सामाजिक सुरक्षा कोषको सेवा पनि अब नागरिक एपबाटै – Nepal Press

सामाजिक सुरक्षा कोषको सेवा पनि अब नागरिक एपबाटै

अहिलेसम्म कोषमा आवद्ध भएका ४ सय ८१ जनाले सेवा लिन शुरू गरे

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्व योगदानकर्ताले पनि नागरिक एपमार्फत सेवा लिन थालेका छन् । सरकारले एपबाटै अधिकांश सेवा दिने व्यवस्था गरिरहेका बेला कोषले पनि एपमार्फत आफ्ना सेवा दिन थालेको हो ।

कोषमा जम्मा भएको योगदान रकमलगायतका सबै विवरणको जानकारी लिन सबै योगदानकर्तालाई एप डाउनलोड गर्न कोषले आग्रह गरेको छ ।

कोषका अनुसार अहिलेसम्म १३ हजार १ सय ६६ रोजगारदातामार्फत १ लाख ८७ हजार ८ सय ५ श्रमिक कोषमा आवद्व भइसकेका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको पछिल्लो तथ्यांक अनुसार भने कोषमा आवद्ध भएका ४ सय ८१ जनाले सेवा लिन थालेका छन् ।

कोषले प्रभाव गर्ने सेवालाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार नागरिक एप मार्फत सर्वसुलभ ढंगले मोबाइलबाटै सेवा दिन सकिने भएकाले एपको प्रयोगबाट समयको वचत हुने र सार्वजनिक विदाको दिनमा पनि सेवा लिन सकिने कोषका प्रवक्ता समेत रहेका उप-कार्यकारी निर्देशक विवेक पन्थीले नेपालप्रेसलाई जानकारी दिए ।

सरकारले प्रभाव गर्ने सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटर्फममार्फत सेवा प्रवाह गर्ने लक्ष्यबमोजिम मोबाइलबाट हात हातमै नागरिक एपमार्फत सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाएको पनि कोषले जनाएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार अहिलेसम्म ४ लाख १८ हजार ८ सय ७० प्रयोगकर्ताले नागरिक एप डाउनलोड गरिसकेका छन् । जसमध्ये १ लाख २३ हजार ९ सय ५५ प्रयोगकर्ताले एप चलाउन थालिसकेका छन् भने २ लाख ९४ हजार ९ सय १५ प्रयोगकर्ताको प्रमाणीकरण हुन बाँकी छ ।

प्रयोगकर्तामध्ये सबैभन्दा बढी ९१ हजार १ सय ७२ ले नागरिकता अद्यावधिक गरिसकेका छन् भने ६० हजार ३ सय ९० ले प्यान नम्बर, ४६ हजार ९ सय २३ ले राहदानी, ४३ हजार ९ सय ६२ ले मतदाता परिचय पत्र अद्यावधिक गरिसकेका केन्द्रका सूचना अधिकारीसमेत रहेका सहायक निर्देशक रमेश पोखरेलले बताए ।

उनका अनुसार एसएलसी उत्तिर्ण गरेका २८ हजार ५ सय ३५, प्लस टु उतिर्ण प्रयोगकर्ता १५ हजार ७ सय ४२, सञ्‍चय कोषका प्रयोगकर्ता ६ हजार ३ सय ४, लोक सेवा आयोगका प्रयोगकर्ता १ सय १४, र नागरिक लगानी कोषका ५९ जना प्रयोगकर्ता एपमा आवद्व भएका छन् । ४ हजार १ सय १८ जना प्रयोगकर्ताले हेलो सरसकार तथा अन्य गुनासो पनि गरेको केन्द्रले जनाएको छ ।

‘लाइन होइन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नारामा साथ सरकारले प्रविधिको अधिकतम प्रयोग गरेर आम नागरिकलाइ सहज रूपमा सरकारी सेवा उपलब्ध गराउन माघ ११ गते नागरिक एपको सार्वजनिक गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर