मन्त्रालय बंक गर्दै ‘चुनावी’ दौडाहामा मन्त्रीहरु – Nepal Press
अपरेशन सिंहदरबार

मन्त्रालय बंक गर्दै ‘चुनावी’ दौडाहामा मन्त्रीहरु

काठमाडौं । नेकपा विभाजनसँगै दिनहुँजसो राजनीतिक सभा/समारोह भइरहेको छ । मन्त्रिपरिषदमा अहिले नेकपाका ओली पक्षधर मन्त्री मात्रै छन् । उनीहरु पनि देशको विभिन्न भागमा भइरहेका आफ्नो पक्षको सभामा सम्बोधन गर्न ‘देश दौडाहा’ मा छन् ।  एक हिसाबमा उनीहरुलाई चुनाव लागेको छ । जसकारण मन्त्रालयको काम प्रभावित भएको छ ।

यसबारे बुझ्न सोमबार हामी सिंहदरबार गयौं । दिनभर हामी १२ मन्त्रालय घुम्यौं । १२ मध्ये ३ मन्त्रालयमा मात्रै मन्त्री देखिए । दिनभर सिंहदरबारमा जे देखियो–

सोमबार मध्यान्ह १२ बजे हामी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको कार्यकक्षमा पुग्यौं । कार्यकक्ष खाली थियो । मन्त्री कहाँ गए भन्ने मन्त्रीका सचिवालयमा कार्यरत कर्मचारीलाई पनि जानकारी छैन । मन्त्रीका स्वकीय सचिवले ‘भोलि आउने कुरा छ’ मात्रै भने ।

त्यसपछि हामी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुग्दा पनि मन्त्री टोपबहादुर रायमाझीको कार्यकक्ष खाली थियो । उनी धनुषाको ढल्केबरमा निर्माण भएको देशकै पहिलो स्वचालित ४०० केभी सब–स्टेसन उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गएको उनका प्रेस संयोजक अर्जुन भुसालले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको कार्यकक्ष पुग्दा साढे एक बजेको थियो । उनको कार्यकक्ष मात्रै होइन, सचिवालय समेत सुनसान थियो । सचिवालयमा राखिएको अतिथि हाजिरी हेर्दा सोमबार मन्त्रीलाई भेट्न कोही पनि आएका थिएनन् ।

त्यसपछि दुई बजेतिर हामी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुग्दा मन्त्री जुली महतो पनि भेटिइनन् । उनी पनि प्रधानमन्त्री ओलीसँगै ढल्केबरको सब–स्टेसन उद्घाटन कार्यक्रममा गएकी रहिछन् ।

साढे २ बज्दा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय पुगियो । मन्त्री पार्वत गुरुङ भने आफ्नै कार्यकक्षमा भेटिए । उनी कार्यकक्षमै बैठकमा व्यस्त थिए ।

दिउँसो ३ बजेतिर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुग्दा मन्त्री बसन्त नेम्वाङ पनि कार्यकक्षमा भेटिएनन् । मन्त्री नेम्बाङको कार्यकक्षमा बिग्रिएको टेलिफोन लाईन प्राविधिक र सचिवालयका कर्मचारीले मर्मत गर्दै थिए । मन्त्री नेम्बाङ अरु मन्त्रीजस्तै आज मन्त्रालयमा नआएका भने होइनन्, बिहान आएर बैठकमा गएको जानकारी मन्त्रीको सचिवालयले गरायो ।

मन्त्री नेम्वाङको सचिवालयमा भने विघटित प्रतिनिधिसभाका सदस्य लालबहादुर थापा र नरबहादुर धामी मन्त्रीलाई कुरिरहेका थिए । कलाकार संगल लिम्बु पनि मन्त्रीलाई भेट्नका लागि कुरिरहेका थिए ।

मन्त्री कतिबेला आउँछन् भन्ने सचिवालयका कर्मचारीलाई पनि थाहा रहेनछ ।

करीब साढे तीन बजे खानेपानी मन्त्रालयमा भने मन्त्री मणिचन्द्र थापा आफ्नै कार्यकक्षमा भेटिए । उनका सचिवालयका कर्मचारीलाई मन्त्री थापालाई भेट गराउन भ्याई नभ्याई थियो । मन्त्रालयका काम भन्दा पनि मन्त्री थापा नेता कार्यकर्ता भेट्नमा व्यस्त थिए ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रितेश कुमार शाक्य पनि मन्त्री भेट्ने लाइनमा थिए ।

पौने चार बजे पुग्दा शहरी विकास मन्त्रीको कार्यकक्ष पनि खाली थियो । पछिल्लो १० दिन आफ्नो निर्वाचन क्षेत्रका राजनीतिक कार्यक्रममा पुगेर फर्किएका मन्त्री प्रभु साह पनि प्रधानमन्त्री ओलीसँगै ढल्केबरको सब–स्टेसन उद्घाटन समारोहमा गएको उनका प्रेस संयोजकले जानकारी दिए ।

चार बजे संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पुग्दा मन्त्री भानुभक्त ढकाल पनि कार्यकक्षमा भेटिएनन् । उनी पनि आफ्नो निर्वाचन क्षेत्र विराटनगर गएको उनको सचिवालयका कर्मचारीले बताए ।

करीब साढे चार बजे कृषि तथा पशुपन्छी मन्त्रालयमा पनि मन्त्रीको कार्यकक्ष खाली नै भेटियो । मन्त्री पद्मा अर्यालको सचिवालयले दिएको जानकारी अनुसार उनी अर्थ मन्त्रालयमा आयोजित बैठकमा सहभागी हुन गएकी थिइन् ।

भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पुग्दा मन्त्री डा. शिवमाया तुम्वाहाम्फे भने मन्त्रालयका फाइल तथा कागजपत्र हेर्ने र हस्ताक्षर गर्ने काम गरिरहेकी थिइन् ।

यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्ने अवसर पाएकी मन्त्री तुम्वाहाम्फेलाई काम कस्तो हँदैछ ? भन्ने प्रश्न गर्दा उनले हाँस्दै भनिन्– यस मन्त्रालयमा बस्नु भन्दा त कानून मन्त्रालयमा बस्दा बढी फाइदा हुँदोरहेछ । जुनसुकै कुरा पनि त्यहाँ जानकारी हुन्थ्यो । सबै मन्त्रालयले गर्ने काम तथा बनाउने ऐन नियम त्यो मन्त्रालयमा ठोक्किन्थ्यो । यहाँ त आफ्नो मन्त्रालयबाहेक केही थाहा नहुने रहेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुग्दा साँझको ५ बजिसकेको थियो । मन्त्रालय सुनसान थियो । मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव बसन्त अधिकारी भने काममा नै व्यस्त थिए । मन्त्री गणेश ठगुन्ना मन्त्रालयमा आउनुभयो कि भएन भन्ने प्रश्नमा भने– दिनभर मन्त्री मन्त्रालयमा हुनुहुन्थ्यो ।

सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत गरेर २२ वटा मन्त्रालय छन् । तर मन्त्रालयमा मन्त्रीले खासै समय दिंदैनन् । जसकारण काम प्रभावित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर