राजनीतिक माग राख्दै डा. केसीद्वारा २०औं अनशन बस्ने घोषणा – Nepal Press

राजनीतिक माग राख्दै डा. केसीद्वारा २०औं अनशन बस्ने घोषणा

काठमाडौं । राजनीतिक माग राख्दै डा. गोविन्द केसीले २०औं अनशन बस्ने घोषणा गरेका छन् । आफ्नो माग पूरा नभए आगामी १२ फागुनबाट अनशनमा बस्ने उनको घोषणा छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै केसीले दुई सूत्रीय माग राखेका  छन् । उनको पहिलो माग ‘प्रधानमन्त्रीद्वारा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने’ रहेको छ । अदालतमा मुद्दा विचाराधीन भएकाले उनले खुलेर संसद पुन:स्थापना भनेका छैनन् ।

यसैगरी उनले विधि र प्रक्रिया मिचेर अवैध रुपमा संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरिएको भन्दै त्यसलाई रद्द गर्नुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा उनले लेखेका छन्, ‘ केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ ।’

नागरिकका हैसियतले शान्तिपूर्ण रुपमा हस्तक्षेप गर्ने उपयुक्त समय यही भएको केसीले उल्लेख गरेका छन् । संविधान विघटनको विषयमा सर्वोच्च अदालतमा चलिरहेको न्यायिक प्रक्रियालाई सबै नागरिकहरुले निकटतापूर्वक निगरानी गरिरहेको भन्दै उनले देशको सर्वोच्च न्यायालयले संविधानको रक्षा गर्ने आशा व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर