निर्वाचन आयोग पुगेर प्रचण्डले भने- केपी ओली प्रथम अध्यक्ष होइनन् – Nepal Press

निर्वाचन आयोग पुगेर प्रचण्डले भने- केपी ओली प्रथम अध्यक्ष होइनन्

काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओली पार्टीको प्रथम अध्यक्ष नरहेको दाबी निर्वाचन आयोगसमक्ष गरेको छ । प्रचण्डसहितका नेताहरू मंगलबार निर्वाचन आयोग पुगेर ओली विगतमा पनि प्रथम अध्यक्ष नरहेको र अहिले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन भइसकेको बताएका हुन् ।

आयोगमा दलको आधिकारिकता दाबी गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता राजेन्द्र पाण्डेले आयोगले माघ १२ गतेको पत्रमा ओलीलाई पहिलो अध्यक्ष मानेको हुनाले त्यो भ्रम मेटाउने प्रयत्न आफूहरुले गरेको बताए ।

पाण्डेले भने, ‘निर्वाचन आयोगले केपी ओलीलाई प्रथम अध्यक्ष मानेको छ । उहाँहरुले केही प्रश्न उठाउनुभएको छ । त्यसलाई हामीले भ्रम निवारण गर्ने र केपी ओली प्रथम अध्यक्ष होइन भनेका छौं । विधानमा जसले अध्यक्षता गरेको छ उही प्रथम हुने व्यवस्था गरेको कुरा बताएका छौं ।’

आफूहरुसँग नेकपाको मौजुदा केन्द्रीय कमिटीको दुई तिहाई संख्या रहेकोले आधिकारिकता पाउनुपर्ने जिकिर प्रचण्ड-माधव पक्षको छ । मंगलबार आयोगमा २७५ जनाको हस्ताक्षरसहितको पत्र बुझाइएको छ ।

आयोगले माघ १२ गते नेकपाका दुवै अध्यक्षलाई पत्र लेखी पुस ५ गतेयता दुवै पक्षले गरेको निर्णय अवैध भन्दै केपी ओली पहिलो अध्यक्ष रहेको र अध्यक्षको परामर्शमा महासचिवले बोलाएको बैठकमात्रै वैधानिक हुने जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर