भन्छन्, ‘बलजफ्ती ‘फुलफ्लेज’ सरकारका रूपमा काम गर्ने घोषणा गर्दै निर्लज्ज र निरंकुश कदम चाल्ने काम भइरहेको छ । त्यसकारण हामी सशक्त आन्दोलनमा जानुको विकल्प छैन् ।’

पत्रकार सम्मेलनमा सोधियो– तपाईंहरूले ओली पक्षको आमसभालाई प्रभावित गर्ने गरी आमहड्ताल घोषणा गर्नु भएको हो ? जवाफमा श्रेष्ठले आमसभासँग आमअड्तालको कुनै साइनो नभएको बताए ।

‘कार्यक्रम के गर्नुहुन्छ, कस्तो गर्नुहुन्छ, त्यो उहाँहरूको अधिकारको कुरा हो,’ उनको भनाइ थियो, ‘यद्यपि केपी सरकारले त्यसलाई पहिले–पहिले हुने गरिएको पञ्च र्‍यालीको झल्को दिने तयारी गरेको छ भन्ने कुरा नसुनिएको होइन । तैपनि उहाँहरूले कुन प्रकारको कार्यक्रम गर्ने, उहाँहरूको अधिकारको कुरा हो । हाम्रो आमहड्तालसँग त्यसको कुनै साइनो सम्बन्ध छैन ।’

आमहड्तालको मनोविज्ञान

श्रेष्ठले आमहड्ताललाई वाध्यात्मक बताए पनि त्यो बाध्यता के हो भन्ने खुलाएनन् । खासगरि तल्लो वर्गका जनतालाई सबैभन्दा पीडा र सास्ति दिने आन्दोलनको यो अलोकप्रिय स्वरुप रोज्दा नेकपाले भोली यसबाट उत्पन्न हुन सक्ने प्रतिक्रियालाई वेवास्ता गरेको देखिन्छ ।

सामाजिक सञ्जालमा आजैदेखि यसको आलोचना हुन थालिसकेको छ । प्रचण्ड–माधव समूहकै कतिपय नेता कार्यकर्ता यसमा खुशी देखिँदैनन् ।

कोरोनाका कारण गरिएको लकडाउनले नेपालमा लामो समय बन्दाबन्दीको अवस्था रह्यो । धेरैको रोजिरोटी गुम्यो । बल्लतल्ल जनजिवन पुरानो अवस्थामा फर्किन खोजिरहेको छ । देशको अर्थतन्त्र संकटको दलदलबाट बाहिर निस्कन संघर्ष गरिरहेको छ ।

यस्तो बेलामा गरिएको आमहड्ताल देशका लागि मात्र होइन, प्रचण्ड–माधव समूहका लागि पनि प्रत्यूत्पादक नहोला भन्न सकिन्न ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *