झाँक्रीलाई पक्राउ गर्न महिला नेताको माग, प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र – Nepal Press

झाँक्रीलाई पक्राउ गर्न महिला नेताको माग, प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र

गृहमन्त्रीले भने-एकल महिलामाथिको हिंसाजन्य अभिव्यक्ति क्षम्य हुन्न, कारबाहीको तयारी हुँदैछ

काठमाडौं । राष्ट्रपतिसहित एकल महिलाको मान प्रतिष्ठामा आघात पर्ने अभिव्यक्ति दिएको र चरित्रहत्या गरेको भन्दै प्रचण्ड माधव पक्षधर नेकपा नेतृ रामकुमारी झाँक्रीलाई मुलुकी अपराध संहिता बमोजिम कारबाही गर्न माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

ओली पक्षधर अखिल नेपाल महिला संघका पदाधिकारीले आज प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई भेटी झाँक्रीलाई तत्काल पक्राउ गरेर कारबाही चलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

अखिल नेपाल महिला संघका संयोजक सीता पौडेलको नेतृत्वमा गएको टोलीले देशभरका एकल महिलामाथि अपमान गर्ने गरी सेतो सारीको प्रसंग उठाएको र राष्ट्रपतिको व्यक्तिगत चरित्र हत्या गरेकोले तत्काल कारबाही गर्न माग गरेको सचिव सुजिता शाक्यले नेपाल प्रेसलाई बताइन् ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले झाँक्रीको अभिव्यक्ति राजनीतिक नभएको र चरित्रहत्या गर्ने तथा एकल महिलामाथि हिंसा गर्ने खालको रहेकाले कारबाहीका लागि छलफल भइरहेको बताएका छन् ।

महिला नेताहरुसँग कुरा गर्दै गृहमन्त्रीले यसबारेमा यथार्थ बुझेर कारबाही गर्न प्रहरी महानिरीक्षकसँग पनि छलफल भएको जानकारी दिएको शाक्यले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर