मन्त्री नपाए ओली पक्षमा लाग्ने सांसदको चेतावनी, भागबण्डा मिलाउन मन्त्रालय फुटाउने मुख्यमन्त्रीको तयारी – Nepal Press
सुदूरपश्चिम प्रदेश

मन्त्री नपाए ओली पक्षमा लाग्ने सांसदको चेतावनी, भागबण्डा मिलाउन मन्त्रालय फुटाउने मुख्यमन्त्रीको तयारी

कैलाली । १४ पुसमा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री पठन सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरे ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पुस २२ गते काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिए ।

नेकपाको ओली पक्षधर दुई मन्त्री बाहिरिएपछि दुवै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले नै सम्हालिरहेका छन् ।

आन्तरिक किचलोका कारण मुख्यमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्न सकेका छैनन् । तर मन्त्री बन्ने आशमा आधा दर्जन बढी सांसदले लबिङ गरिरहेका छन् ।

मन्त्री बन्न हानथाप !

प्रदेश सरकारमा नेकपाको प्रचण्ड–माधव नेपाल समूहका सांसदले मन्त्री बन्न कसरत गरिरहेका छन् । खाली दुई मन्त्रालयका लागि आधा दर्जन बढी सांसद लबिङमा लागेको प्रदेशसभा सदस्यहरुले बताउँदै आएका छन् । ‘आकांक्षी धेरै भएर मुख्यमन्त्रीलाई समस्या भएको छ’, एक सांसदले भने, ‘मन्त्री नबनाए ओली पक्षमा जान्छु भनेर केही साथीले घुर्क्याइरहनु भएको छ ।’

दार्चुलाबाट निर्वाचित मानबहादुर धामी, प्रचण्ड–माधव पक्षीय नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल रावल, पूर्णा जोशी, वीरमान चौधरीलगायत मन्त्री बन्ने लाइनमा छन् । तर, उनीहरूलाई व्यवस्थापन गर्न मुख्यमन्त्रीलाई कठिन भइरहेको छ ।

वीरमान चौधरीलाई मन्त्री नबनाउँदा सरकारको समीकरण मै प्रभाव पर्ने आँकलन गरिएको छ ।

कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गौरीशङ्कर चौधरी ओली समूहमा लागेपछि सोही क्षेत्रको प्रदेशसभामा निर्वाचित चौधरी पनि ओली समूहतर्फ जाने सम्भावना भएपछि मुख्यमन्त्री भट्ट तनावमा परेको एक सांसदले बताए ।

त्यस्तै, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको समर्थन पनि सरकार नहुने संकेत आएपछि तनाव बढेको बताइएको छ ।

अहिले प्रदेश सरकारमा कञ्चनपुरबाट निर्वाचित कोही पनि सांसद मन्त्री छैनन् । यस्तो अवस्थामा तारा लामा तामाङलाई मन्त्री बनाउनुपर्ने दबाब पनि मुख्यमन्त्रीलाई छ ।

तामाङ प्रचण्ड–माधव पक्षीय नेकपा कञ्चनपुरका पार्टी सचिव हुन् ।

त्यस्तै सांसद अक्कल रावलले पनि मन्त्रीको दाबी गरेका छन् ।

दुई मन्त्रीका लागि धेरै आकांक्षी भएपछि मुख्यमन्त्री भट्टलाई आफ्नो पक्षका सांसद जोगाउने सकस भएको छ ।

५३ जनाको प्रदेशसभामा नेकपाका ३९, कांग्रेसका १२ र राजपाका दुई सांसद छन् । नेकपाका ३९ मध्ये ८ सांसद ओली पक्षमा खुलेका छन् । मन्त्री नपाए केही सांसदले साथ छाड्ने कुरा प्रचण्ड–माधव पक्षले पनि बुझेको छ ।

स्रोतका अनुसार भागबण्डा मिलाउन मुख्यमन्त्रीले सामाजिक विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई टुक्राउनेबारे पनि छलफल गरिरहेका छन् ।

मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले केही दिनमै रिक्त मन्त्रालयमा मन्त्री थपिने बताए । उनले भने– अहिले छलफल भइरहेको छ । केही दिन भित्रै नयाँ मन्त्री नियुक्त हुनेछन् ।

मन्त्रालय मन्त्रीविहीन हुँदा प्रदेशको काम तथा विकास निर्माण प्रभावित भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर