लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन् – Nepal Press

लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

जनकपुरधाम । जनता समाजवादी पार्टीका एक प्रमुख नेता  उपेन्द्र यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने प्रस्ताव राखेका छन् ।

तत्कालीन संघीय समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका राउतलाई हटाउने उपेन्द्रको प्रस्तावले जसपामा नयाँ बहस सिर्जना गरेको छ ।

यादवले नै मुख्यमन्त्री बनाएका राउतलाई हटाउने कुरा बाबुराम भट्टराईले अहिले रोकेका छन् । भट्टराईले मुख्यमन्त्री परिवर्तन गर्ने हो भने पनि पहिले पार्टी र सरकारको नेतृत्व टुंगो लगाउनुपर्ने भनेर ‘होल्ड’ गरेको उनीनिकट स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘उपेन्द्रजीले मुख्यमन्त्री परिवर्तन गर्ने प्रस्ताव पहिले नै राख्नुभएको हो । बाबुरामले प्रदेशमा पार्टीको नेतृत्व साविक जसपा र समाजवादीमध्ये एउटाले गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने मोडालिटीमा सहमति गरौं भनेर रोकिएको हो ।’

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएको ९ महिना बितिसक्दा पनि प्रदेश २ मा जसपाको संसदीय दलको नेता चयन गरिएको छैन । मुख्यमन्त्री राउत अहिले पनि तत्कालीन समाजवादी पार्टीको दलको नेताको हैसियतमा छन् ।

दलको नेता चयन प्रक्रियामै विवाद भएकाले मुख्यमन्त्री फेर्ने उपेन्द्रको प्रयासले मूर्तरूप भने पाएको छैन । प्रतिनिधिसभा विघटनपछि पार्टी आन्दोलनमा केन्द्रित रहेकाले दलको नेता चयनमा ढिलाइ भएको जसपाका सांसद विन्देश्वर यादवले बताए ।

नेपालप्रेससँग कुरा गर्दै यादवले भने, ‘मुख्यमन्त्रीले जनताको अपेक्षा बमोजिम काम गर्न सकेका छैनन् उनलाई हटाउनुपर्छ भन्ने कुरा हो । तर, संसद विघटनका कारण प्राप्त उपलब्धि नै गुम्ने खतरा बढेको छ । पहिले यसलाई बचाउनुपर्छ । त्यसैले यसतर्फ केन्द्रित भएपछि मुख्यमन्त्री फेर्नुपर्ने छलफल पनि बन्द भएको हो ।’

दलको नेता राउत नै बन्न सकेनन् भने मुख्यमन्त्री फेरिने निश्चित छ । संसदीय दलको नेता चयन गर्नका लागि पार्टीले पाँच सदस्यीय समिति समेत बनाएको छ । समितिमा सांसदहरू मनिष सुमन, रामाशिष यादव, रानी शर्मा तिवारी, उपेन्द्र महतो र परमेश्वर साह छन् । समितिलाई विधान बनाउन जिम्मेवारी तोकिएको थियो ।

तर, मनिष सुमनले एक्लै विधान बनाएर मुख्यमन्त्री राउतलाई बुझाए । समितिमा रहेका अन्य चार सांसदसँग सल्लाहसमेत नगरी सुमन एक्लैले विधान बनाएपछि समिति निस्क्रिय रहेको समितिका सदस्य रामाशिषले बताए ।

पार्टी एकता भए पनि प्रदेशसभामा अहिले राजपा र समाजवादी अलग-अलग दल अस्तित्वमा छन् । १०-१५ दिनपछि दलको नेता चयन प्रक्रिया शुरू हुने मनिष सुमनले बताए ।

संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सांसद मनिष सुमनलगायतको नाम चर्चामा छ ।

मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टी र मन्त्री सोनल तत्कालीन राजपाका संसदीय दलका नेता हुन् । उपेन्द्रले भने राउतलाई हटाएर विजय यादवलाई मुख्यमन्त्री बनाउन चाहेका छन् ।

राउत पार्टीभित्रको पछिल्लो विवादमा इस्तियाक राई पक्षमा लागेको बुझाइ उपेन्द्रको छ । रेणु यादव, इस्तियाक राईलगायतका नेताहरूले गत वैशाखमा समाजवादी पार्टी फुटाएर अलग दल दर्ता गर्न खोजेका थिए ।

त्यसका लागि सहज बनाउन प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेशसमेत ल्याएका थिए । तर, चौतर्फी विरोधपछि अध्यादेश फिर्ता भएर सांसदको संख्या समेत गडबड भएपछि उनीहरूको प्रयास असफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर