ओलीको लहैलहैमा मुख मिठ्याउँदै देउवा – Nepal Press
ब्लग

ओलीको लहैलहैमा मुख मिठ्याउँदै देउवा

नेकपाभित्रको लामो आन्तरिक खिचलो मिलाउन नसकेर संसदमा आफूलाई अप्ठ्यारो पर्ने देखेका प्रम केपी शर्मा ओलीले पुस ५ गते एक्कासि संसद विघटनको सिफारिश राष्ट्रपतिसामु बुझाए । प्रमको सिफारिश राष्ट्रपति विद्यादेवी भण्डारीबाट तुरुन्त सदर भयो ।

संसद विघटनको असंवैधानिक कदमले सत्तापक्ष नेकपा र विपक्षी नेपाली कांग्रेस पार्टीभित्र आन्तरिक ध्रुवीकरण देखापर्यो । असंवैधानिक कदमको चौतर्फी विरोध शुरू भयो, अदालतमा मुद्दा पर्यो, बहस अझै जारी छ ।

असंवैधानिक कदमको सवालमा विपक्षी दलको नेता सभापति शेरबहादुर देउवा शुरूमा मौन रहे । कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले चाक्सीवारी निवासबाट सञ्चार मिडियामार्फत लोकतन्त्र र संविधान बचाउनको निम्ति प्रमले चालेको असंवैधानिक कदमको विरुद्धमा सडक आन्दोलनमा जाने उद्घोष गरे ।

विघटनको लगत्तै नेता गगनकुमार थापाले बानेश्वर चोकमा भएको कोणसभालाई आमसभा जस्तै बनाइदिए । कांग्रेस नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा.शेखर कोइराला, नवीन्द्रराज जोशीले खुलेरै नेता सिंहलाई साथ दिंदै विरोधमा निस्के ।

नारायणस्थान नजिक बूढानीलकण्ठमा मस्त निद्रामा रहेका सभापति देउवाले लोकतान्त्रिक संविधानकै हत्या हुने गरी भएको यो निन्दनीय कार्यप्रति केही थाहै पाएनन् । संसद विघटनको केही दिनअघि संवैधानिक आयोगको नियुक्तिमा प्रमसँग भाग माग्न जाँदा देउवाकै सहमतिमा पो प्रम ओलीले यो आँट गरेका हुन् कि भन्ने कतिपयको बुझाइ छ । आफैंले आईजी बनाउन नमानेका देउवाका विश्वास पात्र जयबहादुर चन्दलाई प्रम ओलीले त्यतिकै त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ति त गरेनन् होला नि !

सभापति देउवा राति राति बालुवाटार किन जान्छन् ? महामन्त्री शशांकले धेरै अघिदेखि पटकपटक मिडियामा बोलेको कुरा हो । देउवालाई प्रम ओलीको राजनीतिक सहयोगी भन्नेहरू प्रशस्त भेटिन्छन् । संसदलाई प्रतिपक्षीविहीन बनाएर देउवा आफ्नी सासूलाई राजदूतमा थमौती गराउन र आफ्ना आसेपासेहरूलाई लाभका पद मिलाउनमै मक्ख छन् ।

निडर कांग्रेस नेता, नागरिक समाज, संविधानविद्, पत्रकारहरूको चर्को आवाजले बल्ल ब्युँझिएका विपक्षी दलका नेता देउवाले केही बोल्नै पर्ने भयो । अन्ततः ‘प्रमको यो कदम असंवैधानिक हो तर अहिल्यै हामी सडकमा जाँदैनौं । अदालतलाई कुर्छाै‌ भनेर भने । उनी निकट पदाधिकारी र प्रवक्ताले उनलाई मिडियामा यही बोल्न सल्लाह दिए होलान् ।

लामो संघर्षपछिको उपलब्धिलाई बचाउन र सर्वोच्चमा विचाराधीन मुद्दामा आमनागरिकको भावनालाई बुझेर नेपाली कांग्रेसले यसो भन्छ भनेर अदालतलाई सुनाउन किन डराए देउवा ?

पार्टीको विधान नमान्ने सभापति देउवा र संविधान कुल्चिने प्रम ओलीबीचको सम्बन्ध प्रगाढ देखिन्छ । २५ वर्षे जवानीमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका देउवाले महाधिवेशन नगरिकन चार कार्यकाल (आठ वर्षसम्म) नेपाल विद्यार्थी संघको नेतृत्व कब्जा गरिरहे ।

४९ वर्षको युवा उमेरमा पहिलो पटक प्रधानमन्त्री बनेका देउवाले मुलुकको संसदीय प्रणालीलाई नै विकृत बनाउन अतुलनीय योगदान गरे । सुरा–सुन्दरी, प्राडो–पजेरो, सांसद खरीद–बिक्री, जम्बो मन्त्रिमण्डल गठन जस्ता प्रकरणको शुरूआत यही बेला भयो । ५६–५८ वर्षमा रहँदा त प्रतिगमनको मार्ग सहज बनाइदिए । पार्टी फुटाए । पद प्राप्ति निम्ति आफैंले धमिलो बनाएको प्रजातन्त्रको बहावलाई दरबारतिर हुलिदिन पनि पछि परेनन् । दशक लामो माओवादी सशस्त्र द्वन्द्वका वेला सबैभन्दा बढी समय उनै प्रधानमन्त्री रहे ।

पार्टी नेतृत्वमा युवा आउनुपर्छ भन्नेहरूले देउवाको विगतलाई हेरे पुग्छ । ६० वर्षको उमेर नपुग्दै भोगको राजनीतिमा लागेर थुप्रै काण्डै काण्ड रचाएका उनै देउवालाई कांग्रेसहरूले पाँच वर्षअघि पार्टी सभापतिको कुर्सीमा पुर्याइदिए । गिरिजाबाबु र सुशील दासँग पार्टी सभापतिमा पराजित देउवा रामचन्द्र पौडेललाई हराएर सभापतिको कुर्सीमा पुगेका हुन् ।

सभापति भएलगत्तै प्रधानमन्त्री बन्न मुख मिठ्याएका देउवाले ओलीबाट छुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाइदिए । भरतपुरको मेयर पद प्रचण्ड पुत्रीलाई बुझाउने शर्तपछि प्रचण्डले प्रधानमन्त्री पद देउवालाई छोडिदिए ।

चौथो पटक प्रधानमन्त्री बनेका देउवाले नियम मिचेर जयबहादुर चन्दलाई आईजी बनाउन नपाएको झोकमा प्रधानन्यायाधीश कार्की माथि महाभियोग दर्ता गराए । कांग्रेस कार्यकर्तालाई नै चित्त नबुझेको देउवाको महाभियोगलाई नेकपा अध्यक्ष केपी ओलीले तुहाइदिए । यही मुद्दालाई लिएर हिरो बनेका केपी ओलीले देउवालाई खलनायक मात्र बनाएनन् उल्टै कांग्रेसमा आउने तरल जनमत पनि आफूतिर ताने ।

कुर्सी मोहमा आशक्त देउवाको विरुद्धमा देशभर चर्किएको आक्रोशले २०७४ को आमचुनावमा कांग्रेसलाई थला पा¥यो । कांग्रेस नेतृत्वको अकर्मण्यताले गर्दा नेकपाका केपी ओली दुईतिहाइ नजिकको जनमतसहित प्रमको कुर्सीमा पुगे ।
बहुदल आउनुअघि नै देउवाले लाभका पदमा मुख मिठ्याउन थालेको थाहा पाएपछि किसुनजीले छात्रवृत्तिमा लण्डन पढ्न पठाए । २०४६ सालको जनआन्दोलनताका लण्डनका गल्लीहरूमा भौंतारिएका देउवा प्रजातन्त्र आएपछि नेपाल फिरे ।

२०४८ को आमचुनावपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा किसुनजीले देउवालाई आफ्नो कोटामा गृहमन्त्री बनाए । २०३४ सालमा बीपी कोइरालाले टुँडिखेलमा ‘शेरे सुदूरपश्चिम’ भनेपछि चर्चामा आएका देउवालाई किसुनजीले मेरो असल शिष्य भन्थे रे ! तिनै देउवाले २०५९ सालमा तेस्रोपल्ट प्रधानमन्त्री हुने लोभमा प्रजातन्त्र दरबारमा बुझाए । भोगको राजनीतिमा रमाएर देउवाले लोकतन्त्र माथि गरेको प्रहारबाट मन दुखाएका किसुनजीले त्यसपछि देउवासँग शायद कहिल्यै भेटेनन् क्यारे !

२०५१ सालदेखि अहिलेसम्म सरकारमा होस् वा पार्टीमा; देउवा बलियो हुँदा लोकतन्त्र र नेपाली कांग्रेस जहिले पनि कमजोर बनेको इतिहास छ । आफ्नै पार्टीको नेतृत्वमा पाँच वर्षअघि जारी भएको लोकतान्त्रिक संविधानलाई कुल्चने काम हुँदा समेत सडकमा आएर बोल्न नसक्ने सभापति देउवालाई के भन्ने ? कोसँग किन डराए ? केमा लोभिए ? कमैलाई थाहा होला ।

‘गोर्खाली राजाबाट न्याय पाएँ’ भनेर प्रधानमन्त्री बन्न मुख मिठ्याउँदै राजदरबार छिरेका देउवाको चरित्र बुझिनसक्नु छ । यो असंवैधानिक कदमको विरुद्धमा कांग्रेस देउवापक्ष र इतरपक्षमा सीमित रहेन । देउवा गुटका बलिया नेता संघीय संसदका प्रमुख सचेतक बालकृष्ण खाँण पनि प्रमको यो असंवैधानिक कदमको विरोधमा खुलेरै निस्किए ।

केपी ओलीको असंवैधानिक कदमको विरुद्धमा कांग्रेस नेता रामचन्द्र पौडेलको राजनैतिक अडान ठीक देखियो । लोकतन्त्र, विधिविधानलाई जस्तोसुकै परिस्थितिमा सर्वोेपरि ठान्ने सर्वमान्य नेता गणेशमान पुत्र प्रकाशमान सिंहको राजनीतिक अडानले धेरैलाई आत्मविश्वास र नैतिकबल प्रदान ग¥यो । जहिले पनि लोकतान्त्रिक व्यवस्थामा संकट आइपर्दा राजनीतिकर्मी, दलहरूले स्मरण गर्ने र निकास दिने ऐतिहासिक थलो हो, चाक्सीवारी । २००७ सालदेखि अहिलेसम्मका हरेकजसो राजनीतिक घटनाक्रम र संकटका बेला गणेशमान सिंह निवास चाक्सीवारीको विशेष भूमिका रहेको छ ।

यो असंवैधानिक कदमका विरुद्धमा कांग्रेस केन्द्रीय कमिटी मीटिङमा ठूलै चर्काचर्की भयो । असंवैधानिक कदम विरुद्धमा अडान लिन खोज्दा नेता रामचन्द्र पौडेलमाथि देउवा निकट नेताबाट हमला हुन खोजेको कुरा मिडियाबाट बाहिर आयो ।

केन्द्रीय बैठकमा पूर्व महामन्त्री प्रकाशमान सिंहको दमदार मन्तव्यले सभापति देउवाको जिद्दी र एकोहोरोपनलाई कमजोर बनाइदियो । बौद्धिक नेता पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले लिखित मन्तव्य बुझाएपछि सभापति देउवा प्रमको असंवैधानिक कदमको विरुद्धमा जानै पर्ने भो । मीटिङमा आफ्नो भनाइ राख्न नपाउने जुझारु नेताहरू मिडिया र सभामा रन्किन थालेपछि झन् गल्न थाले सभापति देउवा ।

द्वन्द्वकालदेखिका राजनीतिक मित्र प्रचण्ड र आफू विपक्षी दल भए पनि मागेको भाग दिने, आफूलाई अप्ठ्यारो नपार्ने उनका अर्का मित्र हुन् प्रम केपी ओली । कसलाई साथ दिने यही कुराको दोधारमा छन् देउवा । जोसँग मिले पनि उनको ‘मुख मिठास’ चाहिं फेरि प्रधानमन्त्री हुन खोज्ने नै हो । देशमा लोकतन्त्र संरक्षण र सबल पार्टी संगठनतर्फ उनलाई केही मतलब छैन ।

असहज परिस्थितिमा मुख मिठास गर्न खोज्ने, जिद्दी, एकोहोरो स्वभाव र विधिविधानलाई छल्न खोज्ने अधिनायकवाद शैलीका छन् सभापति देउवा । कांग्रेस नेतृत्व इतरपक्ष सबै जना एक भएर सधैं मुख मिठ्याउने देउवालाई रोक्न सकेनन् भने देशको लोकतान्त्रिक व्यवस्था र नेपाली कांग्रेस फेरि दुर्घटनामा पर्न सक्छ ।

(लेखक, गणेशमान सिंह स्मृति पुस्तकालय, रूपन्देहीको अध्यक्ष हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *