बालबालिकाको क्यानभासमा कोरोनाकालीन चित्र ! – Nepal Press

बालबालिकाको क्यानभासमा कोरोनाकालीन चित्र !

पोखरा । माथि हिउँ सेताम्मे छ । तल्तिर बस्ती छेवैंमा निलाम्मे नदी छ । गाउँमा केटाकेटी छन्, अभिभावक छन् । तर, सबैले मुखमा मास्क लगाएका छन् । मास्क लगाएरै उनीहरुको दैनिकी बितिरहेको छ ।

यो कुनै यथार्थ गाउँको वर्णन होइन, बरु ससाना बालबालिकाको बालशुलभ मनोविज्ञानले सोचेको ‘कोरोना’ बस्तीको चित्रण हो । जुन, पोखरा खहरेस्थित जिरो ग्यालरी क्याफेको भित्तामा सजाइएका छन् । कोरोनाकाललाई चित्रण गर्ने गरी कास्कीका विभिन्न विद्यालयका विद्यार्थीहरुले बनाएको चित्र यतिबेला पोखरामा प्रदर्शन भइरहेको छ ।

‘अन्नपूर्ण ड्रोइङ टिम’ नामबाट आयोजना गरिएको प्रदर्शनीमा अन्नपूर्ण गाउँपालिकास्थित भूमे आधारभूत विद्यालय, विरेठाँटी माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय र पोखराको जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीका ३६ ओटा चित्रकला राखिएका छन् ।

कोरोना महामारीले आक्रान्त बनाएको समयलाई मल्हम लगाउन ‘विश्वका लागि प्रार्थना’ गरौं भन्ने सन्देश दिन विद्यार्थीले एक्रिलिक, क्रेपर्स र पानी रङको माध्यमबाट आफ्ना अभिव्यक्ति दिएका छन् । प्रदर्शनी मंगलबारदेखि शनिबारसम्म चल्ने आयोजक राधा जुङ र विकास घलेले जानकारी दिए ।

प्रदर्शनीमा कक्षा ७ देखि १२ सम्मका आइतसुवा विक, अलिशा तामाङ, अनमोल पुन, अन्तिम रत्न, विनी राई, विशाल चपाई, मनिका तामाङ, नविन परियार, प्रदीप आचार्य, रोशनी परियार, शोभा परियार, सविता परियार, सुमिना आले, सागर विक, सुमिता परियार, सलिना परियार, सपना पुन र उषा सुवेदीको चित्रकला राखिएका छन् ।

कास्कीका विभिन्न स्कुलका विद्यार्थीलाई ‘अन्नपूर्ण ड्रोइङ टिम’मा सरिक गराउने ७४ वर्षीय कोरियाली कलाकार कु ह्युन किम हुन् । भिजिट भिसामा नेपाल आएकाबेला सानासाना कलाकारलाई एकीकृत गराएर प्रशिक्षण दिन पाएकोमा खुुसी व्यक्त गरे ।

‘कलाकारले कोरोनाकालीन समयको चित्रण गरेका छन् । उनीहरुको मेहनतले खुसी छु,’ उनले भने, ‘कोरोनाकालीन समयमै विद्यार्थीले बनाएका चित्र पोखरामा प्रदर्शन गर्न पाउँदा आफ्नो सपना साकार भएको छ ।’ किमले आफूले यसअघि सन् २०१७ मा सिओलको लमेर आर्ट ग्यालरीमा १२ जना विद्यार्थीका १ सय २० वटा कला १० दिनसम्म प्रदर्शन गरेको सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर